मन्थलीमा ‘प्रथम नगर कप’ भलिबल सुरु, मेयर श्रेष्ठले दिए ‘नगर कप’ बनाउनुको स्पष्टोक्ति

| फागुन ७, २०७९ आइतबार

A A A
A A A

७ फागुन, रामेछाप । जिल्ला सदरमुकाम समेत रहेको मन्थलीमा ‘मेयर कप’ बाट ‘नगर कप’ बनाइएको ‘प्रथम नगर कप’ आज आइतबार देखि सुरु भएको छ । जिल्ला समन्वय समितिको पछाडिको मैदानमा नगरपालिका भित्रका १४ वटै टिमको सहभागितामा तीन दिने खुल्ला पुरुष भलिबल प्रतियोगिताको उद्घाटन भएको हो । 

 

नगरपालिका प्रमुख लब श्रेष्ठले आज ७३ औँ राष्ट्रिय प्रजातन्त्र दिवस समेत परेको दिन आयोजित भलिबल प्रतियोगिताको उद्घाटन गरेका हुन् । नगर खेलकुद विकास समितिका अध्यक्ष गोपाल माझीको अध्यक्षतामा सुरु भएको भलिबल प्रतियोगिता उद्घाटन गर्दै नगर प्रमुख श्रेष्ठले अनुशासन भित्र रहेर खेल खेल्न खेलाडीलाई आग्रह गरे । आफूहरू निर्वाचित भएर आएपछि खेलकुद क्षेत्रको बारेमा छलफल गरेको र विगतमा ‘मेयर कप’ बाट हुँदै आएको खेलको नाम परिवर्तन सबैलाई समेट्ने उद्देश्यले गरेको बताए । ‘मेयर कप’ एक व्यक्तिको जस्तो देखिन्छ । तर, ‘नगर कप’ भनेको १४ वटै वडाका वडा बासीको मर्म र भावना समेटिने शब्द भएकाले ‘नगर कप’ बनाइएको हो ।’ 

 

यो एक राष्ट्रपति रनिङ शिल्ड जस्तै प्रतियोगिता भएको भन्दै शिल्ड जित्नको लागि लगातार ३ पटक जित्ने वडाले शिल्ड जित्ने बताए । नाम परिवर्तनलाई अन्य तरिकाले विश्लेषण गर्नुको औचित्य नरहेको उनको जिकिर छ । 

मन्थली नगरपालिका मेयर लब श्रेष्ठले दिए `मेयर कप´बाट `नगर कप´ बनाउनुको स्पष्टीकरण

त्यस्तै उपप्रमुख ईश्वरी बस्नेतले पनि अनुशासन खेलाडीको अर्को महत्पूर्ण गहना रहेको भन्दै यसलाई पूर्ण पालना गरेर खेल्न आग्रह गरिन् । उनले यस अगाडि पनि राष्ट्रपति रनिङ शिल्ड लगायतका खेल सम्पन्न गरेको स्मरण गर्दै राम्रो नतिजा निकाल्ने गरी खेल्न जोड् दिइन् । 

खेलमा सहभागी खेलाडीहरु, तस्बिर मिलन घिमिरे/ रामेछाप टाइम्स । 

१४ वटै वडाका वडा अध्यक्षहरु, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि सहितको उपस्थिति रहेको खेल कार्यक्रमलाई सम्बोधन गर्दै रामेछापका प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले ७३ औँ प्रजातन्त्र स्थापना दिवसको शुभकामना दिए । उनले उत्कृष्ट खेल प्रदर्शनी गरेर आफ्नो वडाको नाम राख्न खेलाडीलाई आग्रह गरे । 

 

१४ टिम सहभागी खेलमा प्रथम हुनेले नगद १ लाख सहित ‘नगर कप’ को शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र हासिल गर्ने छन् । द्वितीय हुनेले नगद ७५ हजार ट्रफि, मेडल र प्रमाणपत्र जित्ने  नगर खेलकुद समितिका अध्यक्ष माझीले बताए । 

 

त्यस्तै तृतीय हुने टिमले नगद ५० हजार र सान्त्वनाले नगद ३० हजार सहित प्रमाणपत्र पाउने देवेन्द्र श्रेष्ठले रामेछाप टाइम्सलाई बताए । पहिलो खेल मन्थली १ र २ बाट सुरु भएको छ । खेल जारी छ ।