लिखु नदीमा निर्माणाधीन हाइड्रोपावर, जनप्रतिनिधि र प्रशासनको छलफल : ३ बुँदे यस्ता निर्णय गर्‍यो (निर्णयसहित)

| माघ १८, २०७९ बुधबार

फाइल फोटो ।
A A A
A A A

१८ माघ, रामेछाप । रामेछापको उत्तरी क्षेत्र लिखु नदीमा निर्माणाधीन हाइड्रोपावर (जलविद्युत) आयोजनाले स्थानीयहरूलाई पीडित बनाएको पटक–पटकको गुनासो पछि सरोकारवालाको छलफल भएको छ । 

 

बुधवार आज जिल्ला प्रशासन कार्यालय रामेछापमा प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीको संयोजकत्वमा गोकुलगंगा गाउँपालिका र उमाकुण्ड गाउँपालिकामा सञ्चालित जलविद्युत आयोजनासँग सरोकार राख्नेहरू सँग छलफल भएको हो । 

 

स्थानीयहरूको पीडालाई सम्बोधन गर्ने उद्देश्यले गरीको छलफलमा प्रमुख जिल्ला अधिकारी रेग्मी, गोकुलगंगा गाउँपालिकाका अध्यक्षहरू काजी बहादुर खड्का (दिनेश), उपाध्यक्षहरू उषादेवी कार्की, उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवार, जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) होमबहादुर पराजुली, सशस्त्र प्रहरी नायब उपरीक्षक मुरारी अधिकारी, अनुसन्धान अधिकृत निर्मल पौडेल सहभागी थिए । 

 

त्यस्तै जलविद्युत आयोजनाको तर्फबाट लिखु (ए) लिखु–१ र लिखु–२ जलविद्युत आयोजनाका निर्देशक द्वय, दीपक नेपाल र राजन खत्री, सोही जलविद्युत आयोजनाका कार्यकारी प्रमुख अधिकृत दीपक पौडेल, भिजन इनर्जी एण्ड पावर प्रा.ली.का महाप्रबन्धक रमेश अधिकारी थिए । 

 

त्यस्तै छलफलमा गोकुलगंगा गाउँपालिका वडा नं १ का अध्यक्ष छत्रबहादुर बस्नेतको र नेपाल पत्रकार महासङ्घ रामेछापका उपाध्यक्ष कैलाश खत्रीको उपस्थिति रहेको थियो । 

 

सो छलफलमा दुई पालिका क्षेत्रभित्र निर्माणाधीन जलविद्युत आयोजनाका लागि निर्माण सामग्री ढुवानी गर्दा पालिकासँगको समन्वयमा सडक मर्मतको कार्य सम्बन्धित जलविद्युत आयोजनाले तत्काल सुरु गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले रामेछाप टाइम्सलाई जानकारी दिए । ‘हालसम्म कार्यान्वयन नभएका तर, निर्णय भएकाहरूलाई कार्यान्वयन तर्फ तत्काल लाने निर्णय गरिएको छ, प्रजिअ रेग्मीले भने ।’ 

 

त्यस्तै आयोजनाहरूले सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना क्षेत्रहरूमा पूरा गर्नु पर्ने दायित्वका सम्बन्धमा आवश्यकता अनुसार सार्वजनिक सुनुवाइ गर्ने , स्थानीय स्तरमा देखा पर्ने समस्या समाधान गर्ने र एक आपसमा समन्वय स्थापित गरी आयोजनको काम अगाडि बढाउने निर्णय गरिएको छ । 

 

त्यस्तै जलविद्युत उत्पादकका आधिकारिक प्रतिनिधि र गाउँपालिकाका पदाधिकारी सहितको समन्वय प्रत्येक २ महिनामा जिल्ला प्रशासन कार्यालयमा बस्ने सहमति भएको प्रशासनका नायब सुब्बा लक्ष्मण भुजेलले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

निर्णय हेर्नुहोस्