१० औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि मन्थलीले उचाल्यो

| फागुन १२, २०७९ शुक्रबार

A A A
A A A

१२ फागुन, रामेछाप । लिखु तामाकोशीको सैपु फेदीमा भएको १० औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि मन्थली नगरपालिकाले उचालेको छ । सुरुवात देखि अग्रता बनाएको मन्थलीले आज सम्पन्न खेल सम्म पनि आफ्नो अग्रता जोगाउन सक्दा १० औँ राष्ट्रपति रनिङ शिल्डको उपाधि जितेको जिल्ला खेलकुद विकास समितिका खेल संयोजक एवं राष्ट्रिय खेलकुद परिषद् तर्फका हिमालय योञ्जनले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

उनका अनुसार मन्थली नगरपालिकाले जिल्लाको पुरानो सदरमुकाम रामेछाप नगरपालिकालाई पछि पार्दै उपाधि हाँसिल गरेको हो । योसँगै उसले नगद ५० हजार सहित १० औँ राष्ट्रपति रनिङ शिल्डको ‘शिल्ड’, ट्रफि, मेडल र प्रमाणपत्र पाएको छ । 

 

खेलाडी सहित करिब एक सय जनाको हाराहारीमा त्यस तर्फ गएका मन्थलीका खेलाडीले ३३ स्वर्ण पदक सहित ७० पदक जितेका हुन् । 

त्यस्तै दोस्रो भएको रामेछाप नगरपालिकाले ६ स्वर्ण सहित ३५ पदक जितेको छ । उसले नगद ३० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ । 

 

त्यस्तै मार्च पासमा प्रथम भएको खाँडादेवी गाउँपालिका तृतीय भएको छ । उसले ३ स्वर्ण पदक सहित १७ पदक जित्दै नगद २० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र पाएको योञ्जनले जानकारी दिए । 

 

जिल्लाका आठ वटै स्थानीय तहको सहभागिता रहेको तीन दिने प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, तेक्वान्दो, उसु र कराँते गरी ६ विधामा छात्रा र छात्र दुवैको प्रतिस्पर्धा गरेका थिए ।