लिखु तामाकोशीमा ६ महिनामै २ पटक निःशुल्क स्वास्थ्य सिविरः १५ सय बढीले सेवा लिए, आर्थिक अभावमा रोग पालेर बस्नु परेका भन्छन् ‘यो भन्दा ठुलो हाम्रो लागि के हुन्छ र’

| माघ ३, २०७९ मंगलबार

A A A
A A A

३ माघ, रामेछाप । रामेछापको लिखु तामाकोसी गाउँपालिकाले चालु आर्थिक वर्षमा दोस्रो पटक स्वास्थ्य शिविर सम्पन्न गरेको छ । गत वैशाख ३० मा निर्वाचित जनप्रतिनिधिले यो पालिकामा स्वास्थ्यलाई प्राथमिकता दिँदै बितेको ६ महिनामै दोस्रो पटक स्वास्थ्य शिविर सम्पन्न गरेको हो । 

 

पालिका बासीको स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएको गाउँपालिकाले गरेको पहिलो निःशुल्क आँखा शिविरबाट ८०९ बिरामीले सेवा लिएका थिए । जस मध्ये ३६ बिरामीको निःशुल्क शल्यक्रिया समेत गरिएको छ । 

 

त्यस्तै गत पुस २९ र ३० गते दुई दिन भएको दोस्रो पटकको स्वास्थ्य शिविरमा ६ सय ४४ विभिन्न रोग लागेर उपचार गर्न नसकेर बसेका बिरामीले विभिन्न आठ प्रकारका रोगको परीक्षण गराइ निःशुल्क औषधि समेत पाएका छन् । 

 

यसरी यो पालिकाले साउन यता पुस मसान्त सम्म मात्रै करिब १५ सय पालिकावासीको निःशुल्क स्वास्थ्य परीक्षण गरेको हो । 

गाउँपालिका, नेपाल छारे रोग सङ्घ, काठमाण्डौं मोडल अस्पतालको संयुक्त आयोजना र तामाकोशी अस्पतालको सहयोगमा पालिकाको वडा नं ४ नागदहको झट्टेश्वर माध्यमिक विद्यालयमा शिविरको आयोजना गरिएको पालिका अध्यक्ष केशव महतले जानकारी दिए । 

 

‘हामीले पालिकाभित्र रोग लागेर पनि उपचार गर्न नसकेका, स्वास्थ्य सुविधाबाट आर्थिक कारणले, अन्य कारणले उपचार गर्न नपाएकाहरूलाई मध्य नजर गरेर शिविर आयोजना गरेका हौँ । शिवरमा करिब ७ सय जनाले सेवा लिनु भयो अध्यक्ष महतले भने ।’ 

 

उनले थपे सामान्य बिरामी हुँदा त, गाउँमै रहेको स्वास्थ्य चौकीमा उपचार हुन्छ । तर, उपचार सम्भव नभएका भित्री रोग भएका बिरामीहरू भने बाहिर जानु पर्ने बाध्यता छ, आर्थिक कमजोरीले त्यो पनि धेरैको सम्भव छैन । त्यसैले नागरिकको स्वास्थ्यमा पहुँच पुगोस् भन्ने उद्देश्यले गाउँमै विशेषज्ञ सहितको शिविर सञ्चालन गरेका हौँ ।’ 

उनले थपिन यो भन्दा ठुलो अरू के हुन्छ र ? हाम्रो लागि निःशुल्क उपचार पाएका छौँ । यस्तै आगामी दिनमा पनि होस् गर्दे देखि राम्रो गर्नु पनि पर्छ । हामीले भोट दिएर राम्रो कामको लागि जिताएका हौँ ।’ 

 

शिविरमा स्त्रीरोग, छारे रोग, हाडर्जोनी, नाक, कान घाँटी, बालरोग र नसा च्यापिएका लगायतका ८ प्रकारका रोगहरूको उपचार गरिएको हो । 

 

आर्थिक अभावमा अस्पताल जान नसकेका पालिकावासीले गाउँमै विशेषज्ञ, डाक्टर र औषधी सहितको सेवा पाएपछि खुसी हुँदै ‘बिरामी भए पनि त्यत्तिकै बस्नु पर्ने बाध्यता थियो । अहिले गाउँमा डाक्टर सहित निःशुल्क सेवा पाउँदा आफूलाई ज्यादै खुसी लागेको सोही पालिका वडा नं ४ की दीप महतले बताइन् ।

 

पैसाकै अभावमा धेरै वर्ष देखी ढाड र कम्मरको दुखाई खेप्दै आएकी सोही ठाउँकी फट्याङ्ग्री तामाङ पनि गाउँमा आएको निःशुल्क स्वास्थ्य शिविर निकै राम्रो लागेको बताइन् । उनले भनिन् ‘पैसा नहुँदा वर्षौँ देखी रोग पालेर बसेको थिए । अहिले गाउँमै जाँच गराउन पाउँदा निकै खुसी छु । समयको पनि बचत भयो, पैसा पनि जोगियो ।’