रामेछाप उद्योग वाणिज्य संघको अध्यक्ष पदमा उम्मेदवारी दिएका घिमिरेले लिए उम्मेदवारी फिर्ता, थापामगरको टिमलाई समर्थन

| फागुन २१, २०७९ आइतबार

A A A
A A A

२१ फागुन,रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको अध्यक्ष पदको लागि स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गरेका केशव प्रसाद घिमिरेले उम्मेदवारी फिर्ता लिएका छन् । उनले अब नवीन थापामगरको टिमलाई समर्थन गर्ने घोषणा गरेका हुन् । यस अगाडि घिमिरेसहित तीन जनाको उम्मेद्वारी दर्ता भएको थियो । 

 

गत १९ गते स्वतन्त्र रूपमा अध्यक्ष पदका लागि दर्ता गरेको उम्मेदवारी फिर्ता लिएसँगै अब नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र निकट व्यवसायीको टिम र एमाले निकट व्यवसायी बिच १४ पदको लागि प्रतिस्पर्धा हुन भएको छन् । 

 

जसअनुसार अब अध्यक्षका लागि गठबन्धन तर्फका नवीन थापामगर र एमाले निकट व्यवसायीको तर्फबाट नवराज ढुङ्गेल बिच प्रतिस्पर्धा हुने निश्चित भएको छ । यसअगाडि १४ पदको लागि २९ जनाको उम्मेदवारी परेको थियो । अब १४ पदका लागि २८ जनाले प्रतिस्पर्धा गर्ने छन्  । उम्मेदवारी फिर्ता लिएका घिमिरेले थापामगरलाई समर्थन गरेका छन् ।

 

उनले आइतबार मन्थलीमा पत्रकार सम्मेलन गरेर उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन् । ‘मैले कसैको दबाब र प्रभावमा नपरी आज फिर्ता लिने समय अबधिमा कार्यालयमा पुगेर फिर्ता लिएको छु । अब मेरो समर्थन नवीनजीको टिमलाई रहने छ । र, सबैलाई उहाँको टिमलाई जिताउन अपिल गर्दछु, घिमिरेले भने।’ 

 

उम्मेदवारी फिर्ता लिएका घिमिरे वर्तमान अध्यक्ष हुन् । हाल प्रतिस्पर्धा गर्न लागेका थापामगर सङ्घका वरिष्ठ उपाध्यक्ष हुन् भने, ढुङ्गेल महासचिव हुन् । हाल दुवै समूहले निर्वाचन प्रचारप्रसार तीव्र पारेका छन् । संघको निर्वाचन आउँदो २७ गते हुँदै छ ।