प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना : ५० प्रतिशत अनुदानमा १३२ जना कृषकले पाए उपयोगी कृषि औजार

| माघ १७, २०७९ मंगलबार

A A A
A A A

१७ माघ, रामेछाप । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई रामेछापले कृषकलाई धमाधम कृषि औजार तथा उपकरण हस्तान्तरण गर्न थालेको छ । कृषिलाई आधुनिकीकरणलाई प्राथमिकता दिँदै आएको परियोजनाले चालु आर्थिक वर्षको योजनालाई कार्यान्वयन तर्फ लगेको जनाउँछ । 

 

चालु आर्थिक वर्ष २०७९÷०८० को वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषकबाट माग भई आएका कृषि औजार तथा उपकरण धमाधम दिन थालेको हो । परियोजनाले कतिपय योजनाहरू जोन क्षेत्रलाई प्राथामिकिकरण गरेर दिन थालेको परियोजनाका सूचना अधिकारी बेदराज काफ्लेले रामेछाप टाइम्सलाई जानकारी दिए । 

गत आइतबार परियोजनाले ‘आलु जोन’ क्षेत्र उमाकुण्ड र गोकुलगंगा गाउँपालिकाका कृषक तथा कृषि फर्म गरी कूल २८ वटा मिनिटिलर वितरण गरिएको सूचना अधिकारी काफ्लेले बताए । ‘हामीलाई माग भएर आए अनुसार ५० प्रतिशत अनुदानमा सामाग्री प्रदान गरेका हौँ ।’

 

गोकुलगंगा गाउँपालिकाका अध्यक्ष काजीबहादुर खड्का (दिनेश)  ले पालिकामा ‘आलु जोन’ क्षेत्रमा ‘कृषि यान्त्रीकरण सहयोग’ कार्यक्रम अन्तर्गत उमाकुण्ड र गोकुलगंगा गाउँपालिकाका कृषि सहकारी,कृषक समूह र निजी फर्महरूलाई गरी कूल २८ वटा मिनिटिलर ५० प्रतिशत अनुदानमा प्रदान गरेको काफ्लेले जानकारी दिए । ‘गोकुलगंगाका अध्यक्ष ज्यूबाट वितरण गरेका हौ । गुम्देलदेखि बाम्ति, कुँबुँकास्थली, प्रति ४, गुप्तेश्वरमा समेत परेको छ । कृषकले पाएका छन्, काफ्लेले भने ।’ 

 

सूचना अधिकारी काफ्लेका अनुसार यसरी वितरण गरिएको मिनिटिलरको कूल मूल्य ७८ हजार परेको छ । र, त्यसको ५० प्रतिशत अनुदान ३९ हजारमा कृषकले पाएका छन् । 

 

 

त्यस्तै मङ्गलवार पनि परियोजनाले ‘बाख्रा जोन’ क्षेत्रका एक सय भन्दा बढी कृषकलाई मन्थलीबाटै कम्वाइन मिल, डिक्स मिल र च्याप्कटर ५० प्रतिशत अनुदानमै प्रदान गरेको छ । 

बागमती प्रदेशका सांसद आनन्द श्रेष्ठ, जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्का (कार्की), मन्थली नगरपालिकाका मेयर लब श्रेष्ठ, ज्ञान केन्द्र रामेछापकी प्रमुख निर्मला गुरुङ र परियोजना प्रमुख थिरलाल गैरेको उपस्थितिमा बाख्रा जोन क्षेत्रका कृषकलाई उपकरण तथा औजार प्रदान गरेको हो । 

 

जोन क्षेत्रको सुनापतिका गाउँपालिकाका पाँचै वडा, खाँडादेवी गाउँपालिकाका ९ वटै वडा र मन्थली नगरपालिकाको वडा नं १ देखि ३ र ७ देखि १३ नम्बरका वडाका कृषकले ५० प्रतिशत अनुदानमा ७१ वटा कम्वाइन मिल, २३ वटा डिस्क मिल र १० वटा च्यापकटर हस्तान्तरण गरिएको सूचना अधिकारी काफ्लेले रामेछाप टाइम्सलाई बताए । 

 

यसरी प्रदान गरिएको कम्बाइन मिलको प्रतिगोटा कूल मूल्य ३४ हजार ९ सय ५० रुपैयाँ  परेको छ । 

 

त्यस्तै डिस्क मिलको कूल मूल्य २१ हजार पाँच सय र च्यापकटरको ३४ हजार पाँच सय रुपैयाँ परेको काफ्लेले बताए । यी सबै उपकरणको ५० प्रतिशत अनुदानमा कृषकले मन्थलीमा रहेको परियोजनाको कार्यालयबाटै पाएका छन् । 

परियोजनाले हाल बाख्रा, आलु र सुन्तला जोन क्षेत्रमा काम गर्दै आएको छ । सुन्तला जोन क्षेत्रमा पनि विषादी, औजार उपकरण प्रदान गर्दै आएको यो कार्यालयले कृषिलाई आधुनिकीकरणमा मुख्य जोड देखिन्छ । परियोजनाले हाल सम्म चालु आ.व.मै एक सय ३२ जनालाई सामाग्री प्रदान गरी सकेको छ । 

 

प्रदान गरिएको उपकरण तथा मेसिनहरू यहाँ सम्म कार्यालयले ल्याएको तर, यहाँबाट भने कृषक आफैले भाडा व्यवस्था गरेर लानु पर्ने सूचना अधिकारी काफ्लेले बताए । 

 

आफूहरूले परियोजनाको वार्षिक कार्यक्रम अनुसार सामाग्री दिएको उल्लेख गर्दै यसलाई प्रयोग गरेर आम्दानीको स्रोत बढाउन परियोजना प्रमुख गैरेले जोड् दिए । उनले दिएका सामाग्रीको भरपुर उपयोग गर्न आग्रह गरे ।