मन्थली अस्पतालले पोस्ट मार्टम गर्न नमानेपछि मृत भेटिएका नेपालीको शवलाई काठमाडौँ लगियो, हत्या आरोपित तामाङ प्रहरी नियन्त्रणमा

| पुस ३०, २०७९ शनिबार

तस्विर सामाजिक संजाल ।
A A A
A A A

३० पुस, रामेछाप । लिखु तामाकोसी गाउँपालिकाको केन्द्र धोबीमा मृत अवस्थामा भेटिएका गणेश नेपालीको शव पोस्ट मार्टमको लागि काठमाडौँ पठाइएको छ । नेपाली गत बिहीबार पालिका स्थित इलाका प्रहरी चौकी धोबी नजिकै नेपाली मृत अवस्थामा भेटिएका थिए । 

 

पालिको वडा नं ५ धोबी डाँडामा बस्ने अन्दाजी ४५÷४६ वर्षीय  नेपालीको हत्या गरेको भन्दै आफन्तजनले दोषीलाई कारबाहीको माग गर्दै जाहेरी दिन खोजेका थिए तर, प्रहरीले जाहेरी तत्काल लिन नमानेको भन्दै आफन्तजन आक्रोशित भएपछि घटना पेचिलो भएको थियो । 

 

तर, जिल्ला प्रहरीले भने बाहिर आएको हल्लामा कुनै सत्य नरहेको जिकिर गरेको छ । 

 

जिल्ला प्रहरी प्रमुख (डिएसपी) होमबहादुर पराजुलीले रामेछाप टाइम्सलाई त्यस्तै हैन, यो सबै नभएको कुरा हो । हामीले दर्ता गर्दैनौँ भनेकै छैनौँ । उहाँहरू ५ बजे तिर जाहेरी लिएर आउनु भयो । जाहेरीमा लेखिएका विषय, वस्तु, शब्दहरू नमिलेको कारण मिलाएर लिएर आउनु भनेका थियौँ । पछि ७ बजेतिर आउनु भयो । त्यसपछि भोलि बिहान शुक्रवार १० बजे आउनु भनेका हौँ । भोलि छिट्टै आउनुहोस् भनेका थियौँ ।’ तर, शुक्रवार पनि प्रहरीले फोन सम्पर्क गरेपछि बल्ल १२ बजेतिर मात्रै आउनु भयो उनले थपे ।

 

नभएको हल्ला फैलाएर प्रहरीको निष्ठमाथि अविश्वास गर्ने काम भयो । प्रहरीले नीति र विधिले गर्न मिल्ने काम गर्छ जिकिर गर्दै भने । सूचना अधिकारी राजु प्रसाद ढकालले पनि समयका कारणले गर्दा मात्रै नलिएको स्पष्ट पार्दै जाहेरी नलिएको कुरा गलत भएको बताए । 

 

शुक्रवार १२ बजे तिर जाहेरी दर्ता भएपछि शव पोस्ट मार्टमको प्रक्रिया अगाडि बढेको थियो । तर, घटना पेचिलो भएको हुँदा मन्थली अस्पतालले पोस्ट मार्टम गर्न नसक्ने भनेपछि काठमाडौँ पठाइएको जनाइएको हो । 

 

डिएसपी पराजुलीले भने ‘अस्पतालका डाक्टरहरूले यहाँको ‘इक्युप्मेन्ट’ले धान्दैन भन्नु भयो । अलि बढी रिस्कि पनि भएको हुँदा पठाइएको हो ।’ 

 

आज शनिवार र भोलि पनि बिदा परेको हुँदा रिपोर्ट सोमबार तिर मात्रै आउने दाबी गरेको छ । नेपालीको हत्या गरेको आशङ्कामा लिखु तामाकोसी गाउँपालिकाकै प्रदीप तामाङलाई जिल्ला अदालतबाट अनुमति लिएर प्रहरीले नियन्त्रणमा लिई सकेको छ । 

 

उनलाई शुक्रवारै पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा ल्याइएको सूचना अधिकारी ढकालले जानकारी दिए । ‘जिप्रका ल्याइएको छ । आज र भोलि बिदा भएकाले सोमबार अदालतबाट म्याद थप गरेर अनुसन्धान गर्छौँ सूचना अधिकारी ढकालले भने ।