रामेछाप र मन्थली नगरपालिका प्रमुखलाई उपसभापति कार्कीको प्रश्न: मेयरसाव ! तपाईँको नगर अगाडिको सडक कहिले बन्छ ? बालेन र हर्क बनेर आउनुहोस्
३० पुस, रामेछाप । नेपाली काँग्रेस रामेछापका उपसभापति लेखबहादुर कार्कीले जिल्लाका दुई नगरपालिकाले जनताको मन जित्ने गरी काम गर्न आग्रह गरेका छन् । उनले देखाउने नमुना मात्रै नभएर गरेको काम नमुना बन्नु पर्ने उनको भनाई छ ।
शुक्रवार आयोजित एक कार्यक्रममा बोल्दै उपसभापति कार्कीले मन्थली नगरपालिकाले मुख्य बजार क्षेत्रमा भइरहेको कामलाई लिएर असन्तुष्टि जनाए । उनले भने ‘त्यो पानीको पाइप राख्ने काम कसले गरेको हो ? त्यसले मान्छे हिँड्नै गाह्रो भएको छ। तपाई बालेन बनेर निस्कनु हुन्छ कि, हर्क साम्पाङ अब गर्नु पर्छ । नागरिकले विश्वास गर्ने गरी काम गर्नुहोला ।’
उनले रामेछाप नगरपालिकाका प्रमुखको ध्यानाकर्षण गराउँदै भने मेयरसाब तपाईँको नगरपालिका अगाडिको सडक कहिले बन्छ । आफू सधैँ हिँड्ने बाटो त राम्रो हुनु पर्ने हैन र ? तङ्रिएर बाहिर निस्किएन भने लडिएला भन्ने डर कहिले सम्म उनले सोधे ।
विकासमै रमाउने प्रतिनिधि सभा सदस्य पूर्णबहादुर तामाङ ‘कान्छाराम’ सांसद रहेको उल्लेख गर्दै जनप्रतिनिधिहरूले समन्वय र सहकार्यमा काम गर्न सुझाए । उनले आठ वटै स्थानीय तहका जनप्रतिनिधिले देखिने र जनताले अनुभूति गर्ने गरी काम गर्नुको विकल्प नरहेको स्मरण गराए ।
जिल्ला समन्वय समितिले पनि आफ्नो अधिकार भित्र रहेर काम गर्नु पर्ने र जनप्रतिनिधिलाई झकझक्याउनु पर्ने आग्रह गरे ।