‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार-२०७९’बाट रामेछाप र दोलखाका ३-३ जना कृषक सम्मानित, उत्पादित सामाग्री नबिकेको गुनासो

| फागुन १८, २०७९ बिहिबार

A A A
A A A

१८ फागुन, रामेछाप । ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार–२०७९’ बाट रामेछाप र दोलखाका ३–३ जना कृषक सम्मानित भएका छन् । लामो समयदेखि व्यावसायिक र दीर्घकालीन रूपमा कृषि पेसामा सक्रिय भएर लागेका कृषकहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले गरिँदै आएको यो सम्मान किसानको लागि उत्कृष्ट पुरस्कार हो । गत आर्थिक वर्ष २०७७÷७८ मा यो पुरस्कारबाट ४ जना सम्मानित भएका थिए । 

 

बिहीबार कृषि ज्ञान केन्द्र रामेछापको सभा हलमा रामेछापबाट निर्वाचित बागमती प्रदेशका सांसद आनन्द श्रेष्ठ, जिल्ला समन्वय समितिकी रामेछापकी प्रमुख चिना खड्का (कार्की), उपप्रमुख प्रेमबहादुर थापा र ज्ञान केन्द्रकी प्रमुख निर्मला गुरुङले उत्कृष्ट कृषकहरूलाई संयुक्त रूपमा प्रति किसान नगद १० हजार सहित प्रशंसा पत्र दिएर सम्मान गरेका हुन् । 

 

व्यावसायिक एवं आधुनिक तरिकाले कृषि पेसा गर्दै आएकाहरूलाई विगत देखिनै यसरी सम्मान गरिँदै आएकोमा यो वर्ष दुई जिल्लाबाट छनोट भएका ३–३ जना गरी ६ जना कृषकले यो सम्मान पाउन सफल भएको ज्ञान केन्द्रकी प्रमुख गुरुङ्ले बताइन् । 

जसमा रामेछापबाट उमाकुण्ड गाउँपालिका वडा नं २ बाम्तीभण्डारका साङ्गे लामा, दोरम्बा शैलुङ गाउँपालिकाको वडा नं ७ का कवीन्द्र कुमार मोक्तान र मन्थली नगरपालिका वडा नं ९ पुरानागाउँका शिवरण बोहरा नगद र सम्मान पत्रले सम्मानित भएका छन् । उनीहरू लामा चौर गाई, मोक्तान मौरी पालन र बोहरा एकीकृत खेती गरेर सम्मानित भएको ज्ञान केन्द्रकी कृषि अर्थ विज्ञ शर्मिला फुयाँलले बताइन् । 

 

त्यस्तै दोलखाको जिरी नगरपालिका वडा नं ७ का किरण बहादुर खड्का, शैलुङ गाउँपालिका ३ का नारायण श्रेष्ठ र कालिन्चोक गाउँपालिका वडा नं ६ का बलबहादुर थामी सम्मानित भएका हुन् । खड्का किवी खेती, श्रेष्ठ तरकारी खेती र थामी बाख्रा पालन गरेर सम्मानित भएका ज्ञान केन्द्रकी सूचना अधिकारी समेत रहेकी फुयाँलले जानकारी गराइन् । 

 

यो वर्ष उत्कृष्ट राष्ट्रपति कृषक पुरस्कार लिन दाबी गर्नेहरूको सङ्ख्या उल्लेख मात्रमा रहेको बताउँदै यो पुरस्कारलाई ग्रहण गरेर कृषिमा थप अग्रसर भएर लाग्न ज्ञान केन्द्रकी प्रमुख गुरुङले जोड् दिइन् । यो कार्यक्रम केही महिना अगाडि नै गर्नु पर्ने कार्यक्रम रहेको जानकारी गराउँदै प्राविधिक कारणले ढिला भएको स्विकारिन् । 

 

उत्पादित वस्तु नबिकेको किसानको गुनासो 
मन्थली ९ का किसान शिवरण बोहरा

सम्मान कार्यक्रममा बोल्दै रामेछाप मन्थली ९ का किसान शिवरण बोहराले आफूरुले उत्पादन गरेका उत्पादित वस्तुहरूले बजार पाउन नसकेको सुनाए । उनले कृषि पेसा गर्नेलाई राज्यले पछिल्लो समय सहयोग गर्दै आएकोमा खुसी व्यक्त गर्दै भने ‘उत्पादन भएका सामान बिक्री गर्ने मैले धेरै दुःख भोगेको छु । कतिपय सामान मैले प्रहरी, सिडिओ, जनप्रतिनिधिको पावरमा बेच्नु पर्ने अवस्था छ । त्यो समस्या हटेदेखि हामीले उब्जाएका तरकारी, फलफूल, खसी बाख्रा सजिलै बिक्री भए राम्रो हुन्थ्यो त्यो बनाइदिनु पर्‍यो ।’

 

त्यस्तै दोलखाका किसानको पनि पीडा उस्तै छ । दोलखाका सम्मानित भएका किसान नारायण श्रेष्ठले उत्पादन भएका वस्तुहरू बिक्री नभएको सुनाए । मैले किवी उत्पादन गर्दै आएको छु । तर, सजिलै बिक्री हुँदैन । समस्या छ । हाम्रा उत्पादनले बजार पाउन सकेका छैन । यसमा सरकारको ध्यान जानु पर्छ । हाम्रा उत्पादन खेर नजाओस् । सजिलै देश तथा विदेशमा बिक्री गर्न पाइयोस् ।’

 

कार्यक्रममा बोल्दै प्रदेश सांसद श्रेष्ठ र समन्वय प्रमुख खड्काले किसानको समस्यालाई समाधान गर्ने गरी काम गरी रहेको र आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने आश्वासन दिए । किसानले उत्पादनमा जोड् दिनु पर्ने उल्लेख गर्दै स्थानीय, प्रदेश र सङ्घबाट सक्दो सहयोग गर्ने बचन दिए ।

 

भिडिओ  हेर्नुहोस् ज्ञान केन्द्रकी प्रमुख गुरुङले के के भनिन् ।