मन्थलीमा सुरु भएको ‘प्रथम नगर कप’ भलिबलमा वडा अध्यक्षनै मैदानमा

| फागुन ७, २०७९ आइतबार

A A A
A A A

७ फागुन, रामेछाप । मन्थलीमा ‘प्रथम नगर कप’ सुरु भएको छ । १४ वटा वडाका १–१ टिम सहभागी यो खेल रोचक बनेको छ । किन कि ? यो खेलमा जन निर्वाचित वडा अध्यक्ष नै खेलाडी बनेर मैदान उत्रिएका छन् । 

 

गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा वडा नं २ मा नेकपा एमालेबाट निर्वाचित बनेका वडा अध्यक्ष सुरेन्द्र बहादुर कार्की पनि मैदानमा छन् । १४ टिमका धेरै जसो खेलाडी युवा, विद्यार्थी र अन्य पेसामा आबद्ध युवाहरू हुँदा वडा नं २ को टिमका भने वडा अध्यक्ष आफै खेलाडी भएर खेली रहेका छन् । 

 

वडा नं २ टेकानपुरको भलिबलको टिममा २ नम्बरकै जर्सी लगाएर युवा वडा अध्यक्ष कार्की मैदान उत्रिएका हुन् । उनी विगत देखिनै भलिबल खेल्ने गर्थे । यसैले पनि यो पटक वडाको भलिबल टिममा समावेश भएरै प्रथम ‘नगर कप’ भलिबल खेलेका हुन् । 

(आज) आइतबार देखि सुरु भएको भलिबल प्रतियोगिता तीन दिन सम्म चल्ने छ । पहिलो खेल वडा नं १ मन्थली र २ टेकानपुर बिच भएको छ । जसमा वडा अध्यक्ष कार्कीको टिम १ सँग पराजित भएको छ । वडा अध्यक्ष कार्कीलाई मैदामा देख्दा दर्शकहरूले रोचकताका साथ खेल हेर्ने गरेका छन् । साथै उनले बल बिगार्दा दर्शकमाझ हाँसोमय बनेको देखियो । भने, राम्रो प्रहार भएमा हुटिङ, खुसीयाली साट्ने गरेका छन् । 

२, नम्बरको जर्सीमा वडा अध्यक्ष कार्की मैदानमा, तस्बिर मिलन घिमिरे रामेछाप टाइम्स।

यो समाचार तयार पार्दा सम्म वडा नं ५ सुनारपानी र १४ फुलास बिच खेल जारी छ ।