नेपाल बुद्धिचाल महासङ्घको रामेछापमा समिति विस्तार, सत्याल बने संयोजक

| माघ १८, २०७९ बुधबार

A A A
A A A

१८ माघ, रामेछाप । नेपाल बुद्धिचाल (चेस) महासङ्घ रामेछापको जिम्मेवारी सौजन्यप्रसाद सत्यालले पाएका छन् । अधिवक्ता एवं सञ्चारकर्मी समेत रहेका सत्यालको संयोजकत्वमा  आठ सदस्यीय समिति गठन गरेको हो । 

 

गत बिहीबार महासङ्घको विधान २०४८ (संशोधन २०७९) को परिच्छेद ९, दफा ३१ उपदफा ७ को व्यवस्था अनुसार रामेछाप जिल्ला भित्र बुद्धिचाल खेलको विकास तथा विस्तार गर्ने उद्देश्यले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को मर्म अनुसार महासङ्घको विधानको अधीनमा रही २०७९ फागुन ७ गते सम्म  सम्बन्धित जिल्ला बुद्धिचाल महासङ्घको साधारण तथा निर्वाचन गर्नका लागि सत्यालको संयोजकत्वमा तदर्थ समिति गठन गरिएको महासङ्घले एक पत्र मार्फत जनाएको छ । 

 

बागमती प्रदेश खेलकुद विकास परिषद्, हेटौडा र जिल्ला खेलकुद विकास समितिलाई उल्लेख गर्दै सत्याल संयोजक रहने गरी हरिवंश कडरीया, विमल सुवेदी, समाल कार्की, युवराज सुवेदी, केदार थापा, करुणा थापामगर र प्रताप घिसिङ सदस्यता रहने गरी तदर्थ समिति गठन गरेको हो । 

 

जिल्ला अध्यक्ष भएपछि सामाजिक सञ्जालमा लेख्दै संयोजक सत्यालले फेसबुक, टिकटक, तास, लुडोलाई दिने समयको २० प्रतिशत समय बुद्धिचाल (चेस) लाई दिन सके जीवनमा परिवर्तन आउन सक्छ । बुद्धुचालबाट बुद्धिचालतर्फ लाग्न सकिन्छ, लेखेका छन् ।