भाइरल टुङ्ना,डम्फु, झाँक्रीको प्रतिमा : कुनै चन्दा उठाएर बनाइयो,लाखौँको योजना भनेर गलत प्रचार, यसो भन्छ पालिका (भिडिओसहित)

| फागुन १३, २०७९ शनिबार

A A A
A A A

१२ फागुन, रामेछाप । रामेछापमा बनेका मानव निर्मित संरचनालाई लिएर सामाजिक सञ्जालमा नकारात्मक टिका–टिप्पणी हुने क्रम बढ्दै गएको छ । केही समय अगाडि रामेछाप नगरपालिका वडा नं ८ स्थित बिटार पार्कमा रहेको महाकवि लक्ष्मी प्रसाद देवकोटाको अर्धकदको सालिक निर्माणमा लाखौँ हिनामिना भएको आशङ्का सहित गरिएको गलत प्रचारको घटना सेलाउन नपाउँदै फेरी सुनापति गाउँपालिका भित्र बनेका विभिन्न धार्मिक तथा सांस्कृतिक आस्थाका संरचनालाई लिएर गलत प्रचारप्रसारले तीव्रता पाएको हो । 

 

सामाजिक सञ्जालमा यती बेला देशभरिका प्रयोगकर्ताले सुनापति गाउँपालिका भित्र निर्मित टुङना, डम्फु, मादल र (नरोत्तम) धामी झाँक्रीको प्रतिमालाई लिएर नकारात्मक टिका–टिप्पणी चर्को रूपमा गरिरहेका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यस्ता संरचनाको प्रचारप्रसार स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूले बजेटको सही सदुपयोग गर्न नसकेर यसरी दुरुपयोग गरेको धारणा राखेको पाइन्छ । प्रयोगकर्ताले यस्ता धारणा र विचार राखेर निर्मित यी संरचनाहरूको निर्माणमा निरुत्साहित गर्नु पर्ने भनाई सहित तस्बिर भाइरल गर्ने गरेको पाइन्छ । 

 

तर, कतिपय ठाउँमा स्थानीय जनताले चन्दा उठाएरै धर्म, संस्कृतिको बचाऊ, पहिचान र संरक्षण गर्ने उद्देश्यले बनाएका प्रतिमा तथा त्यस्ता संरचनालाई गाउँपालिकाको लाखौँ रकम गलत प्रयोग भएको भनेर प्रचारप्रसार गरेको पाइएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले लेखेका वा देखाउन खोजेका धेरै जसो यथार्थ नबुझेरै प्रचार गर्ने गरेको पुष्टि हुन्छ । 

पालिका अध्यक्ष ठूलो कान्छा तामाङ र उपाध्यक्ष गीता बिष्ट, तस्बिर फाइल 

निर्मित संरचनाहरूको निर्माण पक्रिया र लागत खर्चलाई लिएर भाइरल गरिने गरिएको त्यस्ता संरचनाको यथार्थ भने फरक रहँदा, रहँदै पनि प्रचारकर्ताले भने गलत नै सही हो, भनेर तुजुकका साथ प्रचारमा जुटेको देखिन्छ । यथार्थ, नबुझी भ्रम छर्नु कति सान्दर्भिक हुन्छ त्यो जिम्माको ?

 

यसै विषयमा रामेछाप टाइम्सले गरेको अनुसन्धान एवं सोधपुछबाट पुष्टि के पुष्टि हुन्छ भने, सुनापति गाउँपालिकामा बनेका संरचना बाहिर भाइरल बनाइएको तथ्य भन्दा फरक छ । चालु आर्थिक वर्ष २०७९÷८० को कूल ५ लाख लागतमा गॉउपालिकाको वडा नं ४ हिलेदेवीमा बनेको मादलको प्रतिमालाई सामाजिक सञ्जालमा रु १० लाखमा बनाएको भनेर प्रचारप्रसार गरिएपछि पालिकाले आपत्ति जनाएको छ ।

 

पालिका अध्यक्ष ठुलो कान्छा तामाङले यस्तो हुँदै नभएको कुराको भ्रम फिँजाएर पालिकाको बेइज्जत गरेको प्रति गम्भीर आप्पती जनाएका हुन् । ‘केही मान्छेहरू भ्रमको खेती नै गरेका हिँडेका छन् । उनीहरूको कामनै भ्रम फैलाएर हिँड्ने बनेको छ । यथार्थ कुरै नबुझी यसरी भ्रम फैलाएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण र आपत्ति छ । भोलि नै पालिकाको बैठक बसेर थप छलफल र आगामी कदम बारे केही निर्णय गर्दैछौँ ।’ 

 

धर्म, संस्कृतिलाई जोडेर पर्यटन प्रवर्द्धन गर्नको लागि योजना अगाडि बढाइएको जानकारी गराउँदै डम्फु र टुङ्ना पार्क १६ लाख र त्यहाँ घुम्न जानेहरूको लागि एउटा चिया पसल ४ लाखमा गरी कूल २१ लाख लागतमा बनेको अध्यक्ष तामाङले स्पष्ट परे । उनले सुनापतिमा पर्यटन प्रवर्द्धनको लागि बाहिर आएका मात्रै नभएर थुप्रै यस्ता संरचना निर्माणाधीन रहेको उनले जानकारी गराए ।

