सबै कार्यालयमा हुने यौनजन्य हिंसा र दुर्व्यवहार प्रति सचेत रहौं - जिल्ला प्रशासन रामेछाप

| चैत २६, २०७९ आइतबार

A A A
A A A

२६ चैत, रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले कार्यस्थलमा यौनजन्य हिंसा, दुर्व्यवहार निवारण गर्न ध्यानाकर्षण भएको जनाएको छ । जिल्ला भित्र सरकारी तथा गैरसरकारी कार्यालयहरूमा महिला र पुरुष दुवैमाथि यस्ता खालका हिंसा हुन सक्ने सम्भावना देखिएकाले सबै सचेत रहनु पर्ने अवस्था आएको प्रशासनको भनाइ छ । 

 

आइतबार आज एक पत्र जारी गर्दै रामेछाप प्रशासनले कार्यस्थललाई सुरक्षित, स्वच्छ तथा मर्यादित बनाउनु हामी सबैको कर्तव्य भएको उल्लेख गर्दै कार्यस्थलमा यौन हिंसाबाट पीडित बनेर बसेको पनि हुन सक्ने स्थितिलाई मध्यनजर गरेर चासो दिएको उल्लेख गरिएको छ । 

 

पत्र जारी भएपछि रामेछाप टाइम्संग कुरा गर्दै प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले जुनसुकै पनि कार्यालयमा यस्ता घटना घट्न नदिन र घटेमा कानुनी बाटो खुल्ला रहेको जानकारी सबैमा होस् भन्ने उद्देश्यले आफूहरूले उक्त विषयमा चासो दिएको बताइन् । 

 

प्रशासनले जारी गरेको पत्रमा यौन हिंसाबाट पीडित भएमा के गर्न सकिने भन्ने विषयमा कानुनी विषयले प्राथमिकता पाएको छ । प्रजिअ निरौलाले यौन हिंसाका घटना घटेर कानुनी पाटो थाहा नहुँदा गुपचुपमा बसेको पनि हुन सक्ने दाबी गर्दै जानकारी होस् भनेर हामीले यसो गरेका हौँ भनिन् । 

 

जिल्लामा केही दिन अगाडि आफ्नै कार्यालयका कर्मचारी माथि यौन दुर्व्यवहार गरेको खुलासा भएपछि डिभिजन वनका प्रमुखको सरुवा भएको थियो । तर, प्रशासनले उक्त विषयमा भने यो पत्रको विषय नजोडिने बताएको छ । 

 

जिल्ला प्रशासन कार्यालय, रामेछापले जारी गरेको पत्र हेर्नुहोस्