सुनापति गाउँपालिकाका स्थानीय आन्दोलित बनेपछि तनाव (भिडिओ)

| बैशाख २५, २०८० सोमबार

A A A
A A A

२५ वैशाख, रामेछाप । गाउँपालिकाले विद्यालय समायोजन एवं तह घटुवा सम्बन्धि पूर्वाग्रही ढङ्गले एकलौटी निर्णय गरेर आफूहरू र आफ्ना छोराछोरीलाई पीडित बनाउने काम गरेको भन्दै सुनापति गाउँपालिकाका अभिभावक आन्दोलित भएका छन् । तर, गाउँपालिकाले भने, शैक्षिक सुधारको लागि पटक–पटकको छलफल र निर्णयबाट शैक्षिक सुधारको काम अगाडि बढाइएको बताएको छ । 

 

विद्यार्थी संख्या निकै कम भएका माद्यामिक विद्यालयलाई ‘मर्ज’ गरेर पर्याप्त सेवा सुविधा उपलब्ध गराउने र गुणस्तरीय शिक्षा प्रदान गर्ने बाटो खोल्ने गाउँपालिकाको योजना छ । तर, स्थानीयहरूले भने उक्त विषयलाई राजनीतिक मुद्दा बनाएर आन्दोलन थालेको गाउँपालिकाकी उपाध्यक्ष गीता विष्ट (चौलागाई) ले रामेछाप टाइम्सलाई बताइन् । 

 

उनले भनिन् ‘यो शैक्षिक सुधारको काम पटक–पटकको छलफलबाट अगाडि बढाएका हौँ । सहमति पनि भएर अगाडि बढेको हो । तर, अहिले केही साथीहरू राजनीतिक कुद्दाको रूपमा लिएर आउनु भएको छ। यो समाधान हुन्छ ।’

 

सोमबार वडा नं २ का स्थानीयहरू सहित विद्यालय व्यवस्थापन समिति, मन्दरमेलचौर सेवा क्षेत्रका आम अभिभावकले गाउँपालिकाको कार्यालय परिसरमा विभिन्न पर्चा सहित नाराबाजी गरेका थिए । उनीहरूले गाउँपालिकाले एकलौटी निर्णय गरेर आफ्ना नानीबाबुलाई शिक्षा लिनबाट वञ्चित गर्न खोजेको, शिक्षामा राजनीति गरेको आरोप लगाएका छन् । 

भिडिओ हेर्नुहोस् 

आफूहरूलाई एकचोटी सूचना समेत नगरी एक लौटीतरिकाले यस्तो निर्णय लागू गर्न खोजेकाले आफूहरू आन्दोलित भएको स्थानीय एवं एमाले पालिका अध्यक्ष समेत रहेका ज्ञानकुमार योन्जनले पालिकालाई चेतावनी दिए ।

 

आन्दोलनको मैदानबाटै पालिकाकी उपाध्यक्षसँग फोन गरेर उनीहरूले आक्रोश पोखेका छन् । साथै कुनै वार्ता, छलफलमा नबस्ने चेतावनी दिँदै आन्दोलन जारी राख्ने बताए । ‘मर्न पनि तयार छौँ । जनता पनि ओराल्छौँ उनले भने ।’

भिडिओमा हेर्नुहोस् के के भने योञ्जनले ।

आफूहरूले यो विषयमा राजनीति नगरेको स्थानीयहरूको दाबी छ । साथै सहमति हुने सम्भावना कम देखिएकाले भोलि पनि आन्दोलन गर्ने स्थानीय रोज लामाले रामेछाप टाइम्सलाई बताए ।

 

विद्यार्थी संख्या कम भएका विद्यालयलाई मर्ज गरेर विद्यार्थी सङ्ख्याको आधारमा विद्यालय कायम गर्ने र गुणस्तरीय शिक्षा प्रदान गर्ने पालिकाले गत वर्षदेखि नै योजना लिएको थियो । जुन योजना यो शैक्षिक सत्र २०८० मा लागू गर्न पालिका केन्द्रित बनेको हो । न्यूनतम विद्यार्थी संख्या नपुगेका विद्यालाई ग्रेड डाउन (कक्षा घटुवा) र मर्ज गरेर एक वडा एक विद्यालय राख्ने पालिकाको योजना रहेको उपाध्यक्ष विष्टले सुनाइन् । तर, यसको सुरुवातीमै पालिकालाई धक्का लागेको छ । 

आन्दोलनकारीले पर्दशन गरेका नाराहरु, तस्बिर रोज लामा 

हाल पालिकाका धेरै जसो माद्यामिक विद्यालयमा ५०÷६० जना मात्रै विद्यार्थी छन् । ती विद्यालय मर्ज गरी विद्यार्थीको संख्या पनि राम्रो बनाउने र शैक्षिक कार्यक्रम पनि चुस्त पार्ने योजना आफूहरूको रहेको उपाध्यक्ष विष्टले सुनाइन् । 

 

१२ वटा माद्यामिक विद्यालय रहेको सुनापतिमा कूल ३३ विद्यालय छन् । ‘एक वडा एक विद्यालय’ को योजना बोकेको पालिकाले अहिले ९ मा.वि.मा झारेको छ । यसलाई अझै घटाउने उपाध्यक्ष विष्टले जानकारी गराइन् । 

 

‘हामी एउटा वडामा एउटा विद्यालय बनाएर गुणस्तरीय शिक्षा प्रदान गर्ने योजनामा छौँ । त्यो हुन्छ । डहु मा.विको जस्तै सबैले शिक्षा दिलाउन सक्ने विद्यालय बनाउने पालिकाको योजना हो’ उपाध्यक्ष विष्टले सुनाइन् ।

 

उपाध्यक्ष विष्टका अनुसार अहिले आन्दोलनरत र पालिकाबिच वार्ता चलिरहेको छ ।  हेड्लाइन थप घट गरिएको छ ।