रामेछापका द्वन्द्व पीडित महिलाहरुको एकै स्वर : ‘हामीलाई खाजा र भत्ता दिएर घाउमा नुन छर्ने काम बन्द गरियोस्’

| चैत १७, २०७९ शुक्रबार

A A A
A A A

१७ चैत, रामेछाप । रामेछापमा द्वन्द्व पीडित तथा द्वन्द्व प्रभावित महिलाको अवस्था र चुनौतीमा स्थानीय सरकारको भूमिका सम्बन्धित एक दिने जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम मन्थलीमा सम्पन्न भएको छ । बिहीबार मन्थली स्थित द्वन्द्व पीडित महिला राष्ट्रिय सञ्जालको आयोजनामा द्वन्द्व पीडितहरूले आ-आफ्नो धारणा, गुनासा, समस्या र माग सुनाए । 

 

द्वन्द्व पीडित महिलाहरूले आफूहरूले राज्यबाट घाउमा पटक–पटक नुन चुक गर्ने काम भएको भन्दै आक्रोश पोखेका छन् । आफूहरूले बिर्सिसकेका धेरै कुरालाई यस्ता आफ्नो फाइदाको लागि काम गर्ने संस्थाहरूले सम्झाउने काम गरेको भन्दै पीडित देवमाया मगरले आक्रोश व्यक्त गरिन् । ‘हामीलाई दिनै केही, कोही हैन तर, यसरी नुन चुक गर्ने संस्थाले गर्दा हामी झन् पीडित भएको महसुस हुन्छ । द्वन्द्व पीडितहरूले कहिले सम्म न्यायको आशा गरेर बस्ने हो ।’

 

अर्की द्वन्द्व पीडित लिखु तामाकोशी गाउँपालिका वडा नं ७ तिल्पुङकी मनमाया बस्नेतले पनि द्वन्द्व कालमा आफ्नो श्रीमान् गुमाएको स्मरण गर्दै श्रीमान् गुमाएपछि आफ्ना बालबच्चा दुःख कष्ठले हुर्काएको सुनाइन् । तर, अहिले छोराछोरी आ–आफ्नो बाटो लाग्दा बिरामी हुँदा औषधि उपचार समेत गर्ने मान्छे साथमा नहुँदा समस्या पर्ने गरेको सुनाइन् । ‘सरकारले महिनामा केही भत्ता त दिन्छ  । तर, त्यो भत्ता ले मात्रै के गर्नु आफ्ना मान्छे नभएपछि म, पीडित हुँ भनेर कतिलाई भन्नु हामीलाई चिन्ने एउटा छुटै कार्ड उपलब्ध गराए राम्रो हुन्थ्यो ।’

 

कार्यक्रममा उपस्थितिहरू द्वन्द्व पीडित महिलाहरूले आफूहरूलाई मोहोरा बनाएर कसैले कमाइ खाने भाँडोको रूपमा प्रयोग गर्दै आएको भन्दै आक्रोश पोखेका थिए । उनीहरूले अब, द्वन्द्वका घाउहरू यसै नसेलाउने जिकिर गर्दै पीडितलाई न्याय नदिए सम्म आफूहरू एक बनाउन सक्नेले मात्रै यस क्षेत्रमा हाल हाल्नु अन्यथा खाजा र भत्तामा आफूहरूलाई नभुलाउन चेतावनी समेत दिए । 

 

उनीहरूले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको आयोजक द्वन्द्व पीडित महिला राष्ट्रिय सञ्जाल रामेछापलाई समेत पीडितहरूलाई सही गराएको भरमा भत्ता पचाउने काम नगर्न चेतावनी दिए । सञ्जाल विगत २ वर्षदेखि पीडित महिलाहरूको विधि क्षेत्रलाई लिएर तथ्याङ्क सङ्कलन एवं सुझाव दिँदै आएको छ । 

द्वन्द्व पीडित महिला राष्ट्रिय सञ्जालकी संयोजक यशोदा खड्काले भने आफूहरूले द्वन्द्व पीडितका समस्याहरूलाई केन्द्रसम्म पुर्‍याउने कामको थलानी गरेको बताइन् । तर,जुन रूपमा गर्नु पर्ने थियो । त्यो गर्न नसकेको स्वीकार गरिन् । संयोजक खड्काले आफूहरूले स्थानीय, प्रदेश लगायत सरोकारवाला सँग समन्वय र सहकार्य गर्न नसक्दा र आफूहरूलाई सम्बन्धित निकायले समेत नसुन्दा समस्या भएको तर्क गरिन् । उनले स्थानीय तहका जनप्रतिनिधि, जिल्ला समन्वय समिति लगायतले आफूहरूले अन्तरक्रियामा बोलाउँदा समेत नआएर आफूहरूलाई हेपेको बताइन् । ‘हामीले पत्र काटेरै सबैलाई बोलायौँ । तर, महिलाले गरेको कार्यक्रममा भनेर हेपियो कोही आएनन् ।’  

 

कार्यक्रममा बोल्दै नेपाली काँग्रेस रामेछापका कार्यवाहक सभापति समेत रहेका उपसभापति लेखबहादुर कार्कीले द्वन्द्व पीडित महिलाहरूले यसरी कार्यक्रम गर्न राज्यलाई झकझक्याउने काम भएको भन्दै आफूहरूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । कार्यवाहक सभापति कार्कीले द्वन्द्वका घाउहरू यसै नसेलाउने भन्दै कानुनी बाटो अपनाएर समाधानमा जुट्नु पर्नेमा जोड् दिए । 

संस्थाकी अध्यक्ष यशोदा खड्का, तस्बिर मिलन घिमिरे/रामेछाप टाइम्स

त्यस्तै नेपाल बार रामेछापका अध्यक्ष पाण्डप प्रसाईँले पीडितहरूले न्याय नपाउने जेलसम्म बोलिरहनु पर्नेमा जोड् दिँदै राज्यले सम्बोधन गर्न बाध्य पार्न यी आन्दोलनले सक्नु पर्नेमा सुझाए । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय द्वन्द्वका पीडितले न्याय पाएको स्मरण गर्दै पीडितहरूले बोल्न छोडेमा न्याय पाउन नसक्ने स्पष्ट पारे ।