मन्थलीमा ‘मेयर कप’ को नाम परिवर्तन गरी ‘नगर कप’ राखियो, आइतवारदेखि ‘प्रथम नगर कप’ भलिबल प्रतियोगिता हुँदै

| फागुन ४, २०७९ बिहिबार

फाइल फोटो ।
A A A
A A A

४ फागुन, रामेछाप । मन्थली नगरपालिकामा आउँदो फागुन ७ गते आइतवारदेखि ‘प्रथम नगर कप पुरुष भलिबल’ प्रतियोगिता आयोजना हुने भएको छ । विगतका वर्षहरूमा ‘मेयर कप’ नामले हुँदै आएको प्रतियोगिताको नाम परिवर्तन गर्दै नगर कप बनाएको हो । नगर खेलकुद विकास समितिको बैठकले ‘मेयर कप’ भन्दा ‘नगर कप’ राम्रो रहेको निष्कर्ष निकाल्दै ‘नगर कप’ बनाएको  नगरको महाशाखा प्रमुख एवं सूचना अधिकारी हेमन्त बुढाथोकीलेबताए । 

 

मन्थली नगर खेलकुद विकास समितिद्वारा आयोजना हुन लागेको नगर कपमा नगरभित्रका १४ वटा वडा बाट १–१ टिम गरी कूल १४ टिमको सहभागिता रहने नगरपालिकाका सूचना अधिकारी बुढाथोकीले  रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

फाल्गुन ९ गते मङ्गलवार सम्म चल्ने प्रतियोगिता जिल्ला समन्वय समिति पछाडिको मैदानमा खेलाइने छ । भोलि शुक्रवार दिउँसो १ बजे सम्म खेलाडीहरूको नामावली पठाउन नगर खेलकुद विकास समितिले निर्देशन दिएको छ । 

 

यसरी खेलमा भाग लिने खेलाडीहरू मन्थली नगरपालिका भित्रकै आ–आफ्नै वडाको हुनु पर्ने छ । १४ टिमले प्रतिस्पर्धा गर्ने खेलमा प्रथम हुनेले नगद १ लाख सहित ट्रफि र प्रमाणपत्र, द्वितीय हुनेले ७५ हजार ट्रफि र प्रमाणपत्र पाउने छन् । 

 

त्यस्तै तृतीयले ५० हजार र सान्त्वनाले नगद ३० हजार सहित प्रमाणपत्र पाउने सूचना अधिकारी बुढाथोकीले बताए । यस अगाडि नगरले पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न गरेको छ ।