मन्थलीको कुनौरीमा ‘रंगशाला’ निर्माण गर्ने उद्देश्यले करोडौंको खेल मैदानको शिलान्यास

| चैत २१, २०७९ मंगलबार

A A A
A A A

२१ चैत, रामेछाप । रामेछापको सदरमुकाम मन्थली स्थित कुनौरीमा राष्ट्रिय स्तरका खेल खेलाउने उद्देश्य सहित ‘रंगलाशाला’ निर्माणको लागि औपचारिक रूपमा अगाडि बढाइएको छ । पहिलो चरणमा खेलमैदान तयार पारेर रंगशाला निर्माण गर्ने आधार तयार पार्ने गरी खेलमैदान शिलान्यास गरिएको हो । 

 

मन्थली नगरपालिका वडा नं १ मन्थली र वडा नं ६ भलुवाजोरको सीमा कुनौरीमा राष्ट्रिय स्तरका खेल खेलाउने योजना सहित खेल मैदानको बागमती प्रदेशका सांसद तारानारायण श्रेष्ठले शिलान्यास गरेका हुन् । खेल मैदानको मंगलवार शिलान्यास गरिएको हो । 

 

राष्ट्रिय स्तरका फुटबल, भलिबल लगायतका खेल गराउन सक्ने वृहत् योजना सहित आज रंगशालाको शिलान्यास गरिएको उक्त रंगशाला निर्माण उपभोक्ता समितिका अध्यक्ष नवराज माझीले रामेछाप टाइम्सलाई जानकारी दिए । उनले रामेछाप टाइम्ससंग भने ‘रंगशाला निर्माणको यो पहिलो चरणको काम सुरु भएको हो । उपभोक्ता समितिले काम सम्पन्न गर्ने गरी काम थालेका छौँ । यहाँ राष्ट्रिय स्तरका विभिन्न खेल खेलाउने हाम्रो वृहत् योजना छ ।’

 

कुनौरी मैदानमा विगतमा पनि विभिन्न खेल र कार्यक्रमहरू हुँदै आएका छन् । चालु आर्थिक वर्षमा रंगशाला निर्माणको कामको लागि राम्रो फुटबल मैदानको रूपमा स्थापित हुने छ । र, त्यसको लागि आवश्यक पर्ने दुई सय रोपनी भन्दा बढी जग्गामा तरबार, घेराबन्दी दीर्घकालीन तरिकाले लगाइने छ ।

 

चालु आ.व.मा खेलमैदान निर्माणको लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एक करोड बजेट विनियोजित गरेको छ । ‘भ्याट बाहेक ८० लाख रुपैयाँको तार बार गर्ने गरी उपभोक्ता समिति मार्फत काम अगाडि बढेको हो । यो समितिले फुटबल मैदानलाई आवश्यक पर्ने १०५ मिटर लम्बाई र ६८ मिटर चौडाइ मध्ये १५० मिटर लम्बाई र १०० मिटरको चौडाइमा तार बार गर्ने छ ।’

 

अध्यक्ष माझीका अनुसार रंगशालाको (डिपिआर) अनुसार राष्ट्रिय खेलको लागि पर्याप्त हुने गरी रंगशाला, स्विमिङ पुल र कवर्ड हल सहितको संरचनाहरू निर्माण हुने छन् । त्यसको लागि जिल्ला खेलकुद विकास समितिले योजनाबद्ध काम गरिरहेको माझीले जानकारी दिए । 

 

जिल्लामा हाल सम्म राष्ट्रिय स्तरका खेल खेलाउनको लागि उपयुक्त भौतिक संरचना छैन् । मन्थली स्थित आकाशेमा निर्माणाधिन कवर्ड हल पनि पछिल्लो समय अलपत्र अवस्थामा छ । त्यस तर्फ कसैको ध्यान जान सकेको देखिदैन् ।