लिखु नदीमा निर्माणाधीन ‘हाइड्रोहरू’ले अटेर गर्दै नगरेका सामाजिक उत्तरदायित्वको काम तत्काल पूरा गर्ने निर्णय

स्थानीयले सामाग्री ढुवानीमा अवरोध गर्न नपाउने

| माघ १९, २०७९ बिहिबार

A A A
A A A

१९ माघ, रामेछाप । गोकुलगंगा गाउँपालिका र उमाकुण्ड गाउँपालिका क्षेत्रभित्र निर्माणाधीन जलविद्युत आयोजनाका लागि निर्माण सामग्री ढुवानी गर्दा पालिकासँगको समन्वयमा गर्ने र आयोजनाले यी पालिकाभित्रका मुख्य सडक मर्मतको काम तत्काल अगाडि बढाउने निर्णय गरिएको छ । उमाकुण्डको लिखु नदीमा निर्माणाधीन ‘हाइड्रोहरू’ले सामाजिक उत्तरदायित्वको काम तत्काल पूरा गर्ने र स्थानीयले सामाग्री ढुवानीमा अवरोध गर्न नपाउने सहमति बनेको हो ।

 

बुधवार जिल्ला प्रशासन कार्यालय रामेछापमा बसेको सरोकारवालाहरूको सर्वदलीय बैठकले यस्तो निर्णय गरेको जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको हो । 

 

बैठकमा जलविद्युत निर्माण कम्पनीले हाल सम्म कार्यान्वयन नगरेका निर्णयलाई कार्यान्वयन गर्ने बाचा गरेको प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले रामेछाप टाइम्सलाई जानकारी दिए । ‘आयोजनाले हाल सम्म धेरै निर्णय भए पनि कार्यान्वयन गरेको पाइएन, अब त्यो सबै गर्छु भन्ने निर्णय भएको छ, सामाग्री ढुवानीमा पनि पालिकाको समन्वयमा हुनेछ । भने, सडक मर्मत, आयोजनाले गर्ने कामहरू शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार लगायत सबै काम अगाडि बढाउने सहमति भएको हो ।’

लिखु ए डाम

हाल सम्म जिल्लाको उत्तरी क्षेत्र उमाकुण्ड गाउँपालिका वडा नं १ गुम्देल,२ बाम्तिभण्डार भएर बहने लिखु नदीमा आधा दर्जन भन्दा बढी जलविद्युत आयोजना निर्माणाधीन छन् । केही निर्माणको अन्तिममा पुगी सके तर, सामाजिक उत्तरदायित्व भित्र गर्नु पर्ने कुनै काम गरेका छैन । 

 

गाउँका एक दुई जना अगुवालाई समातेर मिलापत्र गर्ने र यसै गरी काम अगाडि बढाउँदै आएका छन् । यसले गर्दा स्थानीयहरूले पाउनु पर्ने आयोजनाको तर्फबाटका कुनै काम नभएका हुन् । ठुला मालवाहक, सामाग्री ढुवानीका गाडी चलेर दैनिक ओहोरदोहोर गर्ने मुख्य सडकहरू नै उल्टै सवारी चलिनसक्नुको भएको छ । यसले यस क्षेत्रका स्थानीयहरू थप मारमा परेका छन् । 

लिखु ए ड्याम, तस्बिर सबै राजकुमार खत्रीको फेस्बुकबाट साभार

कतिपय स्थानीयहरूको त, जग्गा मुआब्जा समेत कब्जा भएको गुनासो गर्ने गरेका छन् । लिखु नदीको पानी आयोजनाले लगिदिँदा खोला बगरमा परिणत हुने अवस्था आउने धेरैको आकलन छ । यसले यहाँका जलचर प्राणिहरुनै लोप भएर जाने निश्चित छ । 

 

लिखु नदीका सायक नदीहरू, खोल्साहरूमा पनि पानीको मात्र घट्दै जानथालेको स्थानीयहरू बताउँछन् । यसले भोलिका दिनमा यस क्षेत्रमा खानेपानीको अभाव देखिने बुढापूर्खा बताउँछन् । यस क्षेत्रमा आयोजनाले काम गरिदिनु पर्ने र भोलि आइपर्ने ठूला समस्याहरुलाई न्युनिकरण गर्ने बाटो पहिल्याउनु पर्ने स्थानीयहरुको माग छ ।