रामेछाप नगरपालिकाको ६ महिनामा जम्मा १८.७८ प्रतिशत बजेट खर्च, यस्तो छ प्रगति विवरण (पूर्ण पाठ)

| पुस २७, २०७९ बुधबार

A A A
A A A

२७ पुस, रामेछाप । रामेछाप नगरपालिकाले १२ औँ नगर सभा सम्पन्न गरेको छ।  बुधवार नगरपालिकाको वडा नं ७ सुकाजोर वडा कार्यालय भवनको सभा हलमा नगरको हिउँदे अधिवेशन सम्पन्न गरेको हो । 

 

नगरपालिकाका प्रमुख लबश्री न्यौपाने, उप–प्रमुख बालकुमारी कार्की (थापा), प्रमुख प्रशासकीय अधिकृत नीरज पौडेल सहित वडा अध्यक्षहरू, कर्मचारी सहितको उपस्थितिमा सम्पन्न सभाले उपप्रमुखले पेस गरेको आर्थिक वर्ष २०७९÷०८० को समग्र प्रगति प्रतिवेदन पारित पारित गरेको छ  । 

 

उक्त प्रतिवेदनमा भने, नगरपालिकाले चालु खर्च तर्फ हाल सम्म  जम्मा २०.०६ प्रतिशत मात्रै खर्च गरेको सार्वजनिक गरिएको छ । अधिवेशन सकिएपछि आयोजित पत्रकार सम्मेलनमा नगरका प्रवक्ता एवं वडा नं ७ का अध्यक्ष समीर कार्कीले सभाले पारित गरेको प्रतिवेदन सुनाएका हुन् । 

समिर कार्की 

जसमा हालसम्म नगरले पुँजीगत खर्च तर्फ ७.७७ प्रतिशत गरी समग्रमा जम्मा १८.७८ प्रतिशत मात्रै कूल खर्च गरेको उल्लेख छ ।  चालु आर्थिक वर्षका लागि नगरपालिकाको आन्तरिक स्रोतबाट रु १ करोड ८ लाख ८० हजार प्रक्षेपण गरिएकोमा हाल सम्ममा रु २२ लाख ८ हजार ४ सय ५३ मात्रै राजश्व सङ्कलन भएको जनाएको छ । 

 

समग्रमा चालु आर्थिक वर्षका लागि सो नगरले चालु तर्फ रु ४६ करोड ९८ लाख २३ हजार ४ सय ४३ रुपैयाँ र पुँजीगत तर्फ ३१ करोड ७ लाख ६० हजार ५ सय ५६ रुपैयाँ गरी कुल रु ७८ करोड ५ लाख ८४ हजार बजेट स्वीकृत भएकोमा चालु तर्फ हाल सम्म रु १२ करोड २४ लाख ४९ हजार ३ सय २० र पुँजीगत तर्फ २ करोड ४१ लाख ५५ हजार ३२ रुपैयाँ गरी जम्मा १४ करोड ६६ लाख ४ हजार ३ सय ५२ रुपैयाँ खर्च भएको अवस्था छ । 

 

यसरी हेर्दा चालु तर्फ २०‍.६ प्रतिशत र पुँजीगत तर्फ ७.७७ प्रतिशत प्रगति भई समग्रमा चालु तथा पुँजीगत गरी हाल सम्म कुल १८.७८ प्रतिशत प्रगति हासिल भएको जनाएको हो । 

चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा नगरभरिका ज्येष्ठ नागरिक दुई हजार ३ सय ९२ जना, ज्येष्ठ नागरिक दलित १४३ जना, ज्येष्ठ नागरिक एकल महिला २६० जना, एकल महिला ३५८ जना, लोपोन्मुख जाति एक हजार ३६ जना, ‘क’ वर्गको अपाङ्गता भएका व्यक्ति २३४ जना, ‘ख’ वर्गका अपाङ्गता भएका व्यक्ति १२८ जना र दलित बालबालिका २६८ जना गरी कुल चार हजार ८१९ जना लाभग्राहीहरूलाई ४ करोड ९६ लाख ४ हजार ७ सय ४ रुपैयाँ बैङ्क मार्फत भुक्तानी गरिएको जनाएको छ ।

 

यो भत्ता वितरणको काम बैक मार्फत घर घरमा पुर्‍याउने कामको थालनी भएको नगरपालिकाका मेयर न्यौपानेले बताए । ‘हामीले घर घरमै भत्ता वितरणको काम थालेका छौँ उनले भने।’

 

