सुनारपानीका मेहनती ‘डाइभर’ भरतले ‘सुनकागती’ खेतीबाट वार्षिक २० लाख बढीको आम्दानी लिन थाले (भिडिओ)

| चैत १६, २०७९ बिहिबार

A A A
A A A

१५ चैत, रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नं ५ माथिल्लो सुनारपानीका भरत कार्कीले ‘सुनकागती’ जातको कागती खेती गरेर लाखौँको आम्दानी लिन थालेका छन् । 

 

करिब ३० देखि ४० रोपनी आफ्नै जग्गामा हाल सम्म १० लाख रुपैयाँको लगानी गरेर कागती खेती गर्न थालेका हुन् । यो वर्ष उनी छिमेकीको जग्गा भाडामा समेत लिएर खेती विस्तार गर्ने योजनामा छन् । अझ, रोचक चैहि के छ भने, कार्की कृषि ज्ञान केन्द्र रामेछापका सवारी चालक (डाइभर कर्मचारी) हुन् । उनी दिन भरी अफिसको काम गर्छन् । बाँकी समय र बिदाको दिन मिलाएर आफ्नै जग्गामा उनले  खेती गर्न थालेका हुन् । 

 

३ वर्ष अगाडि ३ सय बोट बिरुवा रोपेर सुरु गरेको कागतीले गत वर्षदेखि फल दिन थालेको छ । ‘पोहोर साल ४०÷५० केजी बेचियो यो वर्ष राम्रो छ । बजार भाउ र माग पनि राम्रो भएकाले सोचे जस्तो आम्दानी हुन्छ ।’

 

पानी नभएर केही समस्या भए पनि हाल खानेपानीको मात्रलाई बचाएरै कागतीलाई पानी पुर्‍याउँदै आएको कार्कीले सुनाए । ‘सुख्खा क्षेत्र हो । अरुबाली लगाउँदा बाँदरले चाख्न पनि दिँदैन । बारी नै रित्तै पार्छ । यो केहीले पनि नखाने, धेरै पानी पनि नचाहिने रहेछ । समय मिलाएर खाने पानीलाई जोगाएर हाल्दै आएको छु यसैले पुगेको छ ।’

अहिले कार्कीले कृषि ज्ञान केन्द्र रामेछापको चालु आर्थिक वर्षको डेढ लाख रुपैयाँ अनुदानमा पानी ट्याङ्की निर्माण गरेर पानी सङ्कलन गरेर प्रयोग गर्दै आएका छन् । ‘म, रामेछाप र दोलखाका सबै किसानको बारी–बारीमा पुगेको छु । सबैले कृषि गरेरै राम्रो आम्दानी लिएको देख्दा मलाई पनि यो पेसा नै आजको आवश्यकता र सुरक्षित देखे । त्यसैले केही गरौँ भनेर थालेको हो । कृषि बुझेको छु, यसैलाई भविष्य बनाउँछु । माटोसँग मलाई खेल्न असाध्यै राम्रो लाग्छ । म, यसमा खुसी छु, कार्कीले खुसी हुँदै भने ।

 

उनले यो वर्ष पनि तीन सय बिरुवा रोप्ने तयारीमा रहेको योजना सुनाए । ‘कृषिबाटै केही गरौँ भन्ने मेरो योजना हो । मेरो भिरालो र सुख्खा जग्गाको लागि यो अति नै उपयुक्त भएकाले सुरु गरे । मेरो ठुलो भोलममा काम गर्न योजना हो । एउटा बोट कागतीमा कम्तीमा ४०÷५० केजी कागती फल्ने रहेछ । यसरी हेर्ने हो भने वर्षमा २०÷२५ लाख आम्दानी गर्न सहज भएको छ कार्कीले सुनाए । २०६४ सालमा एस् एल् सी पास गरेका कार्कीले वैदेशिक रोजगारीको सिल्सीलामा खाडी मुलुक साउदी अरबमा पनि ५ वर्ष गाडी चलाएर फर्किएको सुनाए । २०७२ सालको भूकम्प पछि नेपाल फर्किएका कार्की २०७४ देखि कृषि ज्ञान केन्द्रमा सवारी चालकको रूपमा कार्य थालेको सुनाए । उनले भने ‘अहिलेको अवस्थामा रोजगार राज्यले दिने अवस्था देख्दिने त्यसैले व्यक्तिले नै खोजी गर्नु पर्छ र स्वरोजगार बन्नुपर्छ ।’

उनले थपे ‘विदेश झन् गाह्रो छ । मेहनत धेरै गर्नु पर्छ । जे सम्भावना छ त्यसैमा लग्नु पर्छ । खेत भए टनेलमा तरकारी खेती गर्नु मन छ । तर सुख्खा र बाँदरको कारण भिरालो जमिनमा कागती उचित गर्न थाले ।’

 

राजनीतिले युवाहरूलाई झोला धेरै बोकायो तर हलो, कोदालो बोकाउन सिकाएन भन्दै उनी कृषि बाहेक नेपालको भविष्य नभएको दाबी गर्छन् । विभिन्न सरकारी कार्यालयमा के कार्यक्रम छ ? भन्दै आउने नक्कली किसान भन्दा मैले यो खेती गरेको छु, मेरो लागि के सहयोग गर्न सक्नुहुन्छ ? भन्ने किसानलाई सम्बन्धित  निकायले सहयोग गर्नु पर्नेमा उनको जोड् छ ।