मन्थलीमा नयाँ वर्षमा दुई दिने सांस्कृतिक महोत्सव सहितको भव्य ‘फूड् फेस्टिबल’ हुँदै, यस्तो छ तयारी ?

| चैत २६, २०७९ आइतबार

मन्थली बजार, फाइल
A A A
A A A

२६ चैत, रामेछाप । नयाँ वर्ष २०८० सालको सुरुवातमा रामेछापको सदरमुकाम मन्थलीमा वृहत् ‘फूड् फेस्टिबल’ एवं सांस्कृतिक महोत्सव हुने भएको छ । कोरोना महामारी, आर्थिक मन्दी लगायतले मारमा परेका व्यवसायीहरूलाई प्रोत्साहन गर्नको लागि नयाँ वर्षको पहिलो र दोस्रो दिन (२०८० साल वैशाख १ र २ गते) ‘फूड् फेस्टिबल’ गर्न लागेको रामेछाप उद्योग वाणिज्य सङ्घको सचिवालयले जनाएको छ । 

 

सङ्घको सचिवालयमा आइतबार बिहान बसेको सर्वदलीय बैठकले पनि महोत्सव एवं ‘फेस्टिबल’ गर्नु राम्रो कार्य भएको भन्दै यसलाई व्यवस्थित र उपलब्धि मूलक बनाउन सबै आ–आफ्नो ठाउँबाट लाग्नु पर्ने निर्णय गरेको सङ्घका महासचिव कुमार श्रेष्ठले रामेछाप टाइम्सलाई जानकारी दिए ।

 

‘व्यवसायीहरूको प्रोत्साहनको लागि र हाम्रा उत्पादनको प्रचारप्रसारको लागि दुई दिने सांस्कृतिक कार्यक्रम सहितको ‘फुड फेस्टिबल’ आयोजना गरेका हौँ । त्यसको लागि सर्वदलीय छलफल गरेर अगाडि बढेका छौँ ।’

 

रामेछाप उद्योग वाणिज्य सङ्घको आयोजनामा मन्थली नगरपालिकाको मुख्य प्रायोजक तथा रामेछाप होटेल तथा पर्यटन व्यवसायी सङ्घको सहकार्यमा मन्थलीको देवकोटा चोक देखि जिल्ला समन्वय समिति अगाडि सम्मको सडकमा ‘स्टल’हरू राख्ने तयारी स्वरूप छलफल अगाडि बढाइएको छ । 

संघको सचिवालयमा आइतवार भएको छलफल 

महासचिव श्रेष्ठले रामेछाप टाइम्ससंग भने हामीले बिच बजारको सडक बन्द गरेरै दुई दिन महोत्सव गर्न खोजेका हौँ । तर, प्रहरी प्रशासनले छलफलमा आकस्मिक सेवाका सवारीलाई भने, एक तर्फी यात्रा गर्न व्यवस्था मिलाउनु पर्ने भनेको छ । हामी प्रशासनसँग थप छलफल गरेर सवारीलाई देवकोटा चोक हुँदै मालपोतको बाटो बाट निकास गर्न सक्ने विकल्प छ ।

 

जिल्ला भित्रका व्यवसायी, उद्मिले उत्पादन गरेका खानाका परिकार, रीतिरिवाज, परम्परा, सांस्कृतिक, कला र पहिचानलाई यो ‘फेस्टिबल’मा वृहत् प्रदर्शनी गर्ने तयारीमा जुटेको सङ्घका प्रवक्ता समेत रहेका महासचिव श्रेष्ठले रामेछाप टाइम्ससंग भने ।

 

जिल्लाभित्रका स्थानीय व्यापारी बाहेक अरूको यहाँ ‘इन्ट्रि’ हुँदैन । स्थानीय उत्पादन, परिकार र स्वादको प्रचार हुन्छ । सांस्कृतिक कार्यक्रममा पनि लाखे नाच, झाँकी प्रदर्शन जस्ता स्थानीय संस्कृतिलाई प्राथमिकता दिएका छौँ, महासचिव श्रेष्ठले भने । 

संघका महासचिव एवं प्रवक्ता कुमार श्रेष्ठ 

उनले थपे हाम्रो बजारलाई तिहारमा जस्तै ढपक्कै पारेर सजाउने, रंग्याउने र जिल्ला भित्रका राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरूको उपस्थितिमा सांस्कृतिक कार्यक्रम हुन्छ । हामीले स्थानीय कलाकारहरूलाई प्राथमिकता दिएका छौँ । 

 

फेस्टिबललाई व्यवस्थित बनाउने उद्देश्यले आज बिहान सङ्घका पदाधिकारी सहित जिल्लाका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, उद्मी, जिल्ला समन्वय समिति, नेपाल प्रहरी, सशस्त्र प्रहरी, घरेलु तथा साना उद्योग कार्यालय सहित सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, सञ्चारकर्मी, पत्रकार सहित छलफल भएको थियो । 

 

यो फेस्टिबलले सुस्ताएको व्यवसायलाई राहत मिल्ने र पर्यटन पर्वद्धनमा टेवा पुग्ने विश्वास समेत लिइएको छ । हाल जिल्लाकै एक मात्र एर्यपोट मन्थलीबाट दैनिक ६० वटा भन्दा बढी आन्तरिक उडान (लुक्ला) हुँदै आए पनि त्यसको फाइदा लिन नसकी रहेको अवस्थामा यो महोत्सवले केही पर्यटन यहाँको बजारमा रोक्न सक्ने समेत आयोजकको विश्वास रहेको बुझिएको छ ।