न्यून बजेट खर्च भएको स्वीकार गर्दै मेयर न्यौपानेले चुनाव, सरकारी नीतिको कारणले खर्च नभएको तर्क गरे । उनले बजेट खर्च हुन नसक्नुमा आफूहरू मात्रै दोषी नभएको दाबी गर्दै सरकारी नीति र काम गर्ने बेलामा निर्वाचनको आचारसंहिता लागू हुँदा बजेट खर्च हुन नसकेको बताए । 

भिडिओमा हेर्नुहोस् 

त्यस्तै नगरले विनियोजन ऐन २०७९ लाई संशोधन गर्ने सम्बन्धमा बनेको विधेयक २०७९ को मस्यौदा पारित गरेको छ । यो संशोधनमा नगर तथा वडामा विनियोजित गरिएको शिर्षकहरुलाई समेत संशोधन गरिएको जनाएको छ । 

 

गत आर्थिक वर्षहरूको अन्तिम लेखापरिक्षण प्रतिवेदनले औँल्याएको नियमित गर्नु पर्ने विषयहरूमा फर्छ्यौट गर्नु पर्ने ब्यहोरा सहितको विवरण महालेखा परीक्षकको कार्यालयमा पेस गर्ने गरी, न्यायिक समितिको कार्यविधि सम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक २०७९ को मस्यौदा अनुमोदन, न्यायिक समितिको कार्यमा सहज गर्न प्रत्येक वडागत सूचिकृत मेलमिलापकर्ताको नामावली प्रस्तुत गरी अनुमोदन सहित पारित गरेको प्रवक्ता कार्कीले बताए । 

 

तत्कालीन समयका सोच अनुरूपको काम गर्न नसकेको स्वीकार गर्दै अबका दिनमा भने कामले गति लिने जनप्रतिनिधिको विश्वास छ । नगरका प्रवक्ता एवं वडा नं ७ का अध्यक्ष कार्कीले भने सोचेको जस्तो बजेट खर्च गर्न नसकेकै हौं । अबको दिनमा बढ्ने छ । उपप्रमुख कार्कीले पनि जति गर्नु पर्ने हो, त्यो भएको छैन् । अब, कामले गति लिन्छ । खर्च बढ्छ ।

हेर्नुहोस् भिडिओमा ।

भिडिओ मिलन घिमिरे रामेछाप टाइम्स

यस्तो छ, नगरले गरेको चालु वर्षको प्रगती विवरण हेर्नुहोस् । 

सभाध्यक्ष महोदय,
अव म चालु आर्थिक वर्ष २०७९/८० को हालसम्म गरेका समग्र विकास आयोजना तथा कार्यक्रमहरुको संक्षिप्त प्रगति विवरण यस सम्मानित सभा समक्ष प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
१. २०७९ साल श्रावण महिना देखि हाल सम्म नगर कार्यपालिकाको ८ वटा बैठकहरु सम्पन्न भएका छन्। ती वैठकहरुबाट यस नगरपालिकाको विकास निर्माण र सेवा प्रवाहलाई प्रभावकारी वनाउने दिशामा केन्द्रीत रही विभिन्न विषयका ५८ वटा निर्णयहरु पारित भएका छन् ।
२. रामेछाप नगरपालिकाबाट गत आर्थिक वर्ष ०७८/७९ मा स्वीकृत भएका समग्र विकास आयोजना तथा कार्यक्रमहरुको वार्षिक प्रगति समीक्षा मिति २०७९/०५/३० गतेका दिन सम्पन्न गरिएको छ
३. चालु आ.व. २०७९/८० मा रामेछाप नगरपालिकाबाट संचालित विभिन्न योजनाहरु र उपभोक्ता समिति मार्फत सञ्चालन हुने नगर तथा वडा स्तरीय योजनाहरु को संख्या ७२ रहेकोमा हालसम्म विभिन्न वडामा उपभोक्ता समितिहरुसँग छलफल तथा अनुशिक्षण कार्यक्रम सञ्चालन गरी ३२ वटा योजनाहरुको उपभोक्ता समितिहरुसँग सम्झौता भई कार्य सञ्चालन भई रहेको छ उपभोक्ता समिति मार्फत सञ्चालन भएका योजनाहरुमध्ये ३ वटा योजनाहरुको भुक्तानी भई सकेको छ ।
४. चालु आर्थिक वर्षका लागि स्वीकृत भएका पूर्वाधारजन्य योजनाहरु मध्ये ठेक्का प्रक्रियाद्धारा निर्माण हुने वडा नं.७ को औधोगिक ग्राम निर्माण, वडा नं. ८ को सोलमारी डुम्रीखर्क सल्ले सडक, वडा नं.४ को साउने बोलङबोलङ बरवोट सडक,वडा नं.८ को गणेशचोक सारदा संस्कृत मा वि कोलडाँडा सडक र फुर्सेमाटा चनौटे आरुवोट देविथान टुनीबोट सडकको ठेक्का सम्झौता भई निर्माण कार्य प्रारम्भ भएको, वडा नं.६ र ५को च्यास्कु कोलञ्जोरघाट सडक, वडा नं. ८ को भेटेरीनरी वादी विर्ता सडक, वडा नं.७,६ र २ को भालुखोप गणेशटार देउराली सडक, वडा नं. ५ को रामपुर धराप्दी सडक, वडा नं.८ को भ्यागुरे कालीआप धारापानी सडक, वडा नं ६ को गाईटार ओख्रेनी सडक र वडा नं.७ को कालीकुवा डिप वोरिङ योजना निर्माणकार्यको लागि सम्झौता सम्पन्न भएको छ । यसैगरी ३ नं. वडा कार्यालय भवन निर्माण कार्य सम्झौताको प्रक्रियामा रहेको छ ।

