रामेछापमा सांस्कृतिक कार्यक्रम गरी मनाइयो मगर स्थापना दिवस (फोटोफिचर)

| फागुन १५, २०७९ सोमबार

A A A
A A A

१५ फागुन, रामेछाप । नेपाल महिला मगरसंघ रामेछापले ४१ औँ मगर स्थापना दिवस मनाएको छ । आज सोमबार मन्थलीमा एक सांस्कृतिक कार्यक्रमको आयोजना गरी दिवस मनाएको हो । देशभरी सोमबार ४१ औं मगर स्थापना दिवस मनाइँदै छ । केही स्थानीय तहहरुले आज सार्वजनिक बिदा समेत दिएका छन् । 

 

मगर भेष भूषा सहित उपस्थित भएका मगर महिला संघ रामेछापका वडा, पालिका र नगर समिति सहित जिल्ला कार्यसमितिले मगर जातिका गीत, सङ्गीतमा जातीय नृत्य र शुभकामना आदानप्रदान गरी दिवस मनाएका हुन् । 

सोही दिवसको कार्यक्रममा शुभकामना दिँदै जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्का (कार्की) ले मगर समुदायको यो कार्यक्रमले सबैले जाति विशेष पहिचानको बारेमा बुझाउन सहयोग पुगेको बताइन् । उनले पछिल्लो समय महिलाहरू पनि जिल्लाका विभिन्न संघ संस्था मार्फत चलायमान हुन थालेकोमा खुसी व्यक्त गर्दै महिलाहरूले नेतृत्व गर्न अग्रसर हुनु पर्नेमा जोड् दिइन् । 

अझै पनि महिलाहरू नेतृत्वमा आएर काम गर्न चुनौतीहरू धेरै रहेको तर्क गर्दै चुनौतीको सामना गरेर अगाडि बढ्ने सुझाइन् । त्यसको लागि आफूले गर्नु पर्ने सहयोगको लागि सधैँ तयार रहेको उनको प्रतिबद्धता छ । स्थानीय तहहरूले काम गर्ने जोसुकैलाई पनि सहयोग गर्नु पर्नेमा उनको जोड् छ । 

त्यस्तै मन्थली नगरपालिकाकी उपप्रमुख ईश्वरी बस्नेतले संघले गरेको कामको प्रशंसा गर्दै भोलिका दिनमा सहकार्य गरेर काम गर्न तयार रहेको प्रतिबद्धता जनाइन् । 

उनले सङ्घकी जिल्ला अध्यक्ष तारारैका मगर हरेक काम गर्न सक्षम रहेको भन्दै आगामी दिनमा नगरभित्र जातीय र भाषिक तर्फबाट छुट्टिने बजेटबाट सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाइन् । संघले गरेका कामहरू छिमेकी जिल्लामा समेत चर्चा भएको सुनाउँदै समुदायको भेष भूषा, रहनसहन सबैको संरक्षण गर्नु पर्ने तर्क गरिन् । 

 

संघकी अध्यक्ष मगरले सबैसँग समन्वय गरेर काम गरेको स्मरण गर्दै सबैलाई समेट्ने कोसिस रहेको बताइन् । संघ बाहिर रहेका समितिहरूलाई एकै ठाउँमा ल्याएर आगामी दिनमा थप बलियो बनाएर लैजान खोजेका छौँ । यसमा सबैको सहयोग र सहकार्य चाहिएको छ मगरले भनिन् । 

कार्यक्रमको हलमा उपस्थिति सङ्ख्यालाई हेर्दै आगामी दिनमा भव्य कार्यक्रम गर्ने योजना सुनाइन् ।