रामेछाप महिला उद्यमी संघको अध्यक्षमा भण्डारी, महासचिवमा श्रेष्ठ निर्विरोध

| माघ २८, २०७९ शनिबार

A A A
A A A

२८ माघ, रामेछाप । रामेछाप महिला उद्यमी संघको रामेछापको अध्यक्षमा डम्बरकुमारी भण्डारी निर्विरोध चयन भएकी छन् । उनलाई सर्वसहमतीले अध्यक्षमा चयन गरिएको हो । यसअगाडि अपना श्रेष्ठ अध्यक्ष थिइन् । 

 

महिलाहरूले आफ्नो क्षमता विकास गर्दै विभिन्न उत्पादनसँग जोड्न काम गर्दै आएको यो संघको उपाध्यक्षमा तारादेवी थापा, महासचिवमा सङ्गीता श्रेष्ठ र सचिव बोधकुमारी श्रेष्ठ चयन भएका छन् । उनीहरू सबै कुनै न, कुनै व्यवसायमा आबद्ध छन् । 

 

त्यस्तै कोषाध्यक्षमा सङ्गीता अधिकारीले जिम्मेवारी पाएकी छन् । शनिवार रामेछाप उद्योग वाणिज्य संघको हलमा भएको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो जिल्ला अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो । 

सपथ खाँदै पदाधिकारीहरु, तस्बिर नविन घिमिरे, रामेछाप टाइम्स । 

दुई वर्षे कार्यकालको लागि कविता श्रेष्ठ, विमला श्रेष्ठ, रमिता कार्की (कोइराला) र रिता ढुङ्गेल सदस्यमा चयन भएका छन् । विगतका वर्षहरूमा सघंले महिलाहरूलाई विभिन्न सिप विकास तालिम, क्षमता विकासका कार्यक्रम, अन्तरक्रिया, उत्पादनशील बन्न जोड् दिँदै आएको छ । 

 

अधिवेशन तथा साधारण सभालाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्का (कार्की) ले महिलाहरूको यस सङ्घले आगामी दिनमा उत्पादनशील काम गर्नु पर्नेमा जोड् दिइन् । उनले महिलाहरूले पनि विकास र समृद्धिको लागि जस्तो सुकै काम गर्न सक्ने अडान व्यक्त गर्दै प्रमुख खड्काले यो सङ्घका जोडिएका कुनै पनि महिलाहरू सक्षम र उदाहरणीय बन्नु पर्नेमा ध्यानाकर्षण गरिन् । 

 

महिलाहरूको विकासको लागि योजना बनाउन सङ्घलाई आग्रह गर्दै योजना लिएर आए स्थानीय र प्रदेश सरकारलाई आफू पनि बजेट पारिदिन पहल गर्ने प्रतिबद्धता जनाइन् । उनले अझै पनि महिलाहरूको संस्थालाई हेपिने गरेको प्रसङ्ग उठाउँदै कसैले यस सङ्घलाई साना ठानेमा मलाई खबर गर्नुहोस् म, त्यसको जिम्मेवारी लिएर के गर्नु पर्ने रहेछ । त्यो गर्न तयार छु भनिन् । 

 

रामेछाप उद्योग वाणिज्य सङ्घ र घरेलु तथा साना उद्योग कार्यालयसँग सहकार्य गरेर काम गर्न सुझाउँदै नयाँ नेतृत्व काम गर्न सक्ने ल्याउन सुझाइन् । उनले संस्थामा बसेर राजनीति गर्ने नभई स्वच्छ भावले काम गर्ने, आवश्यक परेका जहाँ पनि जुनसुकै बेलामा पुग्न सक्ने नेतृत्व सङ्घलाई आवश्यक हुने प्रस्ट्याइन् ।