मन्थलीको तिनतले होटेल नजिकै दुई मोटरसाइकल ठोक्किँदा भटौलीका प्रसाईँ गम्भीर घाइते, काठमाडौँ पठाइयो

| फागुन २८, २०७९ आइतबार

A A A
A A A

२८ फागुन, रामेछाप । मन्थलीको व्यस्त बजार क्षेत्र तिन्तले ओरालोमा दुई मोटरसाइकल एक आपसमा ठोकिँदा एक जना गम्भीर घाइते भएका छन् । घाइतेको उद्दार गरी रामेछाप सामुदायिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि काठमाडौँ पठाइएको छ । 

 

आज दिउँसो करिब ३ ः ४० बजेको समयमा मन्थली नगरपालिका मन्थली बजारबाट बसपार्क तर्फ जाँदै गरेको न ५५ प ६१०६ नम्बरको मोटरसाइकल र बसपार्कबाट देवकोटा चोक बजारतर्फ आउँदै गरेको बा ६८ प ८७९७ मोटरसाइकल एक आपसमा ठोक्किएका हुन् । 

दुर्घटनामा बा ६८ प ८७९७ मोटरसाइकल चालक मन्थली ७ भटौली घर भएका अन्दाजी ३६ वर्षीय तीर्थराज प्रसाईँ गम्भीर घाइते भएको जिल्ला ट्राफिक प्रहरी दीपक श्रेष्ठले रामेछाप टाइम्सलाई जानकारी दिए । 

गम्भीर घाइते प्रसाईँको एउटा खुट्टा तीन ठाउँमा भाँचिएको बताइएको छ । उनको खुट्टो, गुडो र तिग्रामा समेत चोट लागेकाले हड्डीमा असर परेको बताइएको छ । दुर्घटनाको कारण नखुले पनि दुवै तीव्र गतिमा एकै साइडबाट आएकोले ठोक्किएको दाबी गरिएको छ । 

 

दुर्घटनामा न ५५ प ६१०६ नम्बरको मोटरसाइकल चालक १९ वर्षीय रमेश माझी सामान्य घाइते भएका छन् । घटना बारे जिल्ला प्रहरी कार्यालयले सिसिटिभी फुटेजसहितको अध्ययन गरी रहेको र थप अनुसन्धान भइरहेको बताइएको छ ।