रामेछाप उद्योग वाणिज्य सङ्घको १४ औँ वार्षिक साधारण सभा सम्पन्न

| माघ २१, २०७९ शनिबार

A A A
A A A

२१ माघ, रामेछाप । रामेछाप उद्योग वाणिज्य सङ्घ, रामेछापको १४ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार मन्थली स्थित सामुदायिक हलमा एक भव्य सहमहारोकाबिच २०७६ सालमा निर्वाचित पदाधिकारीले अन्तिम साधारण सभा सम्पन्न गरेका हुन् । 

 

सङ्घका अध्यक्ष केशव प्रसाद घिमिरेको अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठको प्रमुख आतिथ्यमा भएको सभामा सङ्घको संगाठानीक प्रतिवेदन र आर्थिक प्रतिवेदनमाथि बन्दशत्रमा छलफल हुने गरी औपचारिक सभा सकिएको हो । 

 

औपचारिक सभामा बोल्दै उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष श्रेष्ठले बैंकले बढाएको ब्याज तिर्न सक्ने व्यवसायीको अवस्था नरहेको भन्दै उद्योग व्यवसायमा ताला लगाउनु पर्ने अवस्था रहेको गुनासो गरे ।

 

उनले बैंकका कारण व्यवसायीहरू अत्यन्तै अप्ठेरोमा परेको उल्लेख गर्दै बैंकले आफूहरूलाई दुष्मनीको दृष्टिले हेर्न थालेको आरोप लगाए । उपाध्यक्ष श्रेष्ठ बैंकको १६ प्रतिशतसम्म ब्याज तिर्न नसक्दा आज व्यवसायीहरू आत्मदाह गर्न बाध्य भएको बताए । 

दिनेश श्रेष्ठ 

त्यस्तै जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्का (कार्की) ले पनि व्यावसायिक क्षेत्रमा मात्रै नभएर समग्र क्षेत्रमा आर्थिक मन्दी लाग्दा सबै मलिन र दुखित हुनु परेको बताइन् । उनले सङ्घको निर्वाचन आएको उल्लेख गर्दै नयाँ नेतृत्व संस्थामा बसेर राजनीति गर्ने भन्दा काम गर्ने खालको आउनु पर्नेमा जोड् दिइन् ।

 

उनले सङ्घले जिल्लाका विभिन्न स्थानमा रहेका उद्योगी व्यवसायीहरूको समस्याको पहिचान गरी सरोकारवालानिकायसँग समन्वय गरेर समाधानमा लाग्न आग्रह गरिन् । त्यस्तै मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले समृद्ध नगरपालिका बनाउनका लागि निजी क्षेत्रसँग सहकार्य गरेर नगरपालिकाले काम गर्ने बताए । 

 

यहाँका बजार क्षेत्रका व्यवसायीहरूको हित र प्रवर्द्धनमा ध्यानमा राखेर नगरपालिका अहिले बजारको व्यवस्थापन गरिरहेको बताए । तर, त्यसमा केही कमजोरी भएको स्वीकार गर्दै काम गर्दा सबैको सुझावको अपेक्षा गरेको बताए । 

 

त्यस्तै रामेछाप नगरपालिका प्रमुख लवश्री न्यौपानेले सङ्घले जिल्लामा उत्पादन भएका वस्तु तथा सेवा र आयात भएका वस्तुको विवरण पत्ता लगाएर यहाँको स्थानीय उत्पादनलाई यही खपत गर्ने वातावरण बनाउन जोड् दिए । 

 

उनले यहाँका स्थानीय उत्पादनलाई बजारीकरण गर्न प्राथमिकता दिँदै उपभोग गर्न आग्रह गरे । साथै उनले स्थानीय सरकारले गर्न चाहेका धेरै काम नीति र विधिका कारणले अवरोध पूर्याएको सुनाए । 

 

त्यस्तै नेपाली काँग्रेसका उपसभापति लेखबहादुर कार्की, एमालेका मन्थली नगर कमिटी अध्यक्ष, रामबाबु घिमिरे, माओवादीका नेता उद्दब रम्तेल, राप्रपाका नेता लगायतले सङ्घले हाल सम्म गरेका काम आगामी योजना र गर्नु पर्ने काम बारे खबर दारी सहित धारणा राखे ।

 

संघले साधारण सभाको अवसरमा विभिन्न विधामा व्यवसायी,पूर्वअध्यक्ष लगाएतलाई सम्मान पनि गरेको छ । संघको निर्वाचन आउँदो फागनुको २७ गते हुने यस अगाडिनै निर्णय गरि सकिएको छ ।