लिखु तामाकोशीमा भएको ‘प्रथम पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड’ उपाधि अरूणोद्य मावि सैपुलाई

| माघ २९, २०७९ आइतबार

A A A
A A A

२९ माघ, रामेछाप । लिखु तामाकोशीमा भएको ‘प्रथम पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड’ को उपाधि अरूणोद्य मावि सैपुले जितेको छ । ११ वटा माविलाई पछि पार्दै उसले १६ स्वर्ण, ४ रजत र ३ कास्य पदक गरी २३ पदक जित्दै उपाधि उचालेको खेल संयोजक शुशियल लामा (प्रदीप) ले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

योसँगै पहिलो पटक रनिङ शिल्ड आयोजना गरेको यो पालिकाले नगद १५ सय पुरस्कार सहित शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरेको छ । 

 

लामाका अनुसार पालिकामा भर्खरै मात्रै पालिका खेलकुद विकास समिति समेत गठन भएर प्रतियोगिता भएको हो । जस अनुसार तामाकोशी जनजागृति मावि खिम्तीले ६ स्वर्ण, ५ रजत, ५ कास्य गरी कूल १६ पदक जित्दै दोस्रो भएको छ । 

त्यस्तै मावि ज्यामिरे खानी मावि खिम्तीले ४ स्वर्ण, १ कास्य, चण्डेश्वर माविले २ स्वर्ण, २ रजत र ७ कास्य, सहिद स्मृति मावि सैपुले २ स्वर्ण, ६ रजत, १ कास्य, भिङ्गेश्व मावि धारापनीले १ स्वर्ण पदक जितेको छन् । उनीहरूले क्रमशः नगद एक हजार र पाँच सय रुपैयाँ पुरस्कार पाएका छन् । 

 

बागमती प्रदेशका सांसद तारानारणय श्रेष्ठ ‘बिगुल’ र पालिका अध्यक्ष केशव महतले संयुक्त रूपमा पुरस्कार, शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र वितरण गरे । अरूणोद्वय मावि खेलमैदानमा भएको तीन दिने प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ्ले गरेका थिए । 

भलिबल, कबडी, तेक्वान्दो, एथलेटिक्स लगायतका विभिन्न विधामा पालिका भित्रका १२ वटा माद्यामिक विद्यालयका छ सय भन्दा बढी विद्यार्थीले उपस्थितिमा खेल भव्य रूपमा सम्पन्न भएको संयोजक लामाले बताए । ‘समिति भर्खरै गठन भएको छ । कार्यपालिकाको निर्णय अनुसार खेल गर्‍यौँ । आगामी दिनमा हामी थप यसलाई सक्रिय बनाउँनछौं,’ संयोजक लामाले भने । खेल शुक्रवार सकिएको हो ।

तस्बिर स्रोत गाउँपालिका फेस्बुक पेज ।