 

‘यहाँ ठुला–ठुला मूर्तिहरू बन्दै छन् । योजना परिसकेको छ । १०८ वटा माने बनेका छन् । महादेवको मन्दिर ६०÷७० लाखको बन्दै छ । चिया बगान सम्मको पुग्ने सेतो मच्छिन्द्र नाथको मन्दिर पनि बन्दै छ । हामी सुनापतिलाई एक संग्रालयलाईको रूपमा विकास गर्ने योजना लिएर अगाडी बढेका छौँ ।’ 

 

१० लाखमा बनेको भनेर भाइरल भएको ‘मादल’ मादल चौर नामका कारण यसको पहिचान भावी पुस्ता सम्म जोगाउन, त्यहाँको पहिचान दिन बनाएको उनको तर्क छ । ‘त्यो ठाउँको नाम मादल चौर हो । साथीहरूले यसलाई पहिचान दिऊ भन्नु भयो । माग आय र ५ लाखमा बनेको हो, नामसँग जोडिएकाले ५ लाख लागत छुटाएर मादल बनाएका हौँ ।’ 

डम्फुपार्क, तस्बिर स्रोत गाउँपालिका ।

त्यस्तै पालिकामै मगर समुदायको पहिचानको रूपमा रहेको खुर्पीको प्रतिमा बन्दै गरेको सुनाउँदै त्यसको लागि पनि बजेट व्यवस्थापन गरिएको बताए । आफूहरूले गरेका ठुला र जनमुखी कामको प्रचार नगर्ने तर, साना र यस्ता हुँदै नभएको कुरालाई आलोचना र भ्रम फैलाएर विकास विरोधी काम गरेको पालिका अध्यक्ष तामाङको ठहर छ । उनले पालिकाको बेइज्जत गरेको भन्दै गम्भीर आप्पती दोहोर्‍याए । 

ठूलो कान्छा तामाङ्, तस्बिर फाइल 

डम्फु गत वर्षकै १६ लाख लागतमा बनेको प्रस्ट्याउँदै छेउमा चिया पसल ४÷५ लाखको सहित २०÷२१ लाखमा सम्पन्न भएको हो । तत्काको लागि अनुत्पादक क्षेत्रमा लगानी गरेको स्वीकार गर्दै आफूहरूले कृषिदेखि हरेक ठाउँमा काम गरेको तर, अत्यावश्यक क्षेत्रको बजेट कटाएर मूर्तिमा लगानी नगरेको उनको भनाई छ । 

 

‘यो विल्कुल गलत हो । यसको लागि हामीले स्थानीयको मागको आधारमा कार्यपालिकाको निर्णयबाट कूल ५ लाख बजे छुटाएका हौँ, वडा नं ३ का वडा अध्यक्ष कुलबहादुर थिङ्ले पनि रामेछाप टाइम्ससंग भने । 

 

सामाजिक सञ्जालमा सक्रिय, देश तथा विदेशका समेत विविध विषयमा तिखो प्रहार गर्दै आएका भीम उपाध्यायले सुनापतिमा रु १० लाखमा बनेको मादल भनेर फेसबुकमा पोस्ट गरेपछि भने यसको गलत प्रचारले तीव्रता पाएको अध्यक्ष थिङ बताउँछन् । उपाध्यायले पोस्ट गरेको मादलको तस्बिर कहाँ बाट पाए, स्रोत केहो कुनै स्रोत उल्लेख गरेका छैनन् । तर, उनको भन्दा पहिले रामेछापकै एक युवाले सामाजिक सञ्जालमा १० लाखमा बनेको मादल भनेर पोस्ट गरेका थिए । पछि उनले त्यो पोस्टमा लेखेको स्ट्याटस भने ‘इडिट’ सच्याएका छन् । 

भिम उपाध्ययाले राखेको फेस्बुक पोस्ट । 

त्यस्तै सुनापतिकै वडा नं ३ मा गत आर्थिक वर्षमा बनेको तामाङ समुदायको डम्फु र टुङ्नाको पनि यसरी नै गलत तरिकाले प्रचार भएपछि यो गलत भएको अध्यक्ष थिङ बताउँछन् । ०७७÷०७८ को कूल १६ लाख बजेमा बनेको डम्फु र टुङ्नाको प्रतिमालाई रु ८० लाखमा बनेको ‘सालिक’ भनेर प्रचार गरिएपछि जसले जे गर्दा पनि हुने प्रवृत्ति बढेर गएकोमा चिन्ता व्यक्त गरे । उनले भने ‘व्यक्तिको रिसिवी, राजनीतिक वा अन्य कुनै कारणले हुन सक्छ । नत्र यस्तो गर्नु, भ्रम छर्नु कसैलाई फाइदा हुँदैन ।’

