कृषि ज्ञान केन्द्र रामेछापले निःशुल्क रूपमा आँपमा लाग्ने किरा नष्ट गर्ने विषादि छर्न थाल्यो

| फागुन २८, २०७९ आइतबार

A A A
A A A

२८ फागुन, रामेछाप । कृषि ज्ञान केन्द्र रामेछापले आजदेखि औंपचारीक रूपमा निःशुल्क विषादी छर्किन सुरु गरेको छ । मन्थली नगरपालिका वडा नं १ को सानिमदौ क्षेत्रमा पहिलो दिन विषादी छर्किएर सुरु भएको हो ।

 

आकस्मिक बाली संरक्षण कार्यक्रम अन्तर्गत ‘आँप’ को फुलमा लागेको किरालाई नष्ट गरेर फल वृद्धि गर्ने उद्देश्यले किसानको बगैँचा–बगैँचा पुगेरै निःशुल्क रूपमा विषादी छर्किन थालेको ज्ञान केन्द्र रामेछापकी प्रमुख निर्मला गुरुङले रामेछाप टाइम्सलाई बताए । ‘हामी सबै किसानको बगैँचामै पुगेर निःशुल्क विषादी छर्किने छौँ । यसले उत्पादन पक्कै बढाउँछ ।’

 

यसअगाडि आँप फल्ने क्षेत्रका किसानलाई लक्षित गरेर एक सूचना प्रकाशन गरी विषादी छर्नु पर्ने किसानलाई आफूहरूसँग माग गर्न आग्रह गरेको सुनाउँदै उनले दुई हजार भन्दा बढी आँपका विरुवामा विषादी माग गरेको र सोही अनुसार सबै ठाउँ पुगेर छर्ने जानकारी गराइन् । 

उनका अनुसार यो समय आँपमा लागेको फुल मार्ने किरालाई नष्ट गर्न उपयुक्त समय भएकाले सुरु गरेको बताइन् । गत वर्ष आँप उत्पादन कम हुँदा समस्यामा परेका किसान यो वर्ष फुल राम्रो लागेकाले उत्पादन बढ्ने विश्वासमा छन् । तर, किराले नष्ट गर्ने त्रासमा रहेका थिए । 

 

विषादी छर्किनकै लागि ज्ञान केन्द्र रामेछापले एक प्राविधिक र आवश्यक सबै प्राविधिक सहयोग गर्ने प्रमुख गुरुङले बताइन् । रामेछापको मन्थली र रामेछाप नगरपालिका, खाँडादेवी, लिखु तामाकोशी लगाएतका क्षेत्रमा आँप उत्पादन हुन्छ ।