सुनारपानीका वडा अध्यक्ष कार्कीले बोर्डिङ पढ्ने छोरालाई यो वर्षदेखि सरकारी विद्यालयमा भर्ना गरे

| बैशाख ६, २०८० बुधबार

A A A
A A A

६ वैशाख, रामेछाप । सकारात्मक कामको सुरुवात आफैबाट सुरु गर्ने भन्दै मन्थली नगरपालिका वडा ५ सुनारपानीका वडा अध्यक्ष रवीन कार्की (नवीन) ले आफ्नो सन्तानलाई निजी विद्यालयबाट झिकेर सरकारी विद्यालयमा भर्ना गरेका छन् । सरकारी विद्यालयमा पनि राम्रो र गुणस्तरीय शिक्षा प्रदान गर्ने सकिन्छ र बनाउनु पर्छ भन्ने उद्देश्यले आफ्नो सन्तान निजी विद्यालयबाट सरकारी स्कुलमा भर्ना गरेको अध्यक्ष कार्कीको भनाई छ । 

 

बुधवार रामेछाप टाइम्ससंग कुराकानी गर्दै अध्यक्ष कार्कीले गत वर्ष सम्म जिल्ला सदरमुकाम मन्थली स्थितमा लिटिल स्टार बोर्डिङ स्कुलको कक्षा २ मा पढ्दै आएका आफ्ना छोरालाई आफ्नै वडा स्थित भैरवी मा.विमा भर्ना गरेको हुन् । 

 

जनप्रतिनिधि, शिक्षक र आर्थिक रूपमा सबल भएकाहरूले निजी विद्यालयमा आफ्ना बालबालिका भर्ना गर्ने तर भाषणमा शिक्षा सुधारमा लाग्नु पर्ने बताउने गरेको भन्दै आलोचना हुने गरेको स्थितिलाई तोड्दै यो सुरुवा गरेको वडा अध्यक्ष कार्कीले बताए । ‘सामुदायिक विद्यालयको शिक्षा पनि गुणस्तरीय बनाउन लाग्ने प्रतिबद्धता र हाम्रो अभियानलाई सफल पार्न सरकारीमै भर्ना गरेको हुँ ।’

स्कूल भर्ना भएर नयाँ किताब पाएपछि विद्यार्थी

वडा अध्यक्ष कार्कीका अनुसार यो नयाँ शैक्षिक सत्र सुरु भइसकेको अवस्थामा आफ्नो वडा भित्रका विद्यालयमा यो वर्ष निजीमा पढ्ने विद्यार्थीहरू धेरै सरकारीमा भर्ना भइसकेका छन् । ‘धेरै भर्ना भएका छन् । बोर्डिङ स्कुलमा पढ्ने विद्यार्थीहरू सरकारीमा । यो वर्ष विद्यार्थी बढ्छन् ।’ 

 

सामुदायिक विद्यालयमा कम खर्चमै गुणस्तरीय शिक्षा प्रदान गर्न सक्छौँ । तपाइको बच्चाको भविष्य उज्यालो बनाउने जिम्मा हामी लिन्छौ । भर्ना गर्नुस् र ढुक्क बन्नुस् वडा शिक्षा समितिका प्रमुख समेत रहेका कार्कीले भने । 

 

आफ्नो वडा भित्रका विद्यालयलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने बनाएर छाड्ने प्रतिबद्धता जनाउँदै चुनावमा जनता सामु गरेको बाचा पूरा गर्दै जान जिकिर गरे । यो वर्षदेखि वडाका विद्यालयहरुमा प्रविधिमैत्री पढाईको व्यवस्थापन गरिएको उनले जानकारी गराए । 

 

वडा नं ५ मा शिव ज्योति आधारभूत र जन विजय आधारभूत विद्यालयसँगै भैरवी मा.वि गरेर ३ विद्यालय छन् । जिल्लाकै प्लास्टिक मुक्त र जङफूड् मुक्त विद्यालय यसै वडाको भैरवी मा. हो । गत वर्ष इसिडि देखि कक्षा १० सम्म २६़१ थिए । यसमा एसइई दिएका बाहेक विद्यार्थी अध्ययनरत छन् । 

 

भैरवी माविका प्रधानाध्यापक बाँसु काफ्लेले पनि यो वर्ष विद्यार्थी उत्साहजनक रूपमा भर्ना भइरहेको बताएका छन् । गत वर्षको भन्दा यो वर्ष विद्यार्थी बढ्ने विश्वास गर्दै यो वर्ष २७० देखि २७५ जना पुग्ला भने ।

 

आफूहरू भर्ना अभियानकै रूपमा गाउँ–गाउँ, टोल–टोलमा पुगेकाले अभिभावकहरू पनि सार्वजनिक विद्यालयमा भर्ना गर्न  इच्छुक देखिएको सुनाए । ‘पढाइ राम्रो नै हुन्छ । तर, साधन भए झन् राम्रो हुने थियो भन्ने गुनासो आएको छ । त्यसलाई समाधान गर्नको लागि हामीले योजना बनाएको छौँ ।’