निकै अप्ठ्यारो ठाउँमा एउटा सानो घरसहित गत वर्षमा यो काम भएको अध्यक्ष थिङ्ले सुनाए । ‘ डम्फु पार्क बनेपछि सबै मान्छे जाने सेल्फी खिच्ने गरेका छन् । मानिसलाई एकै छिन भए पनि रमाइलो गर्ने ठाउँ भएको छ । स्थानीयको माग पनि हो । तामाङ समुदायको पहिचान पनि हो, त्यसैले बनाएका हौँ अध्यक्ष तामाङले भने ।’ 

 

तत्कालको लागि अनुत्पादक क्षेत्रमा लगानी गरेको स्वीकार गरेका वडा अध्यक्ष थिङ्ले पनि जनताको मागलाई सम्बोधन गर्नकै लागि पनि यस्ता संरचना बनाउनु परेको बताए । पर्यटन प्रवर्द्धन र धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण गर्ने उद्देश्यले निर्मित संरचनाहरूको यसरी नकारात्मक तरिकाले प्रचार गर्दा विकास निर्माणमा समेत अवरोध सिर्जना हुने वडा अध्यक्ष थिङको तर्क छ । 

वडा र पालिकामा स्थानीयको माग भएको र बुढा पुर्खाले पनि छाडेर गएका रीतिरिवाज र धर्म संस्कृतिको संरक्षण गर्न प्रतिमा बनाउनु नराम्रो नभएको उनी तर्क गर्छन् । सबैको आ–आफ्नो धर्म संस्कृतिको जगेर्ना गर्ने गरी यस्तो बनाइदिनु पर्‍यो भन्नु नराम्रो हैन, माग भएपछि जनप्रतिनिधि भएर हामीले उपेक्षामा गर्न पनि मिल्दैन ।’ 

 

त्यस्तै सुनापतिकै वडा नं १ गुन्सीमा स्थानीय युवाले त्यहाँकै स्थानीयहरूसँग चन्दा सङ्कलन गरेर बनाएको धामी झाँक्रीको प्रतिमालाई रु २० लाख लागतमा गाउँपालिकाले बनाएको भनेर प्रचार गरेपछि जनतामा भ्रम छर्ने काम भएको सोही वडाका वडा अध्यक्ष धुब्र चौलागाईले रामेछाप टाइम्ससंग बताए । 

भाइरल झांँक्री तस्बिर सामाजिक संजाल 

अध्यक्ष चौलागाईका अनुसार यो झाँक्रीको प्रतिमा स्थानीय युवाले स्थानीयहरूसँग चन्दा उठाएर गत वर्ष नै निर्माण गरेका हुन् । त्यसको संरक्षणको लागि तारबार गर्न भन्दै पालिकाले चालु आर्थिक वर्षको कूल ४ लाख बजेट छुटाइदिएको उनले पुष्टि गरे । ‘पहिले चन्दा उठाएर स्थानीय तामाङ समुदायका भाइले बनाएका हुन् । यो वर्ष हामीले यसको संरक्षणको लागि ४ लाख बजेट छुटाएका छौँ । त्यो लाखौँमा बनाएको भनेर प्रचार गर्नु सबै गलत हो ।’

 

पर्यटन प्रवर्द्धनैलाई प्राथमिकता दिँदै आएको यो पालिकाले चालु आर्थिक वर्ष  ०७९/८० कै २ लाखमा अर्को दोर्जे पार्क पनि बनाएको छ । तामाङ समुदायको बाहुल्यता भएको यो पालिकामा विभिन्न गुम्बा, बौद्ध, स्तुपाहरु पनि थुप्रै बनेका छन् । निर्माण हुने कुरा आवश्यकताको आधारमा गरिएको भन्दै गलत तरिकाले प्रचार गर्नु उपयुक्त नहुने बताउँछन् वडा नं १ का अध्यक्ष चौलागाई गाउँ ठाउँको सुन्दरता र पहिचानको लागि निर्माण गर्ने यस्ता संरचना अनुत्पादक देखिए पनि यसको फाइदा रहेको वडा अध्यक्षहरूको बुझाई छ । पालिका भित्र निर्मित यस्ता संरचना निर्माण गर्दा बजेटको दुरुपयोग नभएको अध्यक्षहरूले जिकिर गर्छन् । 

गुन्सीका अध्यक्ष पनि जिकिर गर्दै भन्छन् ‘झाँक्रीको प्रतिमामा पालिकाको लागत छैन । त्यसको संरक्षणलाई तारबार गर्नको भनेर १० लाख बजेट यो वर्ष पालिकाले छुटाएको उनको स्पष्टीकरण छ ।

 

शिक्षा, स्वास्थ्य, कृषि, पशु लगायतका सबै क्षेत्रमा बजेट लगानी भएको बताउँदै उनी पार्क र प्रतिमा निर्माण गर्न पनि गर्नु गलत नभएको दाबी गर्छन् ।