पोखरा विमान दुर्घटना: ज्यान गुमाएकाको सम्झनामा मन्थलीमा दीप प्रज्वलन

| माघ २, २०७९ सोमबार

A A A
A A A

२ माघ, रामेछाप । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा रामेछापले हिजो आइतबार पोखरमा भएको विमान दुर्घटनामा ज्यान गुमाएका पत्रकार त्रिभुवन पौडेल सहित ७२ जनाको नाममा दीप प्रज्वलन गरेको छ । 

 

सोमबार साँझ आज मन्थली स्थित देवकोटा चोकमा पौडेलसहित दुर्घटनामा दुःखद ज्यान गुमाएकाहरूको नाममा केन्द्रको निर्देशन अनुसार ७२ वटै मैन बत्ती बालेर मृतकको आत्मको शान्तिको कामना गरिएको हो । नेपाल पत्रकार महासङ्घ रामेछापमा आबद्ध र सक्रिय पत्रकारहरूले दुर्घटनामा दुःख व्यक्त गर्दै दीप प्रज्वलन गरेका हुन् । 

 

हिजो काठमाडौँबाट बिहान १० : ३२ बजे उडेको यति एरलाइनसको ६७ जना यात्रु र ४ जना चालक दलका क्रू मेम्बर सहितको विमान पोखराको सेती नदीको खोचमा दुर्घटना ग्रस्त हुँदा आन्तरिक तर्फको हाल सम्मकै ठुलो मानवीय क्षति भएको थियो । सोही दुर्घटनामा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य पौडेलको निधन भएको पुष्टि भएको हो । 

२०७७ फागुन ५ गते भएको नेपाल पत्रकार महासङ्घको २६औँ महाधिवेशनबाट निर्वाचित भई केन्द्रीय सदस्य भएका थिए । उनको निधनमा देशैभरका पत्रकारहरूले दुःख व्यक्त गरेका छन् । 

 

हाल सम्म विमान दुर्घटनामा ज्यान गुमाएका ६९ जनामध्ये २४ जनाको शवको मात्र पोखरामा पोस्टमार्टम हुने भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक चिकित्सकका अनुसार २४ जनाको पोखरामै पोस्टमार्टम गरेर परिवारलाई शव बुझाइनेछ ।

दुर्घटना ग्रस्त बिमान, तस्बिर सामाजिक संजाल । 

बाँकी ४५ जनाको शव भने काठमाडौँ पठाउन ल्याउन लागिएको छ । शव काठमाडौँ ल्याउनको लागि नेपाली सेनाको हेलिकप्टर पोखरा गएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान गण्डकी शिक्षण अस्पतालले जनाएको छ । तीन जनाको शव हालसम्म पनि फेला परेको छैन । बेपत्ताको खोजी कार्य जारी छ ।