नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ रामेछापले मनायो १४ औँ स्थापना दिवस, गरियो ‘झण्डोत्वलन’ (फोटो/भिडिओ)

| चैत १७, २०७९ शुक्रबार

A A A
A A A

१७ चैत, रामेछाप । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ रामेछापले १४ औँ स्थापना दिवस मनाएको छ। शुक्रवार जिल्ला सदरमुकाम मन्थली स्थित भूतपूर्व संघको सभा हलमा संघका अध्यक्ष जयबहादुर कठायतको अध्यक्षतामा संघको १४ औँ स्थापना दिवस मनाइएको हो । सो अवसरमा संघको भवनमा मन्थली नगरपालिका वडा नं १ का वडा अध्यक्ष होमप्रसाद पौडेल (रामहरि) ले झण्डोत्वलन गरेका छन् । 

‘झण्डोत्वलन’ गर्न विधिपूर्वक पूजा गर्दै, तस्बिर मिलन घिमिरे रामेछाप टाइम्स 

नेपाली सेनाबाट अवकाश प्राप्त नेपाली सेनाका दुई हजार ९ सय बढी आबद्ध यो संघले भूतपूर्वक सैनिकका हक हित, समाज सुदृढीकरणमा काम गर्दै आएको संघका उपसभापति यमबहादुर बुढाथोकीले जानकारी गराए । ‘विपद्मा उद्धार, पुनः स्थापना, राहत वितरण जस्ता समाजसेवाका काम पनि गर्दै आएका छौँ । हामी पूर्व सैनिक भएकाले विधि र नीति भित्रबाट गर्ने कर्म गर्दै आएका छौँ ।’

 

त्यस्तै रामेछाप उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष समेत रहेका भूतपूर्वक सैनिक सहकारीका अध्यक्ष केशव प्रसाद घिमिरेले आफू अध्यक्ष भएको सहकारीले हाल सम्म सात करोड बराबरको कारोबार गर्दै आएको जानकारी दिए । उनले सो सहकारी निकै चलायमान रहेको सुनाउँदै विगतका वर्षहरूमा सो सहकारी मार्फत मल ल्याएर वितरण गर्ने गरिएको तर, अहिले त्यो रोकिएकाले आफूहरूको त्यो मल वितरण गर्न पाउनु पर्नेमा स्थानीय सरकार, वडा अध्यक्ष जिल्ला प्रशासन लगायतसँग मा गरे । ‘हामीले पहिले वितरण गर्दै आएका थियौँ । तर, अहिले रोकिएको छ सबैको ध्यानाकर्षण गराउँदै हामीले त्यो पाउने वातावरण मिलाइदिनु पर्‍यो अध्यक्ष घिमिरेले भने ।’

 

भिडिओमा हेर्नुहोस् घिमिरेले के-के भने 

सहकारीले पूर्व सैनिकहरूसँग जोडिएर कारोबार गर्दै आएको स्पष्ट पार्दै विगतमा गर्दै आएको मल वितरणको काम रोकिँदा अहिले केही समस्या भएको उनको गुनासो थियो । 

 

कार्यक्रममा प्रमुख अतिथि समेत रहेका मन्थली नगरपालिकाका नगर प्रमुख लब श्रेष्ठले नेपाली सेनाले देश निर्माण, सीमाको रक्षा र देशको रक्षा गर्न प्रमुख भूमिका खेलेको भन्दै प्रशंसा गरे । भूतपूर्व सैनिकहरू समाजलाई सही ढङगाबाट अगाडि दोहोर्‍याउने माध्यम भएको उल्लेख गर्दै नगरप्रमुख श्रेष्ठले यसको सदुपयोग गर्न आग्रह गरे । 

 

भिडिओमा हेर्नुहोस् के-के भने मेयर श्रेष्ठले 

स्थापना दिवसको शुभकामना दिँदै उनले नेपाली सेनाको सही सदुपयोग गर्न सकेको खण्डमा विपद् बेलामा, विकास निर्माणको काममा समृद्धि हासिल गर्न सकिने उल्लेख गरे । नेपाली सेना र सबै तहका सरकारहरूबिच समन्वय गरेर काम गर्नु पर्नेमा मेयर श्रेष्ठले जोड् दिए । 

 

सहकारीका अध्यक्ष घिमिरेले गरेको मागलाई सम्बोधन गर्दै मेयर श्रेष्ठले मल वितरण गर्न दिने प्रक्रिया भूतपूर्वक सैनिकको लागि मात्रै हुँदा नमिल्ने बताए । ‘सैनिकको लागि मात्रै दिन मिल्दैन त्यो शब्दलाई मिलाएर सबैलाई समेटिएको खण्डमा नीति भित्र बसेर दिन सक्छौँ । अन्य सहकारीहरू पनि छन् यसले गर्दा जनसेवालाई हाम्रो रोक हुँदैन ।’ 

कार्यक्रममा मन्थली नगरपालिका वडा नं १, २, ४ र ५ का वडा अध्यक्षहरू, गोरख गण रामेछापका प्रमुख, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख एवं प्रतिनिधि, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।