रामेछाप सहित देशका विभिन्न जिल्लामा पानी पर्योः मन्थलीमा ५/७ मिनेटमै टर्यो (फोटोफिचर)
१४ फागुन, रामेछाप । रामेछाप सहित देशका विभिन्न जिल्लामा यो वर्षको हिउँदे वर्षा पहिलो पटक आज भएको छ । आइतबार रामेछापको सदरमुकाम मन्थली, यहाँका स्थानीय तह सहित देशका विभिन्न जिल्लामा पानी परेको हो । केही ठाउँमा असिना सहित परेको पानीले सवारी आवतजावतमा सामान्य अवरोध समेत पुर्याएको छ ।
हिउँद महिना सकिन लाग्दा बल्ल पानी परेपछि किसान सहित सबै खुसी भएका छन् । पानी नपर्दा धुलो,धुवाँ र तुवाँलोले दिक्क भएकाहरू शीतल महसुस गरेका छन् । उच्च हिमाली क्षेत्रमा सामान्य हिउँ समेत परेको छ ।
मन्थली आसपासमा साँझ ५ बजेदेखि करिब ५/७ मिनेट छिट्फूट् रूपमा मात्रै पानी पर्यो । हावाहुरी बेस्सरी चल्दा केही समय यहाँको आकाश धुलाम्मे देखिएको थियो । बेस्सरी हावा चल्दा पानी भने पर्न नसकि टर्यो । मन्थली आसपासमा पानी रोकिकसेको छ । मन्थलीमा बर्खा सकिएपछि पहिलो पटक पानी परेको हो ।
उमाकुण्ड गाउँपालिकामा अपराह्न ४ बजेदेखि वर्षा भइरहेको छ । पानी परेपछि केही चोसो भएको र हिउँदे बालीलाई राहत भएपछि किसान सुखी भएका छन् ।
उता काठमाडौँ उपत्यकाको भक्तपुर, ललितपुर, कीर्तिपुर, साँखुलगायतका क्षेत्रमा पनि पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् बिनु महर्जनले बताइन् ।
पश्चिमी वायुको प्रभावका कारण आज देशैभरका पहाडी क्षेत्रमा मौसम बदली भएको छ ।