उपप्रमुख बालकुमारी कार्की 

५. रामेछाप नगरपालिकालाई २०८१ साल चैत्र महिना सम्म बालमैत्री स्थानीय शासन युक्त नगर घोषणा गर्ने नगरपालिकाको प्रतिवद्धता अनुरुप वालमैत्रीका निर्धारित सूचकहरुको प्रभावकारी कार्यान्वयन गर्नका लागि वडा स्तरीय सहजकर्ता र नगर सहजकर्ता सेवा परामर्शमा लिई सो सम्वन्धी कार्यहरु निर्धारित सूचक वमोजिम अघि वढिरहेको अवस्था छ । यसका अतिरिक्त महिला तथा वालवालिकाको क्षमता अभिवृद्धिका तथा हाजिरी जवाफ, सडक नाटक, निवन्ध, नृत्य प्रतियोगिता, एस इ. इ. परीक्षा मा उत्कृष्ट विद्यार्थीलाई सम्मान लगायतका विभिन्न चेतनामुलक कार्यक्रमहरु सञ्चालन गरिएका छन्।
६. भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित वसोवासीको व्यवस्थापन गर्ने सन्दर्भमा राष्ट्रिय भूमि आयोगबाट प्रकाशित सूचना वमोजिम नगरका सवै वडाहरुबाट भूमिहिन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित वसोवासीको विवरण संकलन गर्ने कार्य भै रहेको अवस्था छ ।
७. कृषि विकास तर्फ चालु आ.व. का लागि संघीय शशर्तबाट रु. ३२ लाख र नगरपालिकाको रु. ८२ लाख बजेट विनियोजन भएकोमा उक्त वजेटबाट ५०% अनुदानमा कृषि यान्त्रीकरण (हाते ट्र्याक्टर, फलामे हलो, ट्र्याक्टरको हलो, धान झार्ने थ्रेसर) वितरणको लागि माग संकलन सम्पन्न भई बोलपत्र आव्हानको क्रममा रहेको, कृषि एम्बुलेन्स खरिदको लागि बोलपत्र प्रकृया अगाडि बढाइएको, धान र मकैको उन्नत बीउ बितरण गर्नको लागि सवै वडावाट माग संकलन भईसकेको र विद्युतिय बीउ बिजन प्रणाली (डेसिस) मा प्रविष्ट भईसकेको अवस्था रहेको छ ।
८. चालु आर्थिक वर्षका लागि रामेछाप नगरपालिकाको आन्तरिक स्रोत रु १ करोड ८ लाख ८० हजार प्रक्षेपण गरिएकोमा हाल सम्ममा रु.२२ लाख ८ हजार ४ सय ५३ राजश्व संकलन भएको
अवस्था छ ।
९. चालु वर्षमा यस नगरभित्रका विभिन्न प्रकृतिका ८१ वटा ब्यवसाय ईजाजत दर्ता, ७७ वटा प्राईभेट फर्म दर्ता र ३७६ वटा ब्यवसाय ईजाजत पत्र नवीकरण भएका छन् । गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत आ.ब.०७९ ०८० मा कार्यक्रम लागू भएको रामेछाप नगरपालिका वडा नं.१ र ९ मा बजार श्रोत सम्भाब्यता अध्ययन, घरधुरी सर्भेक्षण, स्थानीय तहको अभिमुखिकरण, ग्रामिण लेखाजोखा, समुह निर्माण तथा क्षमता अभिवृद्धिका साथै दुई वटै वडाका ८० जना सम्भाव्य उद्यमीहरुलाई उद्यमशीलता विकास तालिम दिने कार्य सम्पन्न गरिएको छ ।
१०. नगर भित्रका २६ वटा सहकारी संस्थाका ब्यवस्थापक तथा पदाधिकारीहरुलाई COPOMIS को पासवर्ड उपलब्ध गराई COPOMIS अनुशिक्षण सम्पन्न भएको छ ।
११. ५ देखि १२ बर्ष सम्मका ९१ प्रतिशत बालबालिकाहरुलाई कोरोना भाईरस (कोभिड-१९) को पहिलो र दोस्रो चरणको फाईजर खोप लगाईएको छ ।
१२. स्वास्थ संस्था प्रमुखहरुलाई समावेश गरी अघिल्लो आर्थिक वर्षको स्वास्थ्य कार्यक्रमहरुको प्रगति तथा पोषण कार्यक्रमको समीक्षा गरिएको छ ।
१३. राष्ट्रिय भिटामिन ए कार्यक्रमको पहिलो चरण अन्तर्गत कार्तिक २ र ३ गते ६ महिना देखि ५ वर्ष सम्मका बालबालिकाहरुलाई भिटामिन ए, अल्बेन्डाजोल तथा बालभिटा खुवाउने कार्य सम्पन्न भएको छ।
१४. महिला सँग उपमेयर कार्यक्रम अन्तर्गत सबै वडाहरुमा बर्थिङ सेन्टरमा प्रसुति सेवा लिएका ७५ जना सुत्केरी महिलाहरुलाई सुत्केरी कोसेली पोषिलो झोला वितरण गरिएको छ ।
१५. पौष ३ गते साँघुटारमा स्वास्थ्य चौकी विशेषज्ञ चिकित्सकहरु परिचालन गरि घुम्ती शिविर मार्फत २२० जना सेवाग्राहीहरुलाई विभिन्न प्रकृतिको स्वास्थ्य सेवा उपलब्ध गराईएको छ ।
१६. नगरपालिका तथा सवै वडाहरुमा लैंगिक हिंसा न्यूनीकरणका लागि सरोकारवालाहरु बिच अर्न्तक्रिया कार्यक्रम सम्पन्न भएको छ 1
१७. नगरपालिका भित्रका २१ जना शिक्षकहरुलाई प्राथमिक आँखा उपचार तालिम सम्पन्न गरिएको छ ।
१८. जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत नगर भरिका ८५ वर्ष उमेर माथीका जेष्ठ नागरिकहरुलाई न्यानो सिरक र पानी तताउने केट्ली उपलब्ध गराई जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने कार्यक्रम भई रहेको छ ।
१९. यस नगरपालिका अन्तर्गत सञ्चालित माध्यमिक र आधारभूत तहका विभिन्न परीक्षाहरुको नतिजा विश्लेषण गर्न र आगामी शैक्षिक गुणस्तर सुधार गर्नका लागि विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यबस्थापन समितिका अध्यक्षहरु संग शैक्षिक समीक्षा तथा अर्न्तक्रिया कार्यक्रम सम्पन्न गरिएको छ।
२०. विभिन्न विद्यालयहरुमा भएको शिक्षक र विद्यार्थीहरुको अनुपातलाई पुनः हेरफेर गरी विद्यालयमा शिक्षक विद्यार्थी अनुपात तथा शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापनका लागि विद्यालयको स्थलगत अनुगमन तथा निरीक्षण गरी तथ्याङ्क संकलन सहित प्रतिवेदन तयार गरिएको छ ।
२१. प्रधानमन्त्री रोजगार कार्यक्रम तर्फ यस नगरका सूचिकृत बेरोजगार व्यक्तिहरुलाई न्यूनतम १०० दिनको रोजगारी प्रत्याभूति गर्ने लक्ष्यका साथ आर्थिक वर्ष २०७९,०८० मा वडा स्तरीयरुपमा आयोजना छनौटको कार्य भईसकेको र सोही छनौटको आधारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट सशर्त अनुदान प्राप्त हुने साथै पूर्व संकलित बेरोजगार फारामलाई अद्यावधिक गर्न प्रत्येक वडालाई परिपत्र गरिएको छ । यसै गरी ४ वटा पूर्वाधारजन्य योजनाहरुको निर्माण कार्यको सम्झौता भई कार्यान्वयन प्रक्रिया अगाडी वढाईएको छ ।
२२. नगरका सबै वडा कार्यालय, विद्यालय र स्वास्थ्य संस्थाहरुमा इन्टरनेट जडान गर्न फाईवर विस्तारको कार्य भई रहेको अवस्था छ ।
२३. सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा नगरभरिका जेष्ठ नागरिक २३९२ जना, जेष्ठ नागरिक दलित १४३ जना, जेष्ठ नागरिक एकल महिला २६०जना, एकल महिला ३५८ जना, लोपोन्मुख जाति १०३६ जना, क वर्गको अपाङ्गता भएका व्यक्ति २३४ जना, ख वर्गका अपाङ्गता भएका व्यक्ति १२८ जना र दलित बालवालिका २६८ जना गरी कुल ४८१९ जना लाभग्राहीहरुलाई रु ४ करोड ९६ लाख ४ हजार ७ सय ४ रुपैया बैंक मार्फत भुक्तानी गरिएको छ।
२४. चालु आ.व.को यस अवधिमा नगर कार्यपालिकाबाट विभिन्न विषयका १४ वटा कार्यविधिहरु पारित भएका छन्। न्यायीक समितिमा गत वर्ष दर्ता भएका ८ थान र यस आर्थिक वर्षमा दर्ता हुन आएका ९ थान गरी विभिन्न प्रकृतिका १७ थान मुद्धाहरु रहेकोमा हाल सम्म १४ थान मुद्धाहरुको फर्छौट भईसकेको र ३ थान मुद्धाहरु फर्छौट हुन वाकी रहेका छन् ।
२५. रामेछाप नगरपालिकाको आयोजनामा जिल्ला अदालतको सहजीकरणमा रामेछाप जिल्लाका सवै स्थानीय तहका न्यायीक समितिको न्याय सम्पादनमा एकरुपता कायम गर्न न्याय सम्पादनमा प्रयोग हुने फारामहरु तथा प्रक्रियाको लागि साझा प्रतिवद्धता पत्र जारी गरिएको छ ।
२६. नगरपालिकाभित्रका सम्पूर्ण वडाहरुमा वडा मेलमिलाप केन्द्र स्थापना गरी मेलमिलापकर्ताहरु अद्यावधिक गरि सूचिकरण भएका मेलमिलापकर्ताहरुलाई वडा स्तरमा तथा नगर स्तरमा समेत अनुशिक्षण गरिएको छ ।
२७. नगरस्तरका मेलमिलापकर्ताहरुको सक्रियता वढाउन एवं अपुग मेलमिलापकर्ता भएको वडामा कम्तीमा ३ जना मेलमिलापकर्ता पुर्याउने हिसावले योग्यता पुगेका व्यक्तिहरुलाई ४८ घण्टे आठ दिवशीय आधारभूत मेलमिलाप सम्वन्धि तालिम प्रदान गरिएको छ ।
२८. यस नगरका अपाङ्गता भएका व्यक्तिहरुलाई कार्यविधि वमोजिम परिचयपत्र उपलब्ध गराउने क्रममा प्रत्येक महिना स्थानीय अपाङ्गता समन्वय समितिको वैठक नियमित रुपमा वस्ने गरेको र नगरपालिकामा स्वयं उपस्थित हुन नसक्ने अपाङ्गता भएका व्यक्तिहरुका लागि निजहरुको अवस्था अध्ययन गर्न चिकित्सक सहित सम्वन्धित वडा तथा घरदैलोमै पुगी अपाङ्गता परिचयपत्रका लागि आवश्यक प्रकृया अघि वढाइएको छ ।
सभा अध्यक्ष महोदय,
समग्रमा चालु आर्थिक वर्षका लागि यस रामेछाप नगरपालिकाको चालु तर्फ रु ४६ करोड ९८ लाख २३ हजार ४ सय ४३ रुपैया र पूजीगत तर्फ ३१ करोड ७ लाख ६० हजार ५ सय ५६ रुपैया गरी कुल रु ७८ करोड ५ लाख ८४ हजार वजेट स्वीकृत भएकोमा चालु तर्फ हाल सम्म रु.१२ करोड २४ लाख ४९ हजार ३ सय २० र पुजीगत तर्फ २ करोड ४१ लाख ५५ हजार ३२ रुपैया गरी जम्मा १४ करोड ६६ लाख ४ हजार ३ सय ५२ रुपैया खर्च भएको अवस्था छ । यसरी हेर्दा चालु तर्फ २०.०६ प्रतिशत र पूजीगत तर्फ ७.७७ प्रतिशत प्रगति भई समग्रमा चालु तथा पूजीगत गरी हाल सम्म कुल १८.७८ प्रतिशत प्रगति हासिल भएको देखिन्छ ।
धन्यवाद ।