आफ्नै कार्यालयका कर्मचारीलाई पटक–पटक यौन दुर्व्यवहार गरेका डिभिजन वनका प्रमुख सुटुक्क मन्त्रालय तानिए

| चैत २२, २०७९ बुधबार

A A A
A A A

२२ चैत्र, रामेछाप । रामेछापमा आफ्नै कार्यालयका कर्मचारीलाई पटक–पटक यौन दुर्व्यवहार गर्ने नियतले गलत व्यवहार गर्दै आएका डिभिजन वन कार्यालयका प्रमुख सुटुक्क मन्त्रालय तानिएका छन् । यसरी मन्त्रालय तानिनेमा डिभिजन वन कार्यालय रामेछापका प्रमुख रामशरण गौतम हुन् । 

 

उनी विरुद्ध यौन दुर्व्यवहार गरेको भन्दै जिल्ला प्रशासन कार्यालय रामेछाप र वन तथा वातावरण मन्त्रालय बागमती प्रदेशलाई समेत बोधार्थ गरेर उजुरी परेको थियो ।

 

सो आरोप लागेपछि प्रदेशको मन्त्रालयबाट समेत अनुसन्धानको लागि टोली समेत यहाँ आएको खुलासा भएको हो । अनुसन्धानकै क्रममा गौतम मन्त्रालय तानिएपछि बुधवारदेखि भने गौतम मन्त्रालयमा हाजिर भएका छन् । 

 

प्रमुख गौतमलाई मन्त्रालयमा तानेर उनको ठाउँमा भने जिल्ला बन कार्यालय चितवनका सहायक वन अधिकृत आठौँ तहका अमिर सागरलाई यहाँ ल्याउने तयारी भएको बुझिएको छ । गौतमले यहाँ रहँदा महिला कर्मचारीहरूलाई पटक–पटक यौन दुर्व्यवहार गर्ने, महिलाहरूको मोबाइलमा अश्लील सामाग्री पठाउने, बोलीचालीमा अश्लील शब्द प्रयोग गर्ने, महिला कर्मचारीहरूलाई साँझ, बिहान निजी आवासमा बोलाएर अश्लील शब्द प्रयोग गर्ने लगायतका क्रियाकलाप गर्ने गरेको भन्दै बेनामी उजुरी परेको जिल्ला प्रशासन कार्यालय रामेछापको उच्च स्रोतले रामेछाप टाइम्सलाई बताए 

 

यसैबिच सो विषयमा बुझ्दा सुरुवा भएका डिभिजन वन अधिकृत गौतमले भने आफूले जिल्लाको बन विकासमा काम गर्न लागेको थाहा पाएर आफूलाई फसाउने षडयन्त्र गरिएको दाबी गरे । उनले भने ‘म फसाउने नियतले बेनामी उजुरी दिएको हो । यो सरासर गलत र ममाथिको निराधार र भ्रामक आरोप हो । यसमा म अनुसन्धानमा सक्दो सहयोग गर्छु ।’

 

यता रामेछापकी प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले भने उजुरी परेको पुष्टि गर्दै उजुरीको विषयमा कार्यालयका कर्मचारी सँग सोधपुछ गरी आवश्यक प्रक्रिया अगाडि बढाइएको र थप अनुसन्धान प्रक्रियामा रहेको बताइन् ।