गुम्देलको चामरु वन चार दिन देखि निरन्तर जलिरहेको छ, निभाउन खटिएका कार्की भन्छन् ‘स्थानीय सरकारले केही पहल गरेन, आउँछन्, हेर्छन् जान्छन्’

| माघ १८, २०७९ बुधबार

A A A
A A A

१८ माघ, रामेछाप । गुम्देलको चामरुमा चार दिन देखि निरन्तर लागिरहेको डढेलो अझै पनि नियन्त्रणमा आउन सकेको छैन ।

 

उमाकुण्ड गाउँपालिका वडा नं १ गुम्देलको साबिकको वडा नं ९ चामरुमा लागेको आगो हाल सम्म पनि नियन्त्रणमा नआउँदा आगोले ठुलो विनाश गरेको छ । गौरीशंकर संरक्षण क्षेत्र समेत रहेको यो जङ्गल वडा नं २ बाम्तिभण्डार र १ गुम्देलको सीमा भएर बहने सुर्मा खोला माथिल्लो चौतारा नजिकैबाट लागेको आगो निभाउने प्रयास असफल भएको हो । आगो निभाउन दुई चार जना स्थानीय, नेपाली सेना र प्रहरी लागेका छन् । तर, आगो नियन्त्रणमा आउन सकेको छैन ।

 

भिरालो सुख्खा पाखो जमिन रहेको जङ्गलमा लागेको आगो दन्की रहेको माथिल्लो भेगमा चामरू बस्ती छ । साथै भिरालो जमिन र घना जङ्गल रहेको त्यहाँ चौरी गोठ पनि छन् । जलिरहेको वनको आगो निभाउन भने स्थानीय सरकार र त्यस क्षेत्रका स्थानीयहरूले भने चासो नदिएको जनआवाज उठ्न थालेको छ ।

यसैबिच अत्यन्तै भिर भएको ठाउँमा आगो लागेकाले नियन्त्रणमा लिन समस्या भएको प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले बताए ।

 

‘भिरालो भिरमा आगो  लागेको छ । सेना, प्रहरीलाई हामीले खटाएका छौँ । तर, नियन्त्रणमै लिन भने निकै कठिन भएको छ । प्रशासन लागेको छ । तर,भिर भएका कारण चुनौती देखिएको छ । आज र भोलि सम्म पनि नियन्त्रणमा नआए हामी त्यो ठाउँमा पुगेर के गर्न सकिन्छ । त्यसको विकल्प खोज्न लाग्ने तयारीमा छु,’ प्रजिअ रेग्मीले रामेछाप टाइम्ससंग भने । 

 

 

उनले बस्तीलाई जोगाउनको लागि आफूले निर्देशन दिएको उल्लेख गर्दै सचेत भएर बस्नको लागि आग्रह गरेको सुनाए । पालिका अध्यक्षसँग पनि कुरा भएको सुनाउँदै बस्तीलाई जोगाउनको लागि काम गर्न पालिकालाई पनि भनेको प्रजिअ रेग्मीले सुनाए । 

 

पालिका अध्यक्षले सम्पर्क गर्नु भएको थियो । सम्पर्क भन्दा आगो निभाउन जानुहोस् भनेको छु । काम नगरी निभ्दैन ।’

 

लिखु हाइड्रो पावरमा कार्यरत नेपाली सेना, बाम्तीभण्डार स्थित प्रहरी र केही स्थानीय गरी १०÷१५ जनाले सोमबार देखि निभाउन खोजे पनि हाल सम्म सफल नभएको आगो निभाउन खटिएका हाइड्रोपावरमा कार्यरत एवं स्थानीय रमेश कार्कीले रामेछाप टाइम्सलाई जानकारी दिए । 

उनले भने ‘१०÷१५ जना हामी खटिएका छौँ । हिजो वडा नं १ गुम्देलका वडा अध्यक्ष ङातिण्डु शेर्पा चामारुमा पुग्नु भयो । र, २ बाम्तीभण्डारका अध्यक्ष खम्बधोज बस्नेत पनि मङ्गलवारै सानो बाल्दिङ सम्म आएर हेरेर मात्रै फर्किए । खासै पहल भएन । स्थानीय सरकारले पहल केही गरेनन् । आगो एक किलो मिटर भन्दा धेरै फैलिएको छ । नियन्त्रणमा लिन अब हेलिकप्टरबाट पानी हालेर निभाउनुको विकल्प देखिदैन् । यस्तै हो भने केही दिनमा आगो बस्तीमा पुग्छ ।’

 

‘गाउँपालिका उपाध्यक्ष सावित्री सुनुवार आगो लागेको थापा पाउँदा आफूहरूसँगै भए पनि खासै पहल गर्नु भएन । हामीले स्थानीय सरकार, वडा, पालिका देखि मान्य सांसद पूर्णबाहदु तामाङ (कान्छाराम) लाई समेत फोन गर्‍यो तर, उठेन । हामी थोरै जनाले नियन्त्रणमा लिन निकै गाह्रो भएको छ,’ कार्कीले भने । 

 

यता गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवार भने पालिकाले सक्दो काम गरिरहेको दाबी गर्छन् । बुधवार बिहान रामेछाप टाइम्संग कुरा गर्दै ‘मैले उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई पठाएको छु । सबैतिर खबर गरेको छु । बस्ती जोगाउनको लागि पानीको पाइप व्यवस्था गरेको छ । प्रहरी, सेना, प्रशासन सबैसँग कुरा राखेको छु । पहल भएको छ । अब हामीले सक्ने गर्‍यौँ । नसकेपछि राज्यलाई खबर गरेको छु । हेलिकप्टर लगेर पानी हाल्ने कुरा हामी सक्दैनौँ । सकेको गरेको छु,’ भने । 

त्यस्तै उनले थपे ‘सबै वडा अध्यक्षलाई खटिनु भनेको छु । अन्य काम छोडेरै पनि जानु भएको छ । स्थानीयहरू आएर हेरेर फर्किन्छन् । हामीले सकेको गरेका छौँ ।’

 

यसै विषय र हाइड्रोको विषयमा थप छलफल गर्न म, मन्थली प्रशासनमा आउँदै छु । आज प्रशासनमा छलफल छ, अध्यक्ष सुनुवारले भने । 

 

सामाजिक सञ्जालमा स्थानीय सरकार र नजिकै आसपासका मानिसहरू जलिरहेको बनको रमिते बनेको भन्दै आलोचना सुरु भएको छ ।