हिमगंगामा शारीरिक र मानसिक रूपमा अशक्त वृद्धा र युवाले पाए घरमै नागरिकता

| चैत २५, २०७९ शनिबार

A A A
A A A

२५ चैत, रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले घरमै पुगेर दुई जनालाई नागरिकता प्रदान गरेको छ । शनिवार आज रामेछाप नगरपालिका वडा नं ४ हिमगंगा स्थित वृद्ध महिला र अशक्त युवाको घरमै पुगेर नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले रामेछाप टाइम्सलाई जानकारी दिइन् । 

 

शारीरिक रूपमा अशक्त २५ वर्षीय नरबहादुर माझी (युवा) र मानसिक रूपमा विच्छिप्त ७२ वर्षीय वृद्धलाई घरमै पुगेर जिल्ला प्रशासनले नागरिकता प्रदान गरेको (सिडिओ) निरौलाले जानकारी दिइन् । 

 

‘७२ वर्षीय वृद्धा र २५ वर्षे युवाले नागरिकता नपाउँदा सेवा सुविधाबाट वञ्चित हुनु भएको रहेछ । वडा सदस्यबाट खबर आएपछि हामीले घरमै पुगेर आज नागरिकता प्रदान गर्‍यौँ ।’

 

सिडिओ निरौलाका अनुसार युवा शारीरिक रूपमा अशक्त छन् । भने वृद्धा महिलाको मानसिक सन्तुलन ठिक छैन । यातायातको सहज पहुँच नरहेको समस्या बुझेर उनीहरूलाई  प्रशासनमा ल्याएर नागरिकता दिन असहज हुँदा शनिवार उनीहरूको घरमै पुगेर नागरिकता प्रदान गरिएको रामेछाप नगरपालिकाकी उपप्रमुख बालाकुमार कार्की (थापा) ले जानकारी दिइन् । 

 

माझी जन्मजात शारीरिक रूपमा अशक्त व्यक्ति हुन् । दुवै जनालाई सो क्षेत्रबाट निर्वाचित वडा सदस्य रोजबहादुर श्रेष्ठको पहल र पालिका उपप्रमुख बाल कुमारी थापा (कार्की) रोहवरमा घरमै गएर नागरिकता वितरण गरिएको हो। 

 

नागरिकता नहुँदा ७२ वर्षीय वृद्धाले पाउने सामाजिक सुरक्षा भत्ता लगायतबाट मुक्त भएकी थिइन् । नागरिकता वनेसँगै उनले प्राप्त गर्ने सेवा लिने प्रक्रिया भोलि आइतबार देखि सुरु गर्ने सिडिओ निरौलाले बताइन् ।