भटौलीको कौछिनीमा बोलेरो दुर्घटना : ४ जनाको घटना स्थलमै मृत्यु, ११ जना गम्भीर

| चैत २३, २०७९ बिहिबार

A A A
A A A

२३ चैत, रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नं ७ भटौली स्थित कौछिनीको मानेखोप भन्ने स्थानमा बोलेरो दुर्घटना हुँदा चार जनाको घटना स्थलमै ज्यान गएको छ । 

 

आज बिहीबार मन्थलीबाट भटौली तर्फ जाँदै गरेको बा ११ च ५५३ नम्बरको बोलेरो गाडी अचानक दुर्घटना हुँदा चार जनाको घटना स्थलमै ज्यान गएको दुर्घटना स्थलबाट स्थानीय एवं नेपाली काँग्रेसका इकाई सभापति बलबहादुर तामाङले रामेछाप टाइम्सलाई जानकारी दिए ।

 

‘गाडीमा कति जना सवार थिए भन्ने खुलेको छैन । चार जनाको घटना स्थलमै ज्यान गएको छ । ११ जना भन्दा बढी गम्भीर घाइते अवस्थामा छन् । कोही बेहोस छन् । कसैलाई टाउकोमा, सकैलाई हात, खुट्टामा चोट लागेको, भाँचिएको अवस्थामा छन् ।’

 

 

दुर्घटना हाताहाती अवस्थामा रहेको उनले बताए । उनका अनुसार ज्यान गुमाउनेमा जेसुन थोकर, ज्यानरानी तामाङ र बालिका लाक्पा शेर्पा र पहिचान नखुलेकी एक वृद्ध महिला छिन् । 

 

तामाङले भने ‘उकालो मोड्मा जाँदा बेक नलागेर पल्टिएको भनिएको छ ।’

 

जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी राजु प्रसाद ढकालले ४ जनाको मृत्यु भएको जानकारीमा आएको पुष्टि गर्दै ११ जना घाइतेलाई एम्बुलेन्स मार्फत उद्धार गरिएको बताए । ‘४ जनाको घटना स्थलमै ज्यान गएको छ । दुई वटा एम्बुलेन्स मार्फत ४–४ जना र प्रहरीको गाडीमा ३ जनाको उद्धार गरी ल्याइँदै छ । थप जानकारी आउने क्रममा छ, रामेछाप टाइम्ससंग भने । 

 

घटनाको विस्तृत जानकारी आउन बाँकी छ । बोलेरो सडकबाट करिब ७० मिटर तल खसेको छ ।