भटौलीः अनुगमनमा खटिने प्राविधिकलाई घुस दिन ८ हजार छुट्याइयो !

| बैशाख २३, २०८० शनिबार

A A A
A A A

२३ वैशाख, रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नं ७ भटौलीको सहरी स्वास्थ्य केन्द्र माने डाँडामा निर्माण गरिएको शौचालयको प्राविधिक अनुगमनमा खटिएका प्राविधिकलाई रकम दिएको खुलासा भएको छ । योजना अनुगमनका प्राविधिकलाई घुस दिइएको सहरी स्वास्थ्य केन्द्र माने डाँडाको शौचालय निर्माण समिति अध्यक्ष नरबहादुर तामाङले घुमाउरो पाराले स्वीकार गरेका हुन् । 

 

स्थानीय शिक्षक गुणराज तामाङको हातमा ८ हजार रुपैयाँ सब–इन्जिनियर कृष्णदास श्रेष्ठलाई घुस दिन भनेर योजनाबाट भुक्तानी आएको रकम पठाएको तामाङले बताएका हुन् । उनले भने ‘हामीले प्राविधिकलाई दिन भनेर ८ हजार छुट्याएको हो, त्यो ८ हजार मैले गुणराज सरलाई दिएको छु।’

२ लाख बजेटमा बनेको शौचालय

यता कालिका देवी निमाविका शिक्षक गुणराज तामाङ आफूले सम्पूर्ण बिल भर्पाई मिलाई दिएको तर पैसा नलिएको बताउँछन् । तामाङले भने ‘उपभोक्ता समितिलाई बिल भर्पाई मिलाउने तरिका थाहा नभएकोले मैले बिल भर्पाई मिलाई दिएको हो । तर कसैलाई दिन भनेर मैले पैसा लिएको होइन । ढलानको दिन मासु खुवाउन र अपुग सिमेन्ट किन्न चाहिँ पैसा लिएको हो ।’

 

प्राविधिक अनुगमनमा खटिएका सब–इन्जिनियर कृष्णदास श्रेष्ठ पनि आफूले कुनै रकम नलिएको जिकिरे गरे । श्रेष्ठले भने ‘२÷३ लाखको योजनामा म, त्यस्तो गर्ने मान्छे होइन । मैले यो योजनाबाट एक पैसा पनि लिएको छैन । यहाँ सरासर मलाई बेईजत गर्ने काम भएको हो ।’

 

यो विषयमा आफूलाई कुनै जानकारी नभएको मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद चापागाईँ बताउँछन् । प्रमुख प्रशासकीय अधिकृत चापागाईँले भने ‘मलाई यो विषयमा कुनै जानकारी छैन। तपाईलाई कसले भन्यो हामीलाई कुनै उजुरी निवेदन आएको छैन । उजुरी आए छानबिन गर्छौँ ।’

 

यो योजनाका लागि मन्थली नगरपालिकाले २ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । 

 

यो हेर्नुहोस् रामेछाप टाइम्सलाइ प्राप्त शौचालय निर्माणको खर्च विवरण ।