५० प्रतिशत अनुदानमा किसानले पाए ‘बोयर’ जातका पाठा पाठी

| फागुन ६, २०७९ शनिबार

A A A
A A A

६ फागुन, रामेछाप । कृषि र पशुपालनलाई आधुनिकीकरण तर्फ प्राथमिकताका साथ काम गर्दै आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई रामेछापले उन्नत जातका पाठा-पाठी वितरण गरेको छ । आयोजनाले ५० प्रतिशत अनुदानमा किसानलाई व्यावसायिक तर्फ डोहोर्याउने उद्देश्यले स्थापना कालदेखि निरन्तरता दिँदै आएको हो । चालु आर्थिक वर्षमा परियोना कार्यालयले जोन क्षेत्रमा एक सयको हाराहारीमा बोयर जातका बाख्रा हस्तान्तरण गर्ने तयारी छ । 

 

आठ स्थानीय तह रहेको रामेछापलाई जोन क्षेत्रमा विभाजन गरी कृषि, आलु र जुनार तथा सुन्तला जोन निर्धारण गरेको परियोजनाले पछिल्लो समय कृषि औजार तथा उपकरण ५० प्रतिशत अनुदानमा प्रदान गर्दै आएको छ । सोही अनुसार शनिवार आज परियोजनाको कार्यालयबाटै बाख्रा जोन क्षेत्रका किसानलाई पशु नस्ल सुधार कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा ‘बोयर’ जातका ३१ वटा बोका तथा पाठी किसानलाई हस्तान्तरण गरिएको परियोजनाका सूचना अधिकारी बेदराज काफ्लेले जानकारी दिए । ‘७५ प्रतिशत बोयर जातका उन्नत पाठा पाठी हुन् । नस्ल सुधारको लागि वितरण गरेका हौँ काफ्लेले भने ।’ 

उनका अनुसार बोका २२ वटा र ९ वटा पाठी किसानलाई हस्तान्तरण गरिएको हो । परियोजना कार्यालयले सुनापति, खाँडादेवी र मन्थली नगरपालिकालाई बाख्रा जोन क्षेत्र तोकेको छ । यी जोन क्षेत्रका किसानलाई पाठा पाठी वितरण गरिएको परियोजना प्रमुख थिरलाल गैरेले बताए । परियोजना प्रमुख गैरेले भने ‘व्यवसायीक रूपमा बाख्रा पालन गरेका कृषकहरूलाई मात्रै हामीले प्रक्रिया र स्थलगत निरीक्षणपछि मापदण्डको आधारमा दिएका हौँ । यसको गलत हुन दिँदैनौँ ।’

 

परियोजनाले दर्ता गरेका कृषि फार्म, समूह र सहकारी समूहलाई वितरण गरेको प्रमुख गैरेले जानकारी गराए । उन्नत जातको बोका पाठी वितरण, खोर निर्माण, घाँसे खेतीको लागि बिउ वितरण, पानी पोखरी निर्माणमा परियोजनाले काम गर्दै आएको उनले सुनाए । 

पाठापाठी वितरण कार्यक्रम, सबै तस्बिर स्रोत,परियोजना कार्यालय फेस्बुक । 

बागमती प्रदेशका सांसद आनन्द श्रेष्ठ, जिल्ला समन्वय समिति रामेछापका उपप्रमुख प्रेम सागर थापा, मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठ सहितको उपस्थितिमा माग गरेका किसानलाई पाठा पाठी दिँदै आगामी दिनमा यहाँबाट उत्पादन भएका पाठा पाठी निर्यात गर्न सक्नु पर्नेमा परियोजना प्रमुख गैरेले जोड्  दिए । 

 

परियोजनाले यस अगाडि आलु जोन र सुन्तला जोन क्षेत्रका किसानलाई पनि कृषि औचार तथा उपकरण अनुदानमा प्रदान गरेको थियो । यसरी ५० प्रतिशत अनुदानमा औजार तथा उपकरण, पाठापाठी पाएपछि किसान पनि खुसी भएका छन् ।