यो वर्ष मन्थली नगरपालिकाले ५६ जना क्यान्सर जस्ता ‘घातक’ रोगबाट पीडितलाई अस्पताल सेवाका लागि सिफारिस गर्‍यो

| चैत १६, २०७९ बिहिबार

A A A
A A A

१६ चैत, रामेछाप । रामेछापको मन्थली नगरपालिकाले क्यान्सर जस्ता ज्यानै लिने ‘घातक’ प्रकारका रोगको उपचारको लागि विपन्न परिवारलाई प्रदान गर्ने सहयोग यो वर्ष ५६ जनालाई प्रदान गरेको छ । हाल सम्म नगरपालिकाको स्वास्थ्य शाखा मार्फत नगरपालिकाले वडाको सिफारिसमा ५६ जना घातक रोगबाट पीडितहरूलाई सरकारले उपलब्ध गराएको सौलियत प्रदान गरेको स्वास्थ्य शाखा प्रमुख केशव फुयाँलले रामेछाप टाइम्सलाई जानकारी दिए ।

 

‘वडाको सिफारिस पछि नगरप्रमुखको अध्यक्षतामा रहेको समितिले सरकारले प्रदान गर्ने सेवाको लागि हामीले सिफारिस गरेका हौँ । गरिब तथा विपन्न परिवारलाई यसले राहत मिलेको छ ।’

 

स्वास्थ्य शाखा प्रमुख फुयाँलका अनुसार मुटु, मिर्गौला, क्यान्सर, अल्जाइमर, पार्किन्सन्स, हेड्इएन्जुरी, स्पाइनल इन्जुरी, सिकिसेल ऐनेनिर जस्ता ८ प्रकारको रोगको लागि सिफारिस गरिएको हो । सिफारिस अनुसार क्यान्सर रोगबाट पीडितले डेढ लाख बराबरको औषधि तथा उपचार सेवा पाउने छन् । भने, अन्य रोगको लागि एक लाख बराबरको अस्पताल सेवा पाउने छन् । 

 

यसरी १४ वटा वडा रहेको नगरपालिकाले चालु आर्थिक वर्षमा क्यान्सरबाट पीडित २४ जना, मुटुका १२ जना, मिर्गौला १० जना, हेड्इन्जुरीका ५ जना र स्पाइनल इन्जुरीका ५ जनाले नगरबाट सिफारिस पाएर सम्बन्धित रोगको उपचारको लागि सेवा पाएका हुन् । 

 

स्वास्थ्य शाखाले नगरका नागरिकको स्वास्थ्यलाई प्राथमिकता दिएको उल्लेख गर्दै गाउँ, टोल सम्म स्वास्थ्य शिविर, औषधि, उपचार सेवा, स्वास्थ्य चौकी, सहरी स्वास्थ्य चौकी, अस्पताल, एम्बुलेन्स सेवा जस्ता सेवा प्रदान गर्दै आएकोमा जोड् दिए । 

 

चालु आवमा नगरको शाखाले स्वास्थ्य सम्बन्धि जनचेतना मूलक कार्यक्रम केही गर्न बाँकी रहेको जानकारी दिँदै कोरोना भाइरसको महामारी थप फैलिएको चर्चाका बिच खोप लगाउन छुटेकालाई खोप लगाउन पनि स्वास्थ्य शाखा प्रमुख फुयाँलले आग्रह गरे ।