मन्थली बजारकी एक व्यवसायी महिलाले झुन्डिएर आत्महत्या गरिन्

| चैत ७, २०७९ मंगलबार

सांकेतिक तस्बिर ।
A A A
A A A

७ चैत, रामेछाप । रामेछापको मन्थली बजारमा एक व्यापार व्यवसाय गर्दै आएकी महिलाले झुन्डिएर आत्महत्या गरेकी छन् । 

 

मन्थली नगरपालिका वडा नं ८ चिसापानी घर भएकी ३० वर्षीय अनु श्रेष्ठले झुन्डिएर आत्महत्या गरेकी हुन् । मन्थलीको  कटहरको बोट स्थित नेकपा एमालेको पार्टी कार्यालय बसेको घर क्षेत्रमा खाद्यान्न पसल गर्दै श्रेष्ठले दिउँसो करिब १ बजे तरी झुन्डिएर ज्यान गुमाएको भेटिएको प्रत्यक्षदर्शी एवं सोही क्षेत्रका व्यवसायी जय मानन्धरले रामेछाप टाइम्सलाई बताए ।

 

‘आज बिहान बच्चाहरू स्कुलमा पुर्‍याएर फर्किएर आएपछि उनी घरमा झुन्डिएको खुलेको छ । भोलि बुधवार देखि बच्चाहरूको वार्षिक परीक्षा ‘इक्जाम’ रहेछ । त्यही सन्दर्भमा स्कुलमा पैसा बुझाएको कुरा पनि सुनियो । के हो, आर्थिककै कारणले पनि हुन सक्छ ।’ उनका छोराछोरी निजी स्कुलमा अध्ययनरत रहेको बुझिएको छ । अहिले बालबालिकाको वार्षिक परीक्षा सुरु हुने चरणमा छ । 

 

झुन्डिएको अवस्थामा भेटिएकी अनुको शवलाई प्रहरी र श्रीमान् सहितको रोहबरमा पोस्ट मार्टमको लागि मन्थली अस्पताल लगिएको छ । पोस्ट मार्टम रिपोर्ट आएको छैन ।

 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजु प्रसाद ढकालले पनि शव पोस्ट मार्टमको लागि पठाइएको उल्लेख गर्दै घटना अनुसन्धानकै क्रममा रहेको उल्लेख गरे । ‘शव पोस्ट मार्टमको लागि लगिएको छ । अनुसन्धान जारी छ । झुन्डिएकै अवस्थामा भेटिएको छ ।’

 

मृत्यु भएकी अनुको एक छोरा, एक छोरी र श्रीमान् छन् । 

 

यो पनि पढ्नुहोस् 
बैंकको किस्ता थेग्न नसकेर रामेछाप भिरपानीका पौडेलले गरे आत्महत्या