रामेछाप उद्योग वाणिज्य संघको मतदान आज, मोबाइल, पानी लैजान नपाइने

| फागुन २७, २०७९ शनिबार

A A A
A A A

२७ फागुन,रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको नेतृत्व सहित नयाँ कार्यसमितिको लागि आज शनिवार मतदान हुँदै छ । संघको आठौं जिल्ला अधिवेशन एवं निर्वाचनमा आज जिल्ला समन्वय समितिको प्रांगमा मतदानको बिहान ७ बजेदेखि नै सुरु हुने संघको निर्वाचन कार्यालयले जनाएको छ । त्यसको लागि सबै तयारी पूरा भएको संघको सचिवालयले जनाएको छ । 

 

जसअनुसार नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र निकट व्यवसायीहरूको तर्फबाट नवीन कुमार थापा मगरको नेतृत्वको लागि सहित ‘संयुक्त व्यवसायी एवं समावेशी समूह’ मार्फत चुनावी मैदानमा छन् । उनीहरूले गठबन्धन र साझा उम्मेदवार सहित चुनावी मैदानमा रहेकाले आफूहरूको जित पाक्का रहेको यो समूहको दाबी छ । उमाकुण्डको बाम्तीभण्डार सहित सुनापति, दोरम्बा, खाँडादेवी लगायतका जिल्लाका प्रमुख बजारहरूका घरदैलोमा पुगेर उनीहरूले मत मागेका छन् । साथै शुक्रवार मन्थलीमा शक्ति प्रदर्शन समेत गरेका छन् । 

 

मतदान गर्नको लागि धेरै जसो मतदाता मन्थली आइसकेको जनाइएको छ । केही आज आउने छन् । गत शुक्रवार साँझ ५ बजेदेखि आज साँझ ५ बजे मतदान नसकिँदा सम्म निर्वाचन शून्य समय लागू भएको छ । यो समूहले २५ बुँदे घोषणा पत्र एवं प्रतिबद्धता सार्वजनिक गरेको छ । 

 

उता एमाले निकट ‘सफल समावेशी समूह’ नवराज ढुङ्गेलको नेतृत्वमा उमाकुण्डको बाम्तीभण्डार सहित सुनापति, दोरम्बा सम्म घरदैलो गरेको छ । शुक्रवार यो समूहले पनि मन्थलीमा शक्ति प्रदर्शन गरेको छ । एकल र काम गर्ने युवा शक्ति आफूहरूको रहेको र महिलाहरूलाई आफ्नो समूहले प्राथमिकता दिएकाले आफूहरूको जित हुने  ‘सफल समावेशी समूह’ को पनि दाबी छ । यो समूहले २२ बुँदे घोषणा पत्र सार्वजनिक गरेको छ । 

मतदान स्थल, तस्बिर मिलन घिमिरे/रामेछाप टाइम्स

तीन वर्षे कार्यकाल सकिएर वर्तमान अध्यक्ष केशव प्रसाद घिमिरे बाहिरिन चाहेकाले हाल वरिष्ठ उपाध्यक्ष रहेका थापा मगर र महासचिव रहेका ढुङ्गेल बिच प्रतिस्पर्धा हुन लागेको हो । जिल्लाभरिका कूल एक हजार ३ सय ८७ जना मतदाता रहेको सङ्घमा १२ सय भन्दा बढी भोट खस्ने दाबी गरिएको छ । 

 

यसैबिच संघको निर्वाचन समितिको कार्यालयले मतदानलाई सुरक्षित र मर्यादित बनाउन मतदान स्थलमा झोला, लाइटर, धारिलो हात हतियार, चक्कु, नेलकटर लगायत, पानी तथा तरल पदार्थ, डट् पेन, कलम, मोबाइल तथा इलेकट्रोनिक्स डिभाइस लान नपाइने जनाएको छ । 

 

साथै मादक पदार्थ सेवन गरेको मतदाता र प्रचलित कानुनले निषेध गरेका सबै बस्तुहरू पूर्णपुरमा रोक लगाइएको भनिएको छ ।