पुस मसान्त सम्म करदाता सेवा कार्यालयको राजस्व सङ्कलन निराशाजनक, गत वर्षको तुलनामा ५६.७२ प्रतिशतले कमी

| माघ २५, २०७९ बुधबार

फाइल फोटो ।
A A A
A A A

२५ माघ, रामेछाप । करदाता सेवा कार्यालय मन्थली रामेछापले बितेको ६ महिनामा राजस्व सङ्कलनको न्यून मात्रमा उठेको जनाएको छ । विगतको वर्ष भन्दा यो वर्ष राजस्व सङ्कलन कम उठेको आन्तरिक राजस्व कार्यालय, करदाता सेवा मन्थलीले रामेछाप टाइम्सलाई जानकारी दिएको हो । 

 

चालु आर्थिक वर्षको पुस मसान्त सम्म कार्यालयले कूल १० करोड १५ लाख ६७ हजार अर्थात् ६७.२२ प्रतिशत मात्रै राजस्व उठेको कार्यालयका सूचना अधिकारी नवीन घिमिरेले रामेछाप टाइम्सलाई बताए । आन्तरिक राजस्व कार्यालयले भने यो अवधिमा कार्यालयले कूल १५ करोड १० लाख ८ हजार रुपैयाँ राजस्व उठाउनु पर्ने लक्ष्य दिएको थियो । तर, लक्ष्यको आधा पनि राजस्व उठ्न नसकेको हो । यो गत आर्थिक वर्षको सोही अबधिको तुलनामा ५६.७२ प्रतिशतले कमी हो । 

 

उनका अनुसार गत आर्थिक वर्ष ०७८÷०७९ को यो अवधिमा कार्यालयले कूल १० करोड ४९ लाख ६८ हजार अर्थात् १०५.९१ प्रतिशत राजस्व पठाएको थियो । गत वर्ष कार्यालयले अर्धवार्षिकमै लक्ष्य भन्दा धेरै राजस्व सङ्कलन गरेको थियो । 

नविन घिमिरे,सूचना अधिकारी, तस्बिर मिलन घिमिरे/रामेछाप टाइम्स ।

सो आर्थिक वर्ष ०७८÷०७९ को असार मसान्त सम्म कार्यालयले कूल २८ करोड ४२ लाख ७२ हजार अर्थात् १२९.२१ प्रतिशत राजस्व उठाएको सूचना अधिकारी घिमिरेले जानकारी गराए । भ्याट, पान, अन्त शुल्क, मूल्य अभिवृद्धि कर लगायतबाट कर सङ्कलन गर्दै आएको कार्यालयमा हाल आठ सय १७ जना भ्याटमा दर्ता भएका छन् । 

 

त्यस्तै आठ हजार चार सय ४० जना पानमा दर्ता भएका छन् । ११४ वटा सरकारी निकाय जोडिएका छन् । यो वर्ष कार्यालयले कूल ३३ करोड ५९ लाख ६८ हजार राजस्व उठाउनु पर्ने छ । तर, हालको कर सकलको दरलाई हेर्दा यो सम्भवना नदेखिएको कार्यालयका सूचना अधिकारी घिमिरेले बताउँछन् । ‘सम्भावना कम देखिन्छ । आर्थिक क्षेत्रमा देखिएको अप्ठ्यारोले गर्दा व्यवसायीहरू मार्मानै देखिन्छन् । त्यसैले पनि लक्ष्यमा पुग्न मुस्किलछ ।’

 

कार्यालयले अब लक्ष्य पुर्‍याउन असार सम्म कूल २३ करोड भन्दा माथि राजस्व सङ्कलन गर्नु पर्ने छन् । 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार