आजदेखि एसइई परीक्षा सुरु, रामेछापबाट ३ हजार २३१ जना, देशभरीबाट ४ लाख ८४ हजार २२७ परीक्षार्थी

| चैत १७, २०७९ शुक्रबार

फाइल फोटो ।
A A A
A A A

१७ चैत, रामेछाप । आज शुक्रवार देखि सुरु यस वर्षको माध्यमिक परीक्षा (एसइई) को वार्षिक परीक्षा सुरु हुँदै छ । यो वर्षको एसइई नेपाल भर मात्र नभएर विदेश (जापान) मा पनि परीक्षा लिइने तयारी रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । 

 

आज चैत १७ देखि आउँदो २९ गते सम्म चल्ने एसइई परीक्षामा रामेछापबाट तीन हजार भन्दा बढी विद्यार्थी सहभागी हुँदै छन् । त्यसको लागि सबै तयारी पूरा भएको जिल्ला शिक्षा तथा समन्वय इकाई रामेछापका प्रमुख भरत भट्टराईले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

उनका अनुसार जिल्लाबाट ९६ वटा माध्यमिक विद्यालयबाट गरी कूल ३ हजार २३१ जना विद्यार्थी परीक्षामा सहभागी हुँदै छन् । भट्टराईका अनुसार यो वर्ष सबै भन्दा बढी मन्थली नगरपालिकाको २२ वटा माविबाट ८०६ विद्यार्थी सहभागी हुँदै छन् । 

 

त्यस्तै दुई पालिकाहरू सुनापति र उमाकुण्ड गाउँपालिकाबाट समान २७०–२७० जना परीक्षार्थी सहभागी हुने उनले बताए । 

मन्थली माविबाट एसइई परीक्षामा सहभागी हुन विदाई बभएका विद्यार्थीहरु सामुहिक तस्विर खिचाउँदै, तस्बिर स्रोत टंक दाहाल 

प्रमुख भट्टराईका अनुसार रामेछाप नगरपालिकाबाट १३ वटा माविका ४८८, गोकुलगङ्गा गाउँपालिकाका ७ वटा माविका ४०८, लिखुतामाकोशी गाउँपालिकाको १२ वटा माविका ४१६, दोरम्बा शैलुङ गाउँपालिकाको ९ वटा माविका २९९ र खाँडादेवी गाउँपालिकाको १३ वटा माविका ३५३ जना विद्यार्थीले एसइईको परीक्षा दिँदै छन् । परीक्षा आज बिहान ८ बजेबाट सुरु हुने छ । 

 

कोरोना महामारीको कारण ढिला गरी सुरु भएको यो वर्षको शैक्षिक सत्रमा पठनपाठनको बेलामा राम्रो तयारी भएकाले विगतको भन्दा राम्रो नतिजा आउने विद्यालयहरूको अपेक्षा छ । मन्थली माद्यामिक विद्यालयका प्रधानाध्यापक टंकप्रसाद दाहालले यो वर्ष केही राम्रो नतिजा आउने रामेछाप टाइम्सलाई बताए । एसइईको सबै तयारी पूरा भएको र ढुक्क भएर परीक्षा दिन आग्रह गर्दै प्रअ दाहालले यस्तो बताएका हुन् । 

 

उनले आफूहरूको विद्यालयमा १० वटा सम्म विद्यालयको परीक्षा केन्द्र परेको जानकारी दिँदै विद्यार्थीहरू बिरामी पर्न सक्ने भन्दै एक नर्स पनि ‘स्ट्यानबाइ’ राखिएको जानकारी दिए । साथै केही दिन अगाडि देखिनै विद्यार्थीहरूलाई सहजता हुने गरी भौतिक वातावरण तयार गरिरहेको समेत सुनाए । 

 

एसइईका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठका अनुसार ४ लाख ८४ हजार २२७ जनाले परीक्षा दिँदै छन् । उनले विद्यार्थीलाई कुनै डर, त्रास नलिई ढुक्क भएर परीक्षा दिन आग्रह गरे । एसइईका लागि देशभरका परीक्षा केन्द्रमा ७८ हजार जनशक्ति परिचालन गरिएको छ ।