१० औँ जिल्ला स्तरीय रनिङ शिल्ड विजेता खेलाडीलाई मन्थली नगरपालिकाले गर्‍यो सम्मान (भिडिओ)

| चैत ७, २०७९ मंगलबार

A A A
A A A

७ चैत, रामेछाप । मन्थली नगरपालिकाले १० औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा पदक विजेता प्रशिक्षक र खेलाडीहरूलाई सम्मान गरेको छ । साथै खेलाडीले जितेर ल्याएको १० औँ राष्ट्रपति रनिङ शिल्ड एवं ट्रफि बुझेको छ। 

 

मङ्गलवार नगरपालिकाको सभा हलमा नगर खेलकुद विकास समितिका अध्यक्ष गोपाल माझीको अध्यक्षमा नगरपालिकाका प्रमुख लव श्रेष्ठ, उपप्रमुख ईश्वरी बस्नेत, प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद चौलागाई, सहित १, ३, ४ र ५ का वडा अध्यक्षहरूको उपस्थितिमा गत फागुनमा सम्पन्न १० औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा ३३ वटा स्वर्ण पदक विजेता खेलाडीलाई नगरले सम्मान गरेको हो । विजेता खेलाडीलाई नगरपालिका प्रमुख श्रेष्ठ, उपप्रमुख र अध्यक्षहरूले नगरको लोगो सहितको खादा ओढाएर सम्मान गरे । 

लिखु तामाकोशी गाउँपालिकाको सैपुमा सम्पन्न राष्ट्रपति रनिङ शिल्डमा मन्थली नगरपालिकाका खेलाडीले रामेछाप नगरपालिकालाई पछि पार्दै शिल्ड उचालेको थियो । साथै नगद ५० हजार सहित १० औँ राष्ट्रपति रनिङ शिल्डको ‘शिल्ड’, ट्रफि, मेडल र प्रमाणपत्र जितेको थियो । 

यसरी सात स्थानीय तहका खेलाडीलाई पछाडि पारेर एक बलियो इतिहास नगरका खेलाडीले रचेकोमा बधाई दिँदै खेलाडीहरूलाई नगरपालिका प्रमुख श्रेष्ठले बधाई दिए । उनले ३३ स्वर्ण जितेर मन्थलीको लागि इतिहास रचेर मन्थलीका खेलाडीको लागि भविष्यको बाटो खोलेको बताए । खेलाडीले देखाएको प्रदर्शनले आगामी दिनमा नगरले खेलकुद क्षेत्रको बजेट बढाउने प्रतिबद्धता जनाए ।

भिडिओमा हेर्नुहोस् नगरप्रमुख श्रेष्ठले के-के भने ।

त्यस्तै नगर खेलकुद विकास समितिका अध्यक्ष गोपाल माझीले सबै वडा–वडामा खेल मैदान र खेलाडीको विकासको लागि पहल गर्न आग्रह गरे । नगर खेलकुद अध्यक्ष माझीले प्रदेश स्तरमा हुन लागेका प्रतियोगितामा राम्रा भन्दा पनि हाम्रा खेलाडी राख्ने खेल सुरु भएकोमा आफ्नो त्यसको लागि पनि थप छलफल सुरु भएको बताए । तर, त्यसलाई ठुलो ‘स्यू’ को रूपमा नलिन भन्दै पन्छ्याए ।