जिल्ला प्रशासनले लागू गरेको ‘टाइम कार्ड’ को सही सदुपयोग नभएको गुनासो

| फागुन १६, २०७९ मंगलबार

A A A
A A A

१६ फागुन, रामेछाप । जिल्ला प्रशासन कार्यालयले लागू गरेको ‘टाइम कार्ड’ सहित तरिकाले प्रयोग नभएको भन्दै सेवाग्राहीले गुनासो सहित आक्रोश व्यक्त गरेका छन् । अहिले प्रशासन कार्यालय रामेछापमा नागरिकता, राष्ट्रिय परिचय पत्र, राहादानी बनाउने सहितको प्रशासनिक सेवा लिनेको भिडभाड छ । यसले पनि केही सेवाग्राहीले भनेको समयमा सेवा लिन सकेका छैन । दिन भरी लाइनमा बस्नु पर्ने बाध्यता भएपछि सेवाग्राहीहरू हैरान बनेका हुन् । 

 

प्रशासनिक कामले त्यहाँ पुगेकाहरू लामो लाइनका कारण दिन त्यही बित्न थालेपछि गुनासो गर्न थालेको देखिन्छन् । शारीरिक रूपमा अशक्त, अपाङ्गता भएका व्यक्ति, महिला, वृद्धवृद्धाहरुको लागि लाइन नबसी सहज सेवा दिने नाममा आफूहरूको तत्काल हुनु पर्ने काम हुन नसक्दा समस्या देखिएको सेवाग्राहीको तर्क छ ।

 

‘१० बजे पेस गर्नेको पालो आएको हुँदैन तर, १२ बजे पेस गर्नेको पालो पहिले नै आउँछ । समस्या सबैको हुन्छ लाइनमा बसेकाहरू धेरैको बोली सुनिन्थ्यो ।

 

आइतबार नागरिकता सच्याउन गोकुलगंगाबाट आएकी ७० वर्षीय डम्मर कुमारी कार्कीले प्रशासनको ‘सिस्टम’ कमजोर बताइन् । उनले भनिन् ‘बिहान १० बजेदेखि पालो कुरेर बसेको बेलुका ५ बजेसम्म पालो आएन । खर्च पनि कम छ । यहाँ बस्न, खान खर्च अभाव छ । एकै दिनमा काम हुन्छ भएर आएको भएन ।’

 

सोही पालिकाको वडा नं १ चुचुरेबाट आएकी मिठु मायाको पनि समस्या उस्तै छ । उनले पनि दिन भरी लाइन बस्दा पनि आफ्नो काम नभएको सुनाइन् । प्रशासनले सेवाग्राहीको सहजताको लागि टाइम कार्ड लागू गरेको छ । तर, त्यसको पनि सही तरिकाले प्रयोगमा नआएको उनीहरूको भनाई छ । 

 

सोही दिन खाँडादेवी गाउँपालिकाबाट आएका भक्त कुमारी कार्कीले पनि बोल्नेको पिठो बिक्ने गरेको तर, नबोल्नेको चामल पनि नबिक्ने रहेछ भन्दै गुनासो गरिन् । सोही पालिकाको वडा नं २ की कान्ति रायमाझीले नागरिकताको प्रतिलिपि बनाउन बिहान सवा १० बजे ३ नम्बरमा पेस गरेको साँझ ५ बजे पनि पालो आएन भनिन् । 

 

अर्का सेवाग्राही यमबहादुर कार्कीले पनि प्रशासनले भिडभाड कम गर्न कामलाई थप सहजता बनाउन नसकेको बताए ।

 

अहिले उमाकुण्ड गाउँपालिका र गोकुलगंगा गाउँपालिकामा वडा–वडामै पुगेर राष्ट्रिय परिचय पत्र बनाउने काम भइरहेको छ । अब अन्तिम अन्तिम चरणमा पुगेको प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले रामेछाप टाइम्सलाई बताए । ‘आइतबार उमाकुण्ड र गोकुलगंगाबाट गाडी रिजबै गरेर धेरै आउनु भयो हामीले राति ९ बजेसम्मै २ सय बढी प्रतिलिपि वितरण गर्‍यौँ । तर, अहिले भिड छैन । हामीले टाइम कार्ड अनुसार काम गरेका छौँ ।’

 

प्रजिअ रेग्मीका अनुसार राष्ट्रिय परिचय पत्र वितरणको कारण नागरिकता सच्याउने, प्रतिलिपि लिनका कारण केही भिड भए पनि अब त्यो अन्त्य भएको स्पष्ट परे ।