वार्षिक ८ लाख बढी आम्दानी दिने जुनार बगैँचा डढेलोले सखाप परेपछि तामाङ भन्छन् ‘म सडकमा आए, कसैले सुनेनन्’

| बैशाख ५, २०८० मंगलबार

A A A
A A A

५ वैशाख, रामेछाप । दुःख गरेर परिवारको जिविको पार्जन गर्न  लगाएको लाखौँ आम्दानी दिने जुनारको बगैँचा डढेलोले सखाप पारे पछि आफू सडकमा आएको किसान लालबहादुर तामाङले दुखेसो पोखेका छन् । लाखौँको बंगैचा डढेर सकिएपछि  राज्यबाट केही राहत पाउन सकिन्छ कि भनेर धाउँदा समेत कसैले नसुनेको उनको भनाई छ । 

 

रामेछाप नगरपालिका वडा नं ६ ओख्रेनीका तामाङको बगैँचामा गत चैत्र २८ गते मङ्गलवार सिलिङ्गे चेप्टे ढुङ्गा सामुदायिक वनमा लागेको डढेलो उनको जुनार बगैँचामा पनि लागेर बगैँचा सखाप भएपछि आम्दानीको बाटो पूर्ण रूपमा टुटेर आफू सडकमा आएको तामाङले रामेछाप टाइम्ससंग गुनासो पोखे ।  

 

‘मेरो अरू आम्दानी गर्ने खेती केही छैन । भएको सबै जग्गामा फलफूल खेती लगाएको थिए । सबै डढेर सकियो, अहिले मेरो एउटा घर बाहेक केही छैन भन्दा हुन्छ । म, सडकमा आए ।’

जलेको लालबहादुरको जुनार बगैंचा

उनले थपे ‘घर, गोठ जलेको भए सम्बन्धित निकायबाट पनि राहत पाउने, चामल, भाँडाकुँडा, लुगाफाटो लिएर दिनको ओइरो लाग्छ । तर, जिवीको पार्जन गर्ने बाटो बन्द भयो । स्थानीय सरकार, कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, सुन्तला–जुनार जोन लगायत सबैले केही गर्न सकिँदैन भन्छन् । यो मेरो करडौंको क्षेती हो ।’

 

व्यावसायिक रूपमै फलफूल खेती गर्दै आएका तामाङको उत्पादन दिइरहेको ३२० बोट  जुनार, १६ बोट कागती, जापनिज हलुवाबेत, जापनिज नास्पाती, रैथाने नस्पाति, आँप  लगायतका फलफूल डढेर नष्ट भएका हुन् । 

 

२०६४ साल देखि फलफूलमा खेतीमा लागेका तामाङका अनुसार एक बोट जुनारबाट कम्तीमा ५ हजारको आम्दानी हुन्थ्यो । वार्षिक ८ लाख देखि १० लाख रुपैयाँको आम्दानी गर्ने बगैँचा जलेपछि उनी अहिले पीडामा परेका हुन् । 

 

दिविनी कृषि तथा उन्नत पशुपालन फार्म दर्ता गरेर खेती गर्दै आएका तामाङले बगैँचा जलेपछि तत्कालीन केही राहातको लागि सम्बन्धित निकाय गुहारे पनि सुनुवाइ नहुने जवाफ पाएको सुनाए । केही हुन्छ कि भने सबैलाई भने तर केही गर्न सकिँदैन । आगामी वर्षमा केही हेरौला मात्रै भन्ने जवाफ दिए उनले भने ।

 

सोही डढेलोले लालबहादुरको सँगै रहेको छिमेकी फतबहादुर खड्काको पनि ३५ बोट जुनारको बंगैचा जलेको थियो । साथै सामुदायिक वन पनि ध्वस्त भयो । 

 

आधा दर्जन स्थानमा दन्किँदै छ आगो 

सामुदायिक वनबाट दिउँसो सल्किएको आगोले ठुलो मात्रमा क्षेती गर्‍यो । सो समयमा जिल्लामा दुई दर्जन बढी स्थानमा डढेलो लागेको थियो । 

त्यस्तै बितेको ४ दिन यता मात्रै पनि जिल्लाका आधा दर्जन बढी स्थानमा डढेलो लागेको छ । हाल सम्म डढेलो के कारणले लागेको भन्ने खुल्न सकेको छ । तर, धेरै जसो आगो मानिसले लगाएको दाबी गरिएको छ । अधिकांश स्थानमा डढेलो लागे पनि मानवीय उपस्थितिमा नियन्त्रणमा लिन समेत सकिएको छैन । 

 

पछिल्लो समय लागेको आगो प्राय सबै नियन्त्रण बाहिर रहेका छन् । यो समाचार तयार पार्दा सम्म पनि यी डढेलो नियन्त्रणमा लिनको लागि सम्बन्धित निकायले भने प्रयास गरेको देखिँदैन ।