रामेछाप महोत्सव : बिक्रीका लागि व्यवसायीको नयाँ-नयाँ ‘ट्रिक’ जति अण्डा खायो उति चल्ला देखि फूलको गमला किन्दा मेवा दिने सम्म

| बैशाख २, २०८० शनिबार

A A A
A A A

२ वैशाख, रामेछाप । मन्थलीमा हिजो देखि जारी सांस्कृतिक तथा सडक महोत्सव एवं फुड फेस्टिवलमा व्यापारीहरूले बिक्रीको लागि नयाँ–नयाँ तरिका अपनाएर बिक्री गर्न थालेका छन् । स्थानीय उद्योगी व्यापारीले उत्पादन गरेका वस्तु तथा सेवालाई अधिक विक्री गर्ने उद्देश्यले बिक्रेताले ३० प्रतिशत सम्म छुट दिने देखि एक सामान किन्दा एक ‘फ्री’ जस्ता उपाय लगाएका हुन् । हुन त, व्यापारीले बिक्री गर्दा यो विधि जहाँ पनि दिने गर्छन् । तर, महोत्सवको बिक्रीमा रोचक चैँ के छ ? भने जति अण्डा खाना सक्यो उति चल्ला समेत सित्तैमा पाउने नयाँ ‘ट्रिक’ लगाएका हुन् । 

सदरमुकाम मन्थली बजारबाटै नियमित सेवा दिँदै आएको ‘किसानको साथी’ नारा सहितको बिराज दाना पसल र चल्ला तथा अण्डा उत्पादन गर्दै आएको नेश्नल बिडिङ फामले भने रु २० मा जति वटा उसिनेको अण्डा खान सक्यो उति एक दिने बोलइलरका चल्ला दिएर बिक्री गर्दै छ । 

 

चल्ला तथा दाना बिक्री गर्दै आएका बिराजका सञ्चालक जयराम मानन्धरले रु २० रुपैयाँमा जो कोहीले जति वटा उसिनेको अण्डा  खान सक्छन् । उसले उति नै वटा चल्ला पाउने रामेछाप टाइम्सलाई बताए । साथै कार्यक्रममा पनि उद्घोष गरिएको छ । 

 

पहिलो दिन उनीहरूले रु १०० मा जति वटा पनि अण्डा खान सक्ने विधि लगाएका थिए । जसमा एक युवाले ३४ वटा सम्म अण्डा खाएका छन् । 

अण्डा खाँदै एक युवा, उनले ३४ वटा अण्डा खाएका छन् । तस्बिर बिपिन भट्टराई ।

त्यस्तै ‘अनार बारे’ नामबाट परिचित जिल्लाकै सफल किसान मानिने हिरालाल आचार्यले पनि आफूले बंगैचामा उत्पादन गरेका फूलका गमला बिक्री गर्न यस्तै ‘ट्रिक’ लगाएका छन् । उनले एउटा गमला सहितको जुन सुकै फूल रु १ हजारमा खरिद्मा गर्दा एउटा पाकेको ‘मेवा’ दिएर बिक्री गरिरहेका छन् । 

 

शुक्रवार देखि मन्थली बिच बजारमा रामेछाप उद्योग वाणिज्य संघ रामेछापको आयोजना र विभिन्न संघ संस्था तथा स्थानीय सरकारहरूको सहयोगमा प्रथम सडक महोत्सव जारी छ । महोत्सव आज राति ९ बजेसम्म विभिन्न सांस्कृतिक कार्यक्रम हुने जनाइएको छ । महोत्सवमा विभिन्न स्थानीय परिकार, उत्पादित सामाग्री बिक्री भइरहेको छ । आयोजकले २ दिने महोत्सवमा ५ लाख बढी आम्दानी हुने अपेक्षा गरेको छ । 

 

नयाँ वर्षको अवसरमा महोत्सव गरेसँगै यहाँका होटेल व्यवसायी लाई विशेष टेवा पुगेको छ । नयाँ वर्षको दोस्रो दिन पनि यहाँका होटेलहरूमा आन्तरिक पर्टयकहरुको चहलपहल छ । 

 

महोत्सवले उल्लेख्य रूपमा दर्शक पाएको छ ।