रामेछापको चुचुरेमा राखियो नेपालकै सबै भन्दा ठुलो झण्डा (भिडिओ सहित)

| बैशाख २२, २०८० शुक्रबार

A A A
A A A

२२ वैशाख, रामेछाप । रामेछापको चुचुरे स्थित गर्जाङमा नेपालकै सबै भन्दा ठुलो झण्डा राखिएको छ । यो झण्डा नेपालमा राखिएको हाल सम्मकै सबै भन्दा ठुलो झण्डा भएको यहाँका स्थानीयहरूले दाबी गरेका हुन् । 

 

२५६७ औँ बुद्ध जयन्तीको अवसर पारेर शुक्रवार गोकुलगंगा गाउँपालिकाको वडा नं १ चुचुरे स्थित गर्जाङको रमिते डाँडामा पालिका अध्यक्ष काजीबहादुर खड्का (दिनेश) ले उक्त झण्डा उत्तोलन गरेका हुन् । २०५७ सालमा स्थापना भएको गर्जाङ खिम्ती समाज सेवा समूहको पहलमा सो संस्थाका अध्यक्ष सहित केही सदस्यहरूबाट र त्यहाँका स्थानीयहरू समेतबाट रकम सङ्कलन गरेर नयाँ काम गर्ने योजना सहित सो झण्डा राख्ने निर्णय गरिएको अध्यक्ष श्याम कार्कीले बताए । 

‘केही नयाँ काम गरौँ भन्ने हाम्रो चाहना थियो । र, ४–५ भाइ चिया गफमा छलफल गर्दा झण्डा राख्ने निर्णय गरेर काम अगाडि बढायौँ ।’

भिडियोमा हेर्नुहोस् कार्कीले के-के भने ।

 

उनले थपे ‘नेपालमा राखिएका झण्डा भन्दा ठुलो राख्ने र त्यसको प्रचारप्रसार गरेर आन्तरिक तथा बाह्य पर्यटक आकर्षण गर्ने हाम्रो उद्देश्य हो ।’ अध्यक्ष कार्कीका अनुसार झण्डा राख्ने पोलको लम्बाई ७५ फिट रहेको छ । त्यस्तै झण्डाको लम्बाई ४५ फिट र झण्डाको तल्लो भाग साँढे २२ फिट रहेको अध्यक्ष कार्कीले जानकारी गराए । 

हाल नेपालको सबै भन्दा ठुलो झण्डा गोर्खा जिल्लामा (४० फिट) भएको तथ्य भेटिएको बताउँदै गोर्खाको भन्दा ५ फिट ठुलो आफूहरूले राखेको झण्डा भएको उनले दाबी गरे । 

 

ऐतिहासिक महत्त्व बोकेको गर्जाङको रमाइलो डाँडामा आफूहरूले झण्डा राख्दा रामेछाप जिल्लाकै लागि गौरवको विषय भएको भन्दै यसको प्रचारप्रसार गरी पर्टयकहरुको  रोजाइमा पार्नु मुख्य उद्देश्य रहेको दोहोर्‍याए । झण्डो उत्तोलन गरिएको झण्डाको क्षेत्रको दिगो विकासको लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारहरूले सहयोग गर्नु पर्नेमा आफूहरू आशावादी रहेको उनको भनाई छ ।

 

त्यस्तै झण्डा उत्तोलन गर्दै गाउँपालिका अध्यक्ष काजीबहादुर खड्का (दिनेश) ले आफ्नो पालिकामा देशकै ठुलो झण्डा हुनु गौरवको कुरा भन्दै संरक्षण र प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाए । उनले योसँगै पालिकामा रहेका धार्मिक तथा पर्यटकीय स्थलहरूको विकास गरी पर्यटनको मात्र बढाउने बताए । ‘धेरै कुराको सम्भावना छ । धार्मिक हिसाबले पोखरी, बौद्ध, गुफाहरू सहित सबैको प्रचारप्रसार गरी हामी पालिकाको आयस्रोत बढाउँछौँ ।’

त्यस्तै स्थानीय अगुवाहरूले पनि झण्डा राखिएको ठाउँको ऐतिहासिक एवं पौराणिक विशेष महत्त्व रहेको बताउँदै झण्डा राख्दा आफूहरू गौरवान्वित भएको बताए । झण्डालाई राष्ट्र र राष्ट्रियतासँगै आफूहरूको ठाउँको पनि पहिचानको माध्यम बनाउन युवाहरूले खेलेको भूमिका प्रति खुसी व्यक्त गर्दै झण्डासंगै पर्यटन प्रवर्द्धन टेवा पुर्‍याउने योजना ल्याउन पालिका अध्यक्षलाई उनीहरूले आग्रह समेत गरे । 

झण्डा उत्तोलन गर्दै पालिका अध्यक्ष दिनेश खड्का

हामीले नेपालकै सबै भन्दा ठुलो झण्डा कुन ठाउँमा छ ? भनेर गुगलमा सहित अन्य इन्टरनेट साइड्हरुमा खोजी गर्दा यकिन तथ्य नभेटिए पनि  तनहुँको व्यास नगरपालिका ५ मानहुँकोट, काठमाडौँको माइतीघर मण्डला लगायतका स्थानहरूमा देशको ठुलो झण्डाको सामाग्रीहरु भेटाएका छौं ।