गुम्देलमा भएको वडा स्तरीय भलिबल प्रतियोगिता आयोजककै पोल्टोमा, दोस्रो पनि गुम्देल, बाइक सोलो रेसमा शेर्पा ‘फस्ट’

| माघ २, २०७९ सोमबार

A A A
A A A

२ माघ, रामेछाप । रामेछापको गुम्देलमा सनसाइन युवा कल्बले आयोजना गरेको वडा स्तरीय भलिबल प्रतियोगितामा आयोजक टिम प्रथम भएको छ । साबिकको वडा नं ७ पत्करी स्थित कल्बले वडा कार्यालय गुम्देलको प्राङ्गणमा आयोजना गरेको तीन दिने प्रतियोगिता सम्पन्न गरेको हो । 

 

उसले प्रथम पुरस्कार नगद ५५ हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र आफैले राख्न सफल भएको छ । उमाकुण्ड गाउँपालिका भित्रका सात टिम सहभागी प्रतियोगितामा दोस्रो पनि वडा नं १ गुम्देलकै टिम भएको छ । सो टिमले द्वितीय पुरस्कार नगद ३३ हजार ३ सय ३३ रुपैयाँ ट्रफि, मेडल र प्रमाणपत्र हाँसिला गरेको छ । 

 

त्यस्तै वडा नं २ बाम्तीभण्डारले तृतीय पुरस्कार जितेको छ । उसले नगद २२ हजार २ सय २२ रुपैयाँको साथमा ट्रफि, मेडल र प्रमाणपत्र पालिएको छ ।

वडा नं १, २ र ३ का ७ टिम सहभागी प्रतियोगितामा सान्त्वना पनि वडा नं २ बाम्तीभण्डारकै रोशीको चुलेभिरपानी सामुदायिक बन उपभोक्ता समिति टिम भएको छ । उसले नगद ११ हजार १ सय ११ रुपैयाँको साथमा प्रमाणपत्र पाएको छ । 

 

विजयी टिमलाई गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवार र वडा अध्यक्ष ङातिण्डु शेर्पाले नगद, ट्रफि र प्रमाणपत्र प्रदान गरे । त्यस्तै खेलमा वेस्ट प्लेयर सनसाइनका भुजेल भएका छन् । उत्कृष्ट लिफ्टर रवि तामाङ भए । 

 

त्यस्तै ‘बाइक सोलो रेस’ मा वडा नं १ गुम्देलका ङिम्तेण्डी शेर्पा प्रथम, सुजित खड्का, रुपेश लामिछाने वडा नं २ दोस्रो भएका छन् । उनीहरूले क्रमशः ५ हजार ३ हजार र १ हजार नगद पुरस्कार पाएका छन् । बाइक सोलो रेसमा १२ जनाले भाग लिएका थिए ।  

 

‘एक्सपोलोरेसन’ खेलमा (विविध खेल) खेलाइएको थियो । जसमा ६ जना सहभागी भएकोमा वडा नं १ का खेलाडी प्रथम, २ बाम्तीभण्डार दोस्रो र आयोजक वडा नं १ कै सनसाइन युवा क्लब तेस्रो भएको छ ।