रामेछापको उमाकुण्ड र सोलु खुम्बुको लिखु पिके गाउँपालिकाको संयुक्त बैठक : बाम्ति–ठाडो खोला हुँदै लिखु पिके सम्मको सडक कालोपत्रे गर्ने निर्णय

| बैशाख २६, २०८० मंगलबार

बाम्ति भण्डार र लिखु पिके, तस्बिर फाइल ।
A A A
A A A

२६ वैशाख, रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका र सोलु खुम्बुको लिखु पिके गाउँपालिकाले सहकार्य गरेर काम गर्ने भएका छन् । गत वैशाख २४ गते आइतबार लिखु पिके गाउँ कार्यपालिकाको कार्यालय चौलाखर्कमा बसेको दुई पालिकाको संयुक्त बैठकले दुवै गाउँपालिकाको साझा सरोकारको विषयमा सहकार्य गरेर काम गर्ने निर्णय गरेको उमाकुण्ड गाउँपालिकाले जनाएको हो । यी दुई छिमेकी गाउँपालिकाका धेरै विषय एक आपसमा अन्तर्निहित छन् । यी नै विषयलाई प्राथमिकता दिँदै पालिकाले आगामी दिनमा विकास निर्माण, नीति गत र प्रयोगात्मक सहकार्यको थालनी गर्ने सहमति गरेका हुन् । 

 

संयुक्त बैठकमा दुई पालिकाको सिमानामा बग्ने लिखु नदीमा सञ्चालित जलविद्युत आयोजनाहरूले पालिकाहरूलाई दिँदै आएका समस्यामा एक भएर लाग्ने निर्णय गरेका छन् । ‘समय–समयमा गरेको निर्णय, सहमति तथा सम्झौताहरू कार्यान्वयन नगरेको र स्थानीय प्रभावित नागरिकहरूको गुनासो व्यवस्थापनमा ध्यान नदिएकाले निर्णय कार्यान्वयन, सहमति तथा सम्झौताहरूको परिपालना एवम् स्थानीय प्रभावित नागरिकहरूको गुनासो व्यवस्थापन तथा आयोजनासँग  सम्बन्धित अन्य विषयमा समन्वय, सहकार्य र छलफल गर्नको लागी दुवै गाउँपालिकाको वडा अध्यक्षहरूको सहभागितामा संयुक्त समिति गठन गरिएको छ बैठक पनि उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले रामेछाप टाइम्सलाई बताए । 

उनका अनुसार दुवै गाउँपालिकाको संयुक्त साझा सरोकारको योजनाहरूको सूची तयार गरी योजना कार्यान्वयनको लागी संयुक्त लगानी तथा प्रदेश र सङ्घीय सरकार समक्ष संयुक्त पहल गर्ने निर्णय गरिएको हो । जसमा दुई पालिकाले गलम–लाप्चाने बाम्ति–दोखर्पा–ठाडो खोला हुँदै लिखु पिके गाउँपालिका सम्मको सडक कालोपत्रे गर्ने साझा योजना तयार पारेका छन् । 

 

त्यस्तै सगरमाथा जाने फुट ट्रायलको विस्तार,विकास र पुन प्रचार प्रसार गर्ने, उमाकुण्ड गाउँपालिका हुँदै लिखु पिके रुट विस्तार र विकास गर्ने, नुम्बुर हिमाल जाने संरचना निर्माण अगाडी बढाइ आरोहण अनुमतिको प्रक्रिया अगाडी बढाउने, रोशी–राङ्दामा मोटरेवल पुल निर्माण गर्ने दुई पालिकाले निर्णय गरेका हुन् । 

 

त्यस्तै जल पर्यटन र हाइड्रो पर्यटनको विकास गर्न चालु आर्थिक वर्षमा दुवै गाउँपालिकाले प्रचारप्रसारको व्यवस्था मिलाउने निर्णय गरिएको उमाकुण्ड गाउँपालिकाले जनाएको हो । 

 

लिखु पिके गाउँपालिका (सोलुखुम्बु) को अध्यक्ष मिना कार्की (बस्नेत) को अध्यक्षतामा सम्पन्न भएको उक्त बैठकमा बोल्दै संयुक्त बैठक उपलब्धि मूलक भएको उमाकुण्ड गाउँपालिका (रामेछाप) का अध्यक्ष शेरबहादुर सुनुवारले बताए । 

 

त्यस्तै लिखु पिके गाउँपालिकाकी अध्यक्ष मिना कार्की (बस्नेत) ले अनकन्टार जङ्गलमा सधैँ एक्लो महसुस गरिरहेकोमा संयुक्त बैठक पछि आफूले साथी पाएको महसुस भएको बताइन् ।

संयुक्त कार्यपालिका बैठकमा उमाकुण्ड गाउँपालिका उपाध्यक्ष सावित्री सुनुवार, प्रमुख प्रशासकीय अधिकृत दिलकृष्ण श्रेष्ठ लगायत वडा अध्यक्ष तथा कार्यपालिका  सदस्यहरू र लिखु पिके गाउँपालिकाको नि.प्रमुख प्रशासकीय अधिकृत ज्ञानु कार्की, वडा अध्यक्ष र कार्यपालिका सदस्यहरूको उपस्थिति रहेको थियो ।