पौडी खेल्ने क्रममा सुनकोशीमा डुब्दा खिम्तीका आर्यन ४ दिन देखि बेपत्ता

| फागुन ८, २०७९ सोमबार

A A A
A A A

८ फागुन, रामेछाप । पौडी खेल्ने क्रममा सुनकोशी नदीमा डुब्दा रामेछापको लिखु तामाकोशी गाउँपालिका ६ खिम्तीका एक युवा चार दिन देखि बेपत्ता भएका छन् । उनीको खोजी कार्य जारी रहेको प्रहरीको भनाई छ । 

 

बेपत्ता हुनेमा खिम्तीका ३२ वर्षीय तीर्थ श्रेष्ठ (आर्यन) रहेको उनको पारिवारिक स्रोतले जनाएको छ । उनी सिन्धुलीको पिक्कल गाउँपालिका वडा नं ५ झगरे बेसी स्थित सुनकोसी नदीमा पौडी खेल्ने क्रममा नदीमा डुबेर बेपत्ता भएका हुन् । 

 

गत शुक्रवार दिउँसो साढे १ बजेदेखि बेपत्ता भएका उनको हाल सम्म पनि भेटिएका छैनन् । इलाका प्रहरी कार्यालय सिन्धुलीले खोजी गरिरहेको जनाएको छ । लामो समयदेखि काठमाडौँ बसोबास गर्दै आएका उनी घुम्नलाई हिँडेका थिए । 

 

सिन्धुली प्रहरीले उनी प्रदेश ३–०२–००५ प ६४७४ नम्बरको मोटरसाइकलमा सोलुखुम्बुको नेचासल्यान गाउँपालिका वडा नं २ घर भएका २० वर्षीय सुमन बस्नेतसँगै काठमाडौँबाट आएको जनाएको छ । 

 

प्रहरीले श्रेष्ठ घटना भएकै स्थानमा पानीमा डुबेको हुन सक्ने भएकाले निकाल्नका लागि गोताखोर टोली आवश्यक देखिएको जनाएको छ । श्रेष्ठको परिवारले भने छिटो भन्दा छिटो खोजी गरेर सहयोग गर्न आग्रह गरेको